विद्यार्थीलाई लाज शरणम्को सहयोग


फिल्म लाज शरणम्को निर्माण समूहले प्रदर्शनको १ सय १ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ।
फिल्मको निर्माण समूहले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो।

मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा फिल्मका निर्माता नवीन श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। ‘सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्मको गौरवमय १०१औँ दिनको उपलक्ष्यमा हामीले विद्यार्थीलाई सहयोग गरेका हौँ’ निर्माता श्रेष्ठले भने।

कुमार कट्टेलको निर्देशनमा बनेको फिल्म गत वर्षको फागुन १४ गते रिलिजमा आएको थियो। फिल्मले राजधानीको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको १०१ दिन मनाएको हो।

फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्।

निर्माता श्रेष्ठले अब पाँच पाण्डव नामक फिल्म निर्माण गर्ने भएका छन्। वसन्त निरौलाले निर्देशन गर्ने फिल्मको पटकथा सुशील पौडेलले लेखिरहेका छन्। निर्माता श्रेष्ठले लाज शरणम् २ पनि निर्माणको तयारी भइरहेको जानकारी गराएका छन्।