मुस्ताङको भन्दाबढी १९ करोड अर्को वर्ष पनि गोर्खामा जान्छ : मुख्यमन्त्री 


पोखरा। 

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अहिले चर्चामा रहेको मुस्ताङको भन्दाबढी बजेट एउटै योजनामा गोर्खामा परेको बारे अर्को बर्ष समेत बजेट जाने बताएका छन् । बजेटको विषयमा मिडियामा आएका र सदनमा उठेका कुराको १३ गते जवाफ दिने बताउँदै मुख्यमन्त्री पाण्डेले समाचार बनाउँदा के योजनामा परेको हो भन्ने तथ्य नबुझी लेखेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

 मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधनको क्रममा मिडियाप्रति खनिँदै उनले तथ्यहिन समाचारहरु आउन थालेको सुनाए । अहिलेको समयमा मिडियामा समाचार आउने क्रममा प्रमाणका आधारमा कति समाचार बनाइएको छ वा छैन त्यो बारेमा छलफल हुन आवश्यक रहेको सुनाए । यस्तै सामाजिक सञ्जालमा आउने र मुख्य मिडियामा आउने सूचनामा फरक हुनुपर्नेमा उनको जोड थियो।

‘हिजो मैले एउटा मिडियामा पढे । मुस्ताङ बराबरको बजेट एउटै कार्यक्रममा मुख्यमन्त्रीको निर्वाचन क्षेत्र गोर्खामा गयो भन्ने कुरा पढे । म आजै तपाईहरुलाई भनिदिन्छु अर्को वर्षपनि त्यसरी नै जान्छ । त्यो रकम के हो बुझ्न प¥यो नि पहिला । संघ सरकार र प्रदेश सरकारको बिचमा समपुरक आयोजनाहरु हुन्छन् । पहिला त एक अर्बसम्मको आयोजना हामीले ५० करोडसम्म राख्ने, संघ सरकारले ५० करोड दिएर आयोजनाहरु बन्थे अहिले राष्ट्रिय योजना आयोगले घटाएर त्यसलाई घटाएर ३० करोडमा गएको छ । त्यो दुई वर्ष पहिला निर्णय भएको आयोजना हो त्यो आयोजनाको निरन्तरमा गएको १९ करोड छ कसैले खोज्यो ? कसैले बुझ्यो ? किन गएछ त एउटै योजनामा त्यतातर्फ त कोही गएन । अर्को वर्षपनि १९ करोड जान्छ तीन वर्षको हो । मैले के भन्न खोजेको भने यति तथ्य त बुझ्न प¥यो समाचार बनाउनुभन्दा पहिला’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘१३ गते मिडियामा उठेका र सदनमा उठेका कुराको जवाफ दिदैँ छु सबै पत्रकार ज्युहरु आउनुहोला । त्यहाँ मैले जवाफ दिनेछु ।’ 

गोरखा २ (ख) मा एउटा योजनामा १९ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय गोरखाबाट कार्यान्वयन हुने चनौटे ढिस्का हुँदै भच्चेक सडक शीर्षकमा प्रदेशले नौ करोड ९१ लाख र समपूरक अनुदानको पनि ९ करोड ९१ लाख रुपैयाँ बजेट छुट्याइएको छ । उता पूर्वाधार कार्यालय मुस्ताङबाट आगामी आर्थिक वर्षमा १९ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरका योजना भएको कुरा मिडिायामा आएपछि अहिले संसदमा चर्को रुपमा उठेको छ । सोही विषयमा नबुझी समाचार लेखिएको उहाँले बताए ।