गौतमको परिवारलाई आर्थिक साथ


नेकपा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को क्यारिकेचर गरेर चर्चा कमाएका हास्यकलाकार धनश्याम गौतमको परिवारलाई चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेको छ।

बोर्डअन्तर्गतको फिल्मकर्मी कल्याणकारी कोषबाट मृत्युसंस्कारका लागि सहयोग वापत स्व. गौतमको परिवारलाई ५० हजार रुपिया“ आर्थिक सहायता प्रदान गरिएको हो। बोर्डका अध्यक्ष दिनेश डिसी, कोषकी संयोजक वसुन्धरा भुषाल, सदस्यहरू नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीलगायतको टोली पशुपतिस्थित क्रियापुत्री भवनमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

यसअघि गौतमको उपचारका लागि बोर्डले कोषमार्फत एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। क्यान्सरसँग संघर्षरत गौतमको गत जेठ १९ गते भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो। झापा गौरादहका गौतम केही वर्षदेखि भक्तपुर कटुन्जेमा परिवारसहित बसोबास गर्दै आएका थिए।