नीम करोली बाबाको नाम हनुमान अवतारको रुपमा व्यापक चर्चित छ । उहाँ एक साधारण सन्त हुनुहुन्थ्यो । सबैसँग उत्तिकै प्रेम, स्नेह र हार्दिक सम्बन्ध गाँस्न सक्ने अलौकिक व्यक्तित्वको नाम हो– नीम करोली बाबा । बाबाको अलौकिक प्रतिभा र दैविक शक्तिकै कारणले गर्दा नै हुनुपर्छ, बाबाले एकै समयमा दुई स्थानमा उपस्थित भएर आफ्ना भक्तहरुलाई दर्शन दिने गरेको पाइन्छ । त्यसैले भनिन्छ, उहाँ हनुमानको अवतार हो । यस्ता घटनाले बाबा महान् शक्तिवान् भएको ज्ञात हुन्छ ।
बाबाले भक्तजनहरुलाई गहिरो ध्यानमा लगाउने र आवश्यकता अनुरुपको सहयोग गरी भक्तहरुलाई सामीप्यता प्रदान गर्नुहुन्छ । बाबाका अनेकौं चमत्कारहरु प्रख्यात हुनुका साथै चारैतिर व्यापक चर्चा–परिचर्चा हुने गरेको छ । बजरङ्गबली हनुमानकै अवतार भएर नै नीम करोली बाबाले यस्ता अनेकौं चमत्कार देखाउन सफल हुनुभएको हो भन्ने भक्तनजहरु बताउने गर्छन् । तर बाबाको पाउमा ढोग्न जाने भक्तहरुलाई मलाई होइन हनुमानको पाउमा ढोग्नू भन्नुहुन्थ्यो ।
नीम करोली बाबाको जीवनको बारेमा थोरैलाई मात्र ज्ञान हुन सक्छ । बाबाको जीवन व्यक्तिगतरुपमा एकदम साधारण रहेको थियो । बाबाको जन्म भारतको फिरोजावाद जिल्ला उत्तर प्रदेश, अकवरपुर गाउँमा एक धनी ब्राह्मण परिवारमा सन् १९०० मा भएको थियो । उहाँको नाम लक्ष्मण नारायण शर्मा थियो । उहाँको सानैमा विवाह गरिदिए । तर विवाहपछि ११ वर्षको उमेरमा उहाँले घर छोड्नुभयो, साधु बन्न । पछि पिताले उहाँलाई भेटेर घरमा फर्काई वैवाहिक जीवन बिताउन बाध्य बनाउनुभयो । उहाँबाट २ पुत्र र एक पुत्री पनि भए । तर उहाँ पारिवारिक जीवनमा रहन सक्नुभएन । पुनः घर त्यागेर संन्यासी जीवन बिताउन थाल्नुभयो । अनि उहाँलाई बाबा लक्ष्मण दास भन्न थालियो ।
सन्त राम दासले बाबाका विषयमा एक घटनाको उल्लेख गर्नुभएको छ । बाबा लक्ष्मण दास एकपटक विना टिकट ट्रेनमा चढ्नुभएको थियो ।ट्रेनका टिटीले टिकट चेक गर्दा बाबासँग नहुँदा फरुखावाद जिल्लाको नीम करोली गाउँमा ट्रेनबाट ओर्लन बाध्य पारे । जबरजस्ती बाबालाई टे«नबाट ओरालिदिए । तब ती बाबा नजिकैको एउटा नीमको रुखमुनि ध्यानमा बस्नुभयो । तर ट्रेन पुनः स्टार्ट भएन अर्थात् चलेन । धेरै पटकको प्रयासबाट पनि ट्रेन चलेन । ट्रेनका यात्रुहरुले टिटीलाई आग्रह गरे, ‘ती सिद्ध साधु बाबासँग माफी मागेर उहाँलाई ट्रेनमा पुनः चढाउन ल्याउनू ।’ ती साधुलाई टिटीले ट्रेनमा चढ्न आग्रह गर्दा साधु बाबाले दुईवटा सर्त राख्नुभयो । ती सर्त पूरा गरे मात्र ट्रेनमा चढ्ने नत्र नचढ्ने चेतावनी दिनुभयो । बाबाले राखेका दुईवटा सर्तमध्ये एउटा थियो, त्यही नीम करोलीमै स्टेसन राख्नुपर्ने ।
कैयौँ माइल हिँडेर गाउँका मानिसहरु टाढा स्टेसनमा गई रेल चढ्नुपथ्र्यो । आफ्नै गाउँनजिकै स्टेसन भए ती गाउँलेहरुलाई यात्रा गर्न सजिलो हुने थियो । दोस्रो, ट्रेनका टिटीहरुले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने र साधुसन्तहरुलाई निःशुल्क यात्रा गराउनुपर्ने । ट्रेनका अधिकारीहरुले एक–आपसमा सल्लाह गरेपछि नीम करोली बाबाका सर्त मञ्जुर गरे । त्यसपछि मात्र बाबा ट्रेनमा चढ्नुभयो । तर बाबाले आशीर्वाद नदिएसम्म ट्रेन चालकले ट्रेन चलाएनन् । बाबाले आशीर्वाद दिएपछि मात्र ट्रेनका चालकले ट्रेन स्टार्ट गरे र ट्रेन पनि चल्यो । तर बाबाचाहिँ केही दिन त्यही नीम करोली गाउँमा बस्नुभयो । स्थानीय गाउँलेले स्थानीय ठाउँकै नामबाट बाबालाई नीम करोली बाबा भन्न थाले । यसरी बाबाको नाम नीम करोली हुन गएको हो भनिन्छ ।
त्यसपछि बाबाले उत्तर भारतमा धेरै चमत्कारहरु गर्नुभयो । यसै सन्दर्भमा बाबालाई धेरै नामले पुकार्न थालियो– बाबा लक्ष्मण दास, हाँडीवाला बाबा, टिकोनवाला बाबा । जब बाबाले गुजरात मोर्वी भावनीय गाउँमा तपस्या गर्नुभयो, त्यहाँ बाबाको नाम तलीय बाबा हुन गयो । वृन्दावनमा स्थानीयवासीले चमत्कारी बाबा पनि भन्न थाले । सधैँभरि कम्बल मात्र ओढेर बस्ने भएकाले बाबालाई कम्बल बाबा पनि भन्न थालियो । यसरी भक्तजनहरुले विभिन्न नामबाट सम्बोधन गर्ने गरे तापनि मुख्यरुपमा बाबा नीम करोली महाराजको नामले नै विश्वविख्यात हुनुभएको छ ।
नीम करोली बाबा यस युगकै एक महान् सन्त हुनुहुन्छ । भगवान् हनुमानको आशीर्वाद र कृपा पाएर नै नीम करोली बाबा विश्वप्रसिद्ध हुन सफल भएको भनिन्छ । चाहे विश्वचर्चित विराट क्रिकेटर हुन्, चाहे एप्पल प्रडक्सका मार्क जुकरबर्ग, जसको हालत धेरै खराब थियो । नीम करोली बाबाको कैंची धाममा आएपछि नै जुकरबर्ग फेसबुकको नयाँ आयाम थप्न सफल भएका थिए । त्यस्तै हलिउडका अभिनेत्री पनि कैंची धाममा आएपछि धेरै प्रभावित भइन् र बाबाको अनुयायी बनिन् अनि आफ्नो क्षेत्रमा चर्चित बनिन् । यसरी धेरैको कल्याण गरेर नीम करोली बाबा चर्चित बन्नुभएको हो ।
नीम करोली बाबाको समयमा दुईवटा मुख्य आश्रम बने, कैंची र वृन्दावनमा । बाबाको समयमा एक सयभन्दा बढी मन्दिरहरु बाबाकै नामबाट बनेका थिए । कैंची धाम आश्रममा बाबाले आफ्नो जीवनको अन्तिम दशक बिताउनुभयो । कैंची धाममै बाबाले ७३ वर्षको उमेरमा समाधि लिनुभएको थियो ।
नीम करोली बाबाको जीवन एकदम साधारण सन्तको रुपमा बित्यो । उहाँले एउटा कम्बल मात्र प्रयोग गर्नुहुन्थ्यो । उहाँको कम्बलको पनि चमत्कारि घटना थिए । कम्बलकै माध्यमबाट एकजना भारतीय सैनिकको लडाइँमा शत्रुको घेराबाट बचाइएको थियो । उहाँले भक्तजनहरुसँग कुरा गर्दा पनि एकदम साधारण किसिमले गर्नुहुन्थ्यो । उहाँको आश्रममा आउने जो कोहीलाई पनि खाना खुवाउने गर्नुहुन्थ्यो । उहाँको मुख्य काम नै सबैको सेवा, ईश्वरप्रतिको भक्तिभाव जगाउने र सबैसँग भाइचाराको भावले सबैको हेरचाह गर्ने हुन्थ्यो ।
नीम करोली बाबाले बजरङ्गबली हनुमानका १०८ मन्दिरहरु बनाउनुभएको थियो । उहाँ विश्वास गर्नुहुन्छ कि भगवान् हनुमान सेवाभाव भक्त शिरोमणि हुन्, जो आत्मिक विकास गर्न चाहन्छन्, उनीहरुका लागि विलक्षण उदाहरण हुन् ।
कैंची धाम आश्रममा बाबाले दुईजना स्थानीय साधु प्रेम बाबा र सोमवरी महाराजलाई यज्ञ होम गर्नका लागि राख्नुभएको थियो । नैनितालबाट १७ कि.मि.मा अवस्थित यो मन्दिर स्थानीयहरुका लागि धेरै महत्वपूर्ण रह्यो । यहाँ विश्वका भक्तजनहरु हरेक वर्ष जुन १५ का दिन कैंची धाम भण्डारामा भाग लिन आउँछन् । यहाँ एक लाखभन्दा बढी भक्तजन सम्मिलित हुन्छन् र भण्डारामा प्रसाद ग्रहण गर्छन् ।
यो कैंची धाम मन्दिर भारतको उत्तराखण्डमा अवस्थित छ । नीम करोली बाबाको यो कैंची धाममा जो कोही जान्छन्, उनीहरुले कहिल्यै बिर्सन सक्दैनन् । एकपटक मात्र जाने अवसर पाएकाका लागि जिन्दगीभरकै लागि यादगार भइरहन्छ । विश्वका मानिसहरु यस कैंची धाममा शान्तिको खोजमा, आफ्ना प्रश्नको उत्तर पाउन र बाबाले प्रयोग गर्नुहुने बचारपाईको दर्शन गर्न आउने गर्छन् । यस कैंची धाममा आउने भक्तजनको इच्छा, आकांक्षा पूरा हुने भएकोले व्यापकरुपमा यहाँ भक्तजनहरु आउने गर्छन् ।
नजिकै नदी बगिरहेको रमणीय स्थान भएकोले यहाँ चारैतिर शान्त वातावरणको अनुभव हुन्छ । भक्तजनहरु काउन्टरमा बसिरहेका हुन्छन्, ताकि फर्किन लागेका लाखौं भक्तजनहरु सबैले चना र हलुवाको प्रसाद पाऊन् भनेर सेवा गरिरहेका हुन्छन् ।हनुमानका अवतार नीम करोली बाबाका अनेकौं चामत्कारिक घटना छन्, जुन यस छोटो लेखमा समावेश गर्न सम्भव छैन । त्यसैले नीम करोली बाबाका विषयमा संक्षिप्तरुपमा यी कुराहरु समावेश गरेको छु । जय नीम करोली बाबा, जय बजरङ्गबली हनुमान !











प्रतिक्रिया