भगवतीलाई पाकिस्तानमा उपाधि


काठमाडौं।

नेपालकी भगवती खड्काले पाकिस्तानको कराँचीमा भएको आरईडब्लु रेस्लिङको महिला सिंगल्समा उपाधि जितेकी छन् ।
रेस्लिङमा युनिका उपनामले चिनिने भगवतीले पाकिस्तानकी बेगिसालाई पराजित गरेकी हुन् । भगवतीकाअनुसार पाकिस्तानमा महिला रेस्लिङ पहिलोपटक भएको हो ।

२०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसंग प्रतिस्पर्धा गरेकी छन् । अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हराएकी छन् । भगवतीले भारत र जापानमा खेलेकी थिइन् ।

कलाकार समेत रहेकी भगवतीले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन् । आरइडब्लु रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो । सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबीच भएको थियो ।

भगवतीको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा पनि समावेश गरिएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकोमा वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा नाम समावेश गरिएको हो ।
गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । उक्त प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् ।