लुम्बिनी प्रदेशमा पर्ने अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल सुपादेउराली एक पवित्र धार्मिक स्थल हो । सदरमुकाम सन्धिखर्क पुग्नुभन्दा ३० किलोमिटर अगाडि नै यो मन्दिर रहेको छ । महेन्द्र राजमार्गअन्तर्गत गोरुसिङ्गेबाट झन्डै ४७ किलोमिटरको दूरीमा रहेको यो मन्दिर सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको दोसाँधमा रहेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस मन्दिरमा भक्तजनहरू पूजा गर्न र भाकल गर्न आउने गर्छन् ।
सन्धिखर्क–गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित आस्थाको प्रतीक मानिन्छ सुपा देउराली । नरपानी र फलामे दुई अग्ला महाभारत पहाडको बीच भन्ज्याङमा रहेको यो मन्दिर कहाली लाग्दो भीमकाय खोँचमा रहेको छ । सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको मनमोहक दृश्यले दर्शनार्थीहरूको ध्यान खिचिरहेको हुन्छ । यहाँ दुईवटा फूल र ढुङ्गो चढाएर देउरालीप्रति सद्भाव बाँडिने गरिन्छ ।
बाइसे, चौबीसे शाह वंशीय राजाहरूको पालामा निर्माण भएको यो मन्दिरमा २०४० सालदेखि नियमित पूजाअर्चना गर्न थालिएको हो । वि.सं. २०६० मा बाबा गुरुको नाममा चिनिने नरनारायणले करिब डेढ करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भक्तजनहरुको आकर्षण थपिई आम्दानी करिब तेब्बर भएको पाइन्छ । मन्दिर निर्माणमा प्राचीन विधिअनुसार निर्माण सामग्री प्रयोग गरिएको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्य देख्न सकिन्छ ।
मन्दिरमा फागुन, चैत, वैशाख, जेठ, असोज, कार्तिक र मङ्सिर महिनामा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमाबाहेक अरु दिनमा भाकल गर्दा शुभ मानिन्छ । विशेष गरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ । जे भाकल माग्यो त्यो मनोकामना पूरा हुने जनविश्वास रहेको पाइन्छ ।
सुपादेउराली र नरपानी आउने पर्यटकहरुले जङ्गबहादुर जन्मेको मथुरा बेँसी दरबार (अर्घाखाँची), न्वारन गरेको बल्कोट पौवा, पाणिनी तपोभूमि, अर्घादरबार, मालारानी मन्दिर, नृसिंहस्थानलगायतका धार्मिक, ऐतिहासिक एवम् प्राकृतिक स्थलहरू अवलोकन गर्न पाउँछन् । श्रद्धालु भक्तजनहरुको घुइँचोसँगै नरपानी, शीतगङ्गालगायतका अग्ला पहाड घुग्ने पर्यटकहरूको चाप पनि बढेको पाइन्छ ।
किंवदन्तीअनुसार मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको भनिएको चुलो, जाँतो र विभिन्न शिलासमेतले भएकाले यसको अस्तित्व त्रेतायुगदेखि नै रहेको विश्वास गरिन्छ । किंवदन्तीअनुसार बाइसे राज्यका समयमा खाँचीकोट राज्यकी राजकुमारी र भारतको बलरामपुरका राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदै गर्दा बाटोमा केही कुरा ढाँट–छल गरी विवाह गरेको हल्ला दुलहीका कानमा परेछ । डोली बोकेर हाल मन्दिर रहेको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याइपु¥याउँदा रगतको थोपा डोलीबाट झरेछ । अनि सुपादेउराली रहेको स्थानमा आई डोलेहरुले डोली हेर्दा दुलही मृत अवस्थामा भेटिएकी थिइन् ।
उक्त घटनापछि खाँचीकोटमा विभिन्न रोगको महामारी फैलिएछ । पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गराउँदा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र एउटा कालो पाठी बलि दिनुपर्छ भनेपछि सोही अनुसार गर्दा महामारी रोकिएको थियो भन्ने जनश्रुति छ । त्यही समयदेखि हालसम्म त्यस राज्यका ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुलपूजा पनि गर्दै आएका छन् ।
वि.सं. १६०० मा खाँचीका राजा विश्वपाल शाहकी छोरी सुवर्ण कुमारीको नाममा सुपादेउराली मन्दिर निर्माण गरी देवी भगवतीको स्थापना गरिएको भनाइ छ । सुपादेउरालीका नामले प्रसिद्ध उनै देवीको दर्शनार्थ टाढा–टाढादेखि भक्तजन आउने गर्छन् । मन्दिरमा सुपादेउराली देवीलगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव आदि विभिन्न देवी–देवताका मूर्ति रहेका छन् ।
प्राचीनकालमा एकजना लाहुरेले लाहुरमा सेनामा भर्ती भई टन्न सम्पत्ति कमाउन पाऊँ, सो पूरा भएमा देवीसमक्ष सुनको सिक्री र कालो पाठी चढाउँछु भनी विन्ती बिसाएछन् । सोही अनुसार उनको मनोकामना पूरा भएछ । लाहुरबाट बिदामा घर फर्कने क्रममा उनमा लोभ पैदा भएछ र देवीलाई भाकल गरेको भेटी चढाउनुपर्छ भनेर अर्कै बाटो लागेछन् । त्यो कुरा देवीले थाहा पाई लाहुरेलाई पहरोको भित्तामा टाँसेर विलिन गराएको जनश्रुति छ । हाल पनि लाहुरे टाँसिएको ठाउँ देख्न सकिन्छ र पहरोको तल लाहुरेको शालिक पनि निर्माण गरिएको छ । त्यसलाई लाहुरे भीर भनिन्छ । सुपादेउरालीबाट तल सिँढी मार्ग हुँदै लाहुरे भीर पुग्न सकिन्छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पर्यटकीय स्थल पहाडको उच्च भागमा सस पेन्सन ब्रिज डिभिजन कार्यालयले २०७८ सालमा २७२.८५ मिटरको लामो झलुङ्गे पुलको निर्माण गरेको छ ।
मन्दिरमा चढेको भेटीको ७५ प्रतिशत रकम विद्यालयमा जान्छ भने बाँकी २५ प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च गरिएको छ । भेटीबाटै गरिबलाई आर्थिक सहयोग, छात्रावृत्ति तथा वृद्धवृद्धालाई सहयोग गर्ने गरिएको छ । सीतापुर र खाँचीकोटमा खानेपानीदेखि सडक विस्तारसम्मका काममा पनि सहयोग गरिएको छ ।
धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय आस्थाकी धरोहर सुपादेउराली मन्दिर प्राकृतिक सौन्दर्यले मनमोहक रहेको छ । यहाँ जिल्लाभित्रका भन्दा जिल्लाबाहिरका भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । नेपाललगायत भारतका विभिन्न ठाउँबाट समेत तीर्थयात्रीहरु हजारौंको संख्यामा आउने गर्दछन् । शक्तिस्वरुपा धार्मिक आस्था र विश्वासकी धरोहर सुपादेउराली माताले हामी सबैको कल्याण गरून् ।











प्रतिक्रिया