सार्वजनिक ऋण जीडीपीको साढे ४३ प्रतिशत पुग्यो


काठमाडौं।

चालू आर्थिक वर्षमा सवा २ खर्ब रुपियाँ ऋण थपिएसँगै सार्वजनिक ऋणको भार २६ खर्ब ५४ अर्ब ६८ करोड ८ लाख रुपियाँ पुगेको छ । २०८२ जेठ महिनामा मात्रै ३२ अर्ब २७ करोड रुपियाँ ऋण थपिएको छ । वैशाख महिनासम्म २६ खर्ब २२ अर्ब ४० करोड ३७ लाख रुपियाँ थियो । चालू आवमा २ खर्ब २० अर्ब ५८ करोड रुपियाँ थपिएको हो ।

सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४३ दशमलव ४७ प्रतिशत रहेको छ । जेठ मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड ३० लाख र बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड ७८ लाख रुपियाँ रहेको छ । आन्तरिक ऋण जीडीपीको २२ दशमलव ३१ प्रतिशत र बाह्य ऋण २४ दशमलव २३ प्रतिशत रहेको छ ।

कुल सार्वजनिक ऋणमा जेठ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा ११ महिना अर्थात जेठ मसान्तसम्ममा ४ खर्ब १४ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ७५.७२ प्रतिशत छ । जनसंख्याको आधारमा प्रतिव्यक्ति ऋणको भार ९१ हजार रुपियाँको हाराहारीमा पर्न जान्छ । यस अवधिमा सरकारले ३ खर्ब १४ अर्ब ९९ करोड आन्तरिक ऋण तथा ९९ अर्ब २० करोड बाह्य ऋण प्राप्ति गरेको छ । जसमा आन्तरिक ऋण प्राप्ति लक्ष्यको ९५.४५ प्रतिशत तथा बाह्य ऋण प्राप्ति लक्ष्यको ४५.७२ प्रतिशत रहेको छ ।