रसुवामा ५१ औं जुनियर डिभिजन तालिम सुरू

5.83k
Shares

रसुवा।

जिल्लाको कालिका गाउँपालिका–१ राम्चेमा अवस्थित श्री सेतिभुमे माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलद्वारा सञ्चालित ५१औं जुनियर डिभिजन तालिम सुरू भएको छ।

श्री श्रीनाथ गणको आयोजनामा असार ९ गतेदेखि सुरु भएको तालिम १०० दिनसम्म सञ्चालन हुनेछ। “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्श वाक्यका साथ सुरु गरिएको तालिमको मुख्य उद्देश्य युवाहरूमाझ अनुशासन, इमानदारी र वफादारिता जगाउनु रहेको छ।

गणपति प्रध्युम्नप्रसाद गौतमका अनुसार, विपद् व्यवस्थापनका समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने योग्य, अनुशासित र जिम्मेवार नागरिक तयार पार्नु तालिमको प्रमुख लक्ष्य हो।

नेपालका ७७ वटै जिल्लाका विभिन्न भौगोलिक, सामाजिक तथा आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई समेटेर यस्तो तालिम सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि राष्ट्रिय सेवा दलले यस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको गौतमले बताए।

यस तालिममा कक्षा ८, ९ र १० का १५ जना छात्रा र १५ जना छात्र, गरी ३० जना सहभागी छन्। उनीहरूको उमेर १२ देखि १५ वर्षसम्मको छ। तालिमलाई सफल बनाउन विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय निकाय सबैको सक्रिय सहयोग रहेको जनाइएको छ।

गौतमका अनुसार, वि.सं. २०२२ देखि हालसम्म राष्ट्रिय सेवा दलमार्फत १२,५१५ जना सिनियर डिभिजन र ६१,९६५ जना जुनियर डिभिजन गरी ७४,४८० जना क्याडेट विद्यार्थीहरूले तालिम लिइसकेका छन्।