जापानमा जहाजैमा बनाउँदै कृषा मुख्य भूमिकामा जापानकै अभिनेत्री


निर्मात्री तथा निर्देशक कृषा चौलागाईले पिताम्बरपछि जहाजैमा नामक फिल्म निर्देशन गर्ने भएकी छन्। हाल उनी प्रि–प्रोडक्सनको काममा छिन्।

चौलागाईंले केहीअघि जापान पुगेर यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुने सो फिल्म निर्देशनका लागि साइन गरेकी हुन्। फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। जसमा एक पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ। पोस्टरले यो फिल्म एउटा फिल्म मात्र नभएर नेपाल र जापानबिचको भावनात्मक पुलको रूपमा अगाडि आउने विश्वास गरिएको छ।

फिल्ममा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने भएकी छन्। रजेल जापानमा सक्रिय रूपमा काम गरिरहेकी नायिका तथा मोडल हुन्। निर्देशक चौलागाईंले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भएपनि रोचक हुने बताइन्।

जापान जाने सपना बोकेका युवाको कथा भन्ने फिल्म उज्ज्वल गुरागाईंको निर्माणमा बन्न लागेको हो। पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्म सन् २०२६ मा रिलिजमा ल्याइने भएको छ भने भदौबाट नेपाल, जापान र फिलिपिन्समा छायांकन गरिने भएको छ। जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गर्ने फिल्ममा नेपाल र जापानका कलाकारले अभिनय गर्नेछन्। कृषाले जहाजैमापछि पिताम्बर २ निर्माण गर्ने छिन्।