व्यायाम मन्दिरका ग्रेस बने मिस्टर महानगर


काठमाडौं।

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जनले काठमाडौं महानगरपालिका २२ द्वारा आयोजित प्रतियोगितामा मिस्टर महानगरको उपाधि जितेका छन् ।
उक्त शारीरिक सुगठन प्रतियोगिताको ओभरअल विजेता बनेका ग्रेसले ‘मिस्टर महानगर’ को उपाधिसहित कूल ५ लाख ७५ हजार रुपैयाँ प्राप्त गरे । जसमा, विधागत विजेताको ७५ हजार र ओभरअल विजेताको ५ लाख नगद पुरस्कार रहेको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो।

ग्रेस ७५ केजीमा पहिलो भएका थिए । यस्तै, ७० केजीमा पावर फिजिकल फिटनेसका सुसन श्रेष्ठ, ६५ केजीमा फिटनेस ग्यारेज थापाथलीका युवराज बस्नेत, ६० केजीमा फिटनेस ग्यारेज, न्युरोडका सुमित गिरी, ५५ केजीमा फिटनेस ग्यारेज थापाथलीका नेवबहादुर राना विजेता बनेका थिए ।
प्रिजजिङ् चरणपछि भएको प्रतियोगितामा उत्कृष्ठ ५ छनोट भएका थिए । विधागतका शीर्ष पाँचलाई क्रमशः ७५, ५०, २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको सहकार्य र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग थियो । प्रतियोगितामा पाँच तौल समूहमा ३८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।