झरेको थ्री स्टार, फेरि चम्किने आशा

3.85k
Shares

पाटन दरबार स्क्वायरमा अवस्थित छ थ्री स्टार क्लब । कुनै समय नेपाली फुटबलको धड्कन बनेको यो क्लब आज एउटा गम्भीर मोडमा उभिएको छ । यो केवल एउटा खेल संस्था मात्र होइन, ललितपुरका फुटबलप्रेमीहरूको आत्मा पनि हो । विशेषगरी पाटनका रैथाने नेवार समुदायको गर्व, जुन फुटबल मैदानमा चिच्याउने स्वर, ढोल नगारा र झन्डाबीच हुर्किएको थियो । थ्री स्टारको खेल हुँदाको रंगशाला त कुनै बेला मेला सरह हुन्थ्यो । मानौं त्यो भिडभाड, त्यो जोश, त्यो जुनून नै नेपाली फुटबलको मुटु जस्तै । वास्तवमा थ्री स्टारले नेपाली फुटबललाई व्यावसायिकताको बाटोमा डो¥याउन अभिप्रेरित ग¥यो । क्लबको नाम अगाडि प्रायोजकको नाम जोड्ने परम्परा, विदेशी खेलाडी भित्र्याउने अनि अर्धव्यावसायिक युगको थालनीमा जग बसाउने क्लब।

तर, जुन क्लब नेपाली क्लब फुटबलमा तीन ताराको प्रतीक थियो, त्यही क्लबको ताराको चमक बिस्तारै धुमिल हुँदै गयो । २०७२ सालको त्यो रात, जब क्लबका अभिभावक ललितकृष्ण श्रेष्ठले अप्रत्याशित रूपमा यो संसार छोडे, त्यसपछि थ्री स्टारको दिशाविहीन यात्रा सुरु भयो । कप्तानबिनाको जहाजले समुद्री आँधीको सामना गरे जस्तै क्लबले पनि उछाल आएका भेलको सामना गर्न थाल्यो । त्यसपछिका वर्षहरूमा कहिले संकट, कहिले विवाद, कहिले हताश हुँदै क्लबले ‘उपाधि दावेदार’ बाट ‘रेलीगेसन’ सम्मको यात्रा तय गर्न बाध्य बन्यो ।

क्लबले २०७९–८० को सहीद स्मारक ए डिभिजन लिगमा सबैभन्दा तीतो स्वाद चाख्यो । जावलाखेलसँगको निर्णायक खेल, जसमा थ्री स्टारले जित हासिल ग¥यो । तर, त्यो जित आफैंमा घातक सावित बन्यो । दुई विदेशी खेलाडी पिटर सेगुन र अजय मार्टिन्स, जसको भिसा सकिएको थियो, उनीहरू मैदानमा उत्रिए । एन्फाको प्रणालीमा नाम दर्ता थियो, तर नियम विपरीत । सशस्त्र प्रहरी बलको एपीएफको उजुरीले आगोमा घ्यु हाल्यो । भिसाविहीन खेलाडी खेलाउन नमिल्ने नियमलाई बिस्तारै कडा बनाइयो । अन्ततः अपिल कमिटीले जितेको खेल पनि थ्री स्टारलाई ३–० ले पराजित नतिजामा परिणत गर्दै बी डिभिजनमा घटुवा गर्ने निर्णय सुनायो । के यो सबै थ्री स्टारको मात्र गल्ती थियो त भन्ने प्रश्न उठ्छ । एन्फाले स्वयं दर्ता गरेको खेलाडी पछि अवैधानिक घोषणा गर्नु, त्यो पनि प्रतियोगिता सकिएपछि । संस्थागत लापरवाही होइन र ? जब नियमनकारी निकाय आफैं प्रश्नको घेरामा आउँछ, तब दोष केवल क्लबको मात्र हुन सक्दैन ।

एन्फाको उक्त निर्णयपछि थ्री स्टारले अब दुईवटा बाटो छान्न सक्छ, कोर्ट अफ आर्बिट्रेशन फर स्पोट्र्स (सीएएस) मा अपिल वा नेपालको अदालतमा मुद्दा दायर । तर, यहाँ प्रश्न एउटै छ, भिसा सकिएको खेलाडी कसरी मैदानमा उत्र्यो भन्ने । चाहे फिफा कनेक्टमा दर्ता गरिएको होस् वा नेतृत्वको दवाबमा, निचोड एउटै रहन्छ । अहिलेको घटना जे जस्तो भएपनि फुटबलले भने कहिल्यै हार मान्दैन । संसारभर अनेकौं क्लबहरू गिरेका छन्, तर फेरि उठेका छन् । कुनै बेला चरम चुलीमा, तर अहिले भुइँमा । नेपालकै कुरा गर्ने हो भने महावीर क्लब, आरसिटी, एनआरटी सबैले शीर्ष डिभिजनको साख गुमाइसकेका छन् । अब त्यही सूचीमा थपिएको अर्को नाम हो थ्री स्टार क्लब ।

ललितपुरे क्लब थ्री स्टारका लागि पनि यो पुनर्जन्मको घडी हुन सक्छ । वि.सं. २०३९ देखि निरन्तर शीर्ष डिभिजनमा टिकेको क्लबको इतिहासले अब विश्राम लिएको छ, अन्त्य होइन । थ्री स्टार फेरि उठ्न सक्छ, फेरि गगनमा चम्किन सक्छ । शर्त के छ भने, नेतृत्वमा दृढता, सोचमा नयाँपन र सामूहिक प्रयास आवश्यकता छ । एक दिन पक्कै पनि त्यही पाटन दरवार स्क्वायरमा थ्री स्टारको झन्डा फेरि उचालिनेछ, ढोल नगाराहरू फेरि गुन्जिनेछन्, अनि भीडभाडबीच कसैले सोध्नेछ “थ्री स्टार र मनाङको भिडन्त कहिले हो भनेर ।” आशा गरौं फुटबलको जोश र जूनून थ्री स्टारको डिएनएबाट कहिल्यै नमरुन ।