माग्ने बुढाको माग्ने राजा रूप : पारिश्रमिक ६१ लाख


माग्ने बुढाको उपनामले लोकप्रिय हास्य अभिनेता केदारप्रसाद घिमिरेको मुख्य भूमिका रहेको फिल्म माग्ने राजाको पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको छ।

शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमबीच फस्टलुक सार्वजनिक गर्दे फिल्म आगामी भदौ ६ गते रिलिज गर्ने घोषणा गरिएको छ। केदार डबलीमा राखिएको कुर्सीमा माग्ने राजाकै अवतारमा प्रस्तुत भए। कार्यक्रममा फिल्मका दुई पोस्टर रिलिज गरिएको थियो। एउटा पोस्टरमा केदार मात्र छन् भने अर्को पोस्टरमा उनीसहित वर्षा शिवाकोटी र विल्सनबिक्रम राईलाई प्रस्तुत गरिएको छ।

गरिब व्यक्तिको धनी बन्ने महत्वाकांक्षालाई विषयवस्तु बनाइएको फिल्म ऋषि लामिछानेले निर्देशन गरेका छन्। निर्देशक लामिछाने ८ वर्षपछि फिल्म निर्देशनमा फर्केका हुन्। निर्देशक लामिछानेले माग्ने राजाले आफैँलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउन खोजिएको बताए। आरम्भ प्रोडक्सनको ब्यानरमा मुनाल घिमिरेद्वारा निर्मित फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटकर तथा मोडल पवित्रा साकी (मिस पबी) लगायतले अभिनय गरेका छन्। फिल्ममा अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा देखिनेछन्।

फिल्ममा काम गर्नका लागि आफूले ६१ लाख रुपियाँ पारिश्रमिक लिएको केदारप्रसाद घिमिरेले खुलाए। सञ्चारकर्मीले गरेको प्रश्नमा उनले आप्mनो पारिश्रमिक खुलाएका हुन्। फिल्मका निर्माता मुनाल घिमिरेले पनि केदारको पारिश्रमिक ६१ लाख रुपियाँ रहेको बताए। ‘हामीले केदारजीलाई ६१ लाख रुपियाँ पारिश्रमिक दिएका हौँ । ५१ लाख रुपियाँ दिइसकेका छौँ । १० लाख रुपियाँ दिन बाँकी छ’ घिमिरेले भने।


फिल्ममा कथा, पटकथा र संवाद सामीप्य तिमल्सिना, संगीत दीपक शर्मा र बाबुल गिरी तथा छायांकन नरेन्द्र मैनालीको रहेको छ।