चम्किंदै दशरथ रंगशालाको कभर्ड हल


कविरस शर्मा

त्रिपुरेश्वरको हृदयमा बसेको छ एउटा धड्कन, जसको ढुकढुकीमा वर्षौंदेखि गुन्जिरहेको छ नेपाली खेलकुदको आवाज । यो कुनै साधारण स्थान होइन । यो हो दशरथ रंगशाला परिसर अनि नेपाली खेलकुदको एक ऐतिहासिक आँगन । यस रंगशालाले केवल खेल मात्र हैन, देशको आत्मा बोकेको छ ।

सन १९५६ सालमा ठूलो कमलपोखरीमाथि उभिएको सुन्नमा आउने यो रंगशाला नेपालका चार महान सहिदमध्ये एक दशरथ चन्दको नाममा समर्पित छ । मुख्यतः खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको केन्द्र रहेर परिचित भए पनि यसको गर्भभित्र अर्को धड्कन पनि गुँजिरहेको छ, त्यो हो मुख्य कभर्ड हल ।
वर्षौंसम्म नेपाली खेलकुदको श्वास बनेर चलेको यो हल अहिले केही समयका लागि मौन छ । न प्रशिक्षकको सिठी, न खेलाडीको चहलपहल, न त दर्शकको हुटिङ । तर, यो मौनता साधारण होइन, यो मौनता नयाँ स्वरूपको प्रतीक्षामा छ ।

विगतमा कभर्ड हलले आठौं र १३औं दक्षिण एसियाली खेलकुद (साग) को गवाही दिँदै गौरवशाली यात्राको अनुभव गरिसकेको छ । तर, समयको प्रवाहसँगै त्यसको भौतिक अवस्था जर्जर बन्दै गइरहेको थियो । भत्किँदै गएको प्लास्टिक सिट, दुर्गन्धित शौचालय, गर्मी–जाडोले हैरान हुने खेलाडी र दर्शक, प्रतिध्वनिमा हराउने उद्घघोषण, यी सब समस्या यथार्थ थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेण्डर आव्हान गरेर गत वैशाख १५ बाट सुरु गरेको मर्मत कार्यसँगै ती समस्याबाट फेरि एकपटक मुक्ति पाएको छ कभर्ड हलले । असार १५ भित्र सक्ने लक्ष्यसहित युद्धस्तरमा काम अगाडि बढेसँगै चेन्जिङ रुम नयाँ बनिसकेको छ, पानीको नयाँ पाइपलाइन बिछ्याइएका छन, ढोकामा बलिया चुकुलहरू जडान गरिएका छन् ।

केवल ९ सय दर्शक क्षमता बोकेको यो हलले अब आधुनिक स्वरूप पाउँदैछ । एयर कन्डिस्निङ वातावरण, ध्वनि प्रतिरोधी प्यानल, स्कोरबोर्ड, पार्केटिङ, रंगरोगन, भीआईपी क्षेत्र र दर्शक सिट सबै नयाँ उर्जा र आत्मविश्वासका साथ पुनःनिर्माण सम्पन्न हुँदैछ ।

असार मसान्तपछि जब ढोका खुल्नेछ, त्यो केवल भौतिक संरचना नवीकरणको क्षण हुनेछैन । त्यो नेपाली खेलकुदप्रतिको आस्था पुनःजागृत हुने क्षण हुनेछ । त्यसभित्र खेलाडीको पसिना, दर्शकको चिच्याहट, आयोजकको गर्व अनि राष्ट्रको सपनाले अर्को अध्याय लेख्ने तयारी गरिरहेको छ ।

यो कुनै हल मात्र होइन, यो इतिहास हो, भविष्य हो, अनि नेपाली खेलकुदको आत्मा हो । समयसँग थाकेको थियो, तर अब फेरि एकपटक उज्यालो भविष्यको दिशामा उन्मुख हुँदै फेरि चम्किन लागेको छ दशरथ रंगशालाको मुख्य कभर्ड हल ।