चाहिँदैन मोहर पर्दैन सुकी


आगामी साउन २३ गते रिलिजमा आउने फिल्म मोहरको शीर्ष गीत चाहिँदैन मोहर पर्दैन सुकी राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

शरद हुमागाई र विशाखा शाहीको स्वर रहेको रोमान्टिक गीतमा प्रमोद ढुंगानाको शब्द रचना र सुरेश अधिकारीको संगीत रहेको छ। नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको गीतको भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ। गीतको भिडियोमा रामजीले कोरियोग्राफी गरेका छन्।

पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, बालकलाकार सारा शर्मालगायतले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा ओम प्रतीकको लेखन र निर्देशन रहेको छ।

गीत रिलिज कार्यक्रममा बोल्दै नायक पल शाहले यो गीतको भिडियो छायांकनका क्रममा निकै नै दुःख भएपनि गीत तयार भएर आएपछि खुशी लागेको बताए। पहिलो पटक कुनै गीतको भिडियोमा काम गर्दा म सक्दिन है भन्नु पर्ने अवस्था आएको पलले सुनाए। नायिका नीति शाहले गीतको छायांकनका क्रममा सबैको मिहिनेत परेको र दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताइन्। लेखक तथा निर्देशक ओम प्रतीकले फिल्मले देउकी प्रथासगै अन्य थुप्रै सस्पेन्स विषय देखाउने र दर्शकले केही फरक कथाको फिल्म हेर्न पाउने दाबी गरे।

फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बनजंग शाहीद्वारा निर्मित फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको डीओपी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। रोशनजंग शाही फिल्मका लाइन प्रोड्युसर रहेका छन्।