धान बालीका लागि रासायनिक मलको अभाव हुँदैन,वीरगन्ज नाकाबाट धमाधम मल आयात


वीरगन्ज ।

यस वर्ष धान बालीका लागि रासायनिक मलको अभाव नहुने भएको छ। वीरगन्ज नाकाबाट मल आयात तीव्र गतिमा भइरहेको छ भने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पर्याप्त मौज्दात रहेको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालय वीरगन्जका अनुसार हाल गोदाममा ५,४५० मेट्रिक टन युरिया, १२,५०० मेट्रिक टन डिएपी र २,३४० मेट्रिक टन पोटास मौज्दात छ। साथै ४६ हजार मेट्रिक टन मल आयातको क्रममा रहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालयले पनि १८ हजार मेट्रिक टन युरिया आयात गरिरहेको छ, जसमध्ये २,५०० मेट्रिक टन वीरगन्ज आइपुगेको छ।

प्रदेश सरकारले पर्साका सबै पालिकाका लागि मलको कोटा निर्धारण गरिसकेको छ भने सहकारीमार्फत वितरण भइरहेको छ। बफर स्टकका रूपमा ४,००० मेट्रिक टन मल सुरक्षित राखिएको छ। रोपाइँ सुरु हुनुअघि नै आवश्यक मलको आपूर्ति पूरा हुने दाबी गरिएको छ।