कुनै पनि देशमा एक युगमा एकपटक मात्र युवा जनसंख्या ४० प्रतिशतभन्दा बढी हुनसक्छ । युवा जनसंख्या देशको सबैभन्दा ठूलो शक्ति हो । यस्तो शक्ति धनले मात्र पाउन सकिँदैन । विश्वका धनी देशहरु अमेरिका, चीन, जापान र युरोपका अधिकांश देशहरू युवा जनसंख्या कम हुँदा समस्यामा छन् । उनीहरु जन्मदर बढाउन ठूलो धनराशी खर्च गरिरहेका छन् । तैपनि, जन्मदर बढ्न सकेको छैन । युवा जनसंख्या कम हुँदा ठूलो संकटको सामना गरिरहेका छन् । बढी उमेर समूहको जनसंख्याको प्रतिशत बढ्दै जानुले जापान ठूलो समस्यामा परेको छ । काम गर्ने उमेर समूह घट्नुले उसको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्दा विश्वको दोस्रो धनी देशबाट चौथोमा झरिसकेको छ । यसकारण युवा जनसंख्याको विशेष महत्व रहन्छ ।
नेपाल अहिले इतिहासकै बढी युवा जनसंख्या रहेको देश छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्याको ४०.३ प्रतिशत युवा छन् । कुल जनसंख्यामा १६ देखि ४० वर्ष उमेर समूहमा ४० प्रतिशत बढी हुनु नेपालका लागि वरदान हो । यो शक्तिबाट देशको अर्थतन्त्र कायापलट गर्न सकिन्छ । युवाशक्ति नै देशको आर्थिक रूपान्तरणको मुख्य आधार हो । नेपालले आर्थिक रूपान्तरणमा आफ्नो अधिकतम जनसंख्यालाई सदुपयोग गर्न सक्छ । यसमा कमी–कमजोरी हटाएर युवा जनसंख्यालाई सकारात्मक क्षेत्रमा सक्रिय सहभागी बनाउन ढिलो गर्नुहुँदैन ।
विश्वव्यापीरूपमा स्टार्टअप र नवीन उद्यमिताको बढ्दो प्रभावले नेपाली युवाहरू पनि रोजगारीको खोजीमा नभएर रोजगारी सिर्जनाको मार्गमा अगाडि बढिरहेका छन् । सरकारले स्टार्टअपलाई प्रोत्साहन गर्न विभिन्न अभियानहरू शुरु गरेको छ, तर युवा उद्यमीहरूले सामना गर्ने समस्याहरू जटिल र बहुआयामिक छन् । युवाहरु देशको भविष्य हुन तर उनीहरुको क्षमता र सम्भावनालाई उजागर गर्न सकिएको छैन । यसले उनीहरूको सपनालाई मात्र बाधा पु¥याएको छैन, देशको आर्थिक विकासमा पनि ठूलो असर गरेको छ । धेरै युवाहरु आफ्नो सपना पूरा गर्न विदेश पलायन भइरहेको छन् । तर विदेश गएर पनि उनीहरुमा सन्तुष्टि देखिएको छैन । देशप्रति नै वितृष्णा जाग्ने खतराका कारण देशलाई गाली गर्ने युवाहरु पनि बढ्ने खतरा छ । यसलाई गहिरोसँग अध्ययन गरेर समस्या ठानी समाधानको उपाय निकाल्न जरुरी छ ।
नेपालमा आर्थिक विकास र रोजगारी सृजनाको लागि उद्यमशीलताको भूमिका महत्त्वपूर्ण छ । युवा उद्यमीले विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन् । युवा उद्यमिताको लहर नेपालमा पछिल्ला एक दशकमा तीव्र भएको छ । इन्टरनेट, सोसल मिडिया र ग्लोबलाइजेसनले युवाहरूलाई विश्वसँग जोडेको छ । यता केही क्षेत्रहरु जसमा युवाहरु जमिसकेका छन्– प्रविधिक क्षेत्र, कृषि र एग्रो–बिजनेस, पर्यटन र होटेल, हस्तकला, शिक्षा, जलविद्युत्, ट्रेड आदि । सरकारी नीतिहरूमा पनि युवाहरुलाई प्रोत्साहन गर्ने प्रयास गरिराखेकै छ । सरकारी नीतिहरु जस्तै– युवा उद्यमी ऋण योजना, स्टार्टअप प्रवद्र्धन कोष र महिला उद्यमीहरूका लागि विशेष अनुदानले केही सहयोग गरेका छन् । तर यी पहलहरू अपर्याप्त र जटिल प्रशासनिक प्रक्रियाका कारण युवाहरूसम्म पुग्न सकेका छैनन् र युवाहरु पनि सहज पहुँच नभएको कारण यी नीतिमा सन्तुष्ट हुन सकेका छैनन् ।
युवा उद्यमीका चुनौतीहरू
वित्तीय बाधाहरू: जमानत नभएको ऋण पाउन असम्भव भएको छ । बैंक र वित्तीय संस्थाहरूले जमानत र उच्च ब्याजदर माग्छन् । युवाहरूसँग सम्पत्ति नभएको हुँदा ऋण पाउन गाह्रो हुन्छ । भेन्चर क्यापिटलको अभावले नयाँ आइडियाहरू धरापमा पर्छन् ।
प्रविधि र बजार पहुँचको असमानता : ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा न्यून छ । डिजिटल उद्यमीहरू शहरी केन्द्रित बन्न बाध्य छन् । अन्तर्राष्ट्रिय बजारमा पहुँच गर्न ट्रेड लाइसेन्स, नीति र लजिस्टिक्स चुनौतीपूर्ण छ ।
प्रशासनिक जटिलता : व्यवसाय दर्ता गर्न ५÷७ वटा कार्यालय घुम्नुपर्छ । प्रक्रियामा हप्ता वा महिना लाग्छ ।
शिक्षामा व्यवसाय विकास ज्ञानको कमी : नेपाली शिक्षा प्रणालीमा रटन्त र सैद्धान्तिक ज्ञानमा जोड दिइन्छ । व्यावहारिक व्यवसाय प्रशिक्षण, मार्केटिङ र फाइनान्सियल म्यानेजमेन्टको अभाव छ । युवाहरूले अनलाइन कोर्सहरूमा निर्भर गर्नुपर्छ तर इन्टरनेट र स्रोतको अभावले यो पनि सबैको लागि सहज छैन ।
सामाजिक मान्यता र लैङ्गिक असमानता : मानिस सफल हुन जागिर नै गर्नुपर्छ र जागिरमा पनि सरकारी जागिर गर्नुपर्छ भन्ने मानसिकताले परिवारले व्यवसायमा लाग्न अनुमति दिँदैनन् । महिला उद्यमीहरूलाई पूँजी, समाजको संकीर्ण सोच र घरगृहस्थीको दोहोरो जिम्मेवारीले संघर्ष गर्नुपर्छ ।
राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितता : सरकार परिवर्तनसँगै नीति परिवर्तन भएकोले व्यवसायमा व्यापारिक नीतिगत अनिश्चितता ल्याउँछ । दीर्घकालीन योजना बनाउन गाह्रो हुन्छ । औद्योगिक क्षेत्रमा ट्रेड युनियनको हड्ताल, बन्द र विद्युत् समस्याले उत्पादन अवरुद्ध हुन्छ ।
समाधानका मार्गहरू
वित्तीय सहजीकरण : जमानतमुक्त ऋणको व्यवस्था गर्ने । युवा उद्यमीहरूका लागि विशेष कोष स्थापना गर्ने, जसमा ब्याजदर ५ प्रतिशतभन्दा कम हुनुपर्छ । भेन्चर क्यापिटल निजी क्षेत्रले स्टार्टअपमा लगानी गर्न प्रोत्साहन (जस्तै– कर छूट) आवश्यक छ । क्राउडफन्डिङः डिजिटल प्लेटफर्ममार्फत स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्तासँग जोड्ने ।
प्रविधि र बजार सहयोग : डिजिटल इन्फ्रास्ट्रक्चर, गाउँगाउँमा हाइ–स्पिड इन्टरनेट र इ–कमर्स प्लेटफर्म विस्तार गर्ने । एक्सपोर्ट प्रमोसन, युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मेलामा सहभागी गराउने, उत्पादन गुणस्तर बढाउने प्रशिक्षण ।
प्रशासनिक सुधार : एक खिड्की प्रणाली व्यवसाय दर्ता, कर र लाइसेन्सका लागि एकै स्थानमा सेवा उपलब्ध गराउने, पारदर्शी नीति– सरकारले युवा उद्यमीहरूसँग छलफल गरी नीति निर्माण गर्ने । यसले युवा उद्यमीहरूलाई उद्यम गर्न प्रोत्सहन गर्न सक्छ ।
शिक्षा र मेन्टरसिप : उद्यमिता पाठ्यक्रम, विश्वविद्यालयस्तरमा व्यावहारिक शिक्षा, केस स्टडी र इन्टर्नसिप अनिवार्य गर्ने । मेन्टर नेटवर्क– अनुभवी व्यवसायीहरूले युवाहरूलाई गाइड गर्ने प्लेटफर्म बनाउने ।
सामाजिक चेतना : महिला सशक्तीकरण– महिला उद्यमीहरूका लागि अलग कोष र सामुदायिक प्रशिक्षण । घर–पारिवार र समाज सबैले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने ।
राजनीतिक स्थिरता : उद्यमी अनुकूल नीति, दलहरूले आफ्नो घोषणापत्रमा युवा उद्यमितालाई प्राथमिकता दिने र त्यही अनुरूप कार्यान्वयन गर्ने । इन्फ्रास्ट्रक्चर विकास, विद्युत्, सडक र उद्योग क्षेत्रको विस्तार गर्ने ।
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समाजले हातेमालो गर्ने हो भने युवाहरूको नवीन विचारले नेपाललाई एसियाको ‘स्टार्टअप हब’ बनाउन सक्छ । आजको आवश्यकता भनेको साहसिक नीति, सहयोगी वातावरण र युवाको आत्मविश्वासलाई प्रोत्साहन गर्ने वातावरण बनाउने हो । क्राइसिसमा हिट हान्नुपर्छ । आज देशको यस्तो आवास्थामा हिट हान्ने हो भने समाज र देश परिवर्तन हुन समय लाग्दैन । युवा उद्यमीहरू नेपालको गरिमा बोकेर अगाडि बढ्ने यो नै उपयुक्त समय हो ।
अब यो देश बनाउने समय हो । व्यवस्थाभन्दा पनि अवास्था परिवर्तन गर्ने समय हो । विदेशमा बस्ने युवाहरुका लागि पनि नेपाल लगानीका लागि उचित ठाउँ हो । देश परिवर्तन युवाले नै गर्ने हो । त्यो उद्यमशीलताबाट मात्र सम्भव छ । विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने जिम्मा सरकारको मात्र नभई हरेक नेपालीको हो । लगानीविना प्रगति सम्भव छैन । लगानीमैत्री मुलुक बनाउने हामी सबैको जिम्मेवारी हो ।
(लेखक पाण्डे युवा व्यवसायी हुनुहुन्छ ।)











प्रतिक्रिया