आगामी साउन २३ गते रिलिजमा आउने फिल्म सिटामोलको तीन पोस्टर सार्वजनिक गरिएको छ।
राजबहादुर सानेको निर्देशनमा निर्माणाधीन फिल्मको पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपालीलाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखकलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा सौगात मल्ललाई बैशाखीको साहारामा प्रस्तुत गरिएको छ।
सौगात, बेनिशा, श्रीकृष्ण, जानुका र करणका साथमा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउ“वाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीलगायतले अभिनय गरेका छन्। फिल्मले बिम्बात्मक नेपाल, आम नेपालीको जनजीवन र परापूर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कार व्यक्त गर्ने फिल्मका निर्माता र निर्देशकले दाबी गरेका छन्।
जुनतारा फिल्म्स्को सहकार्यमा तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा भूगोल कुमार कार्की र विकाशराज जोशीद्वारा निर्मित तथा सिमोस सुनुवारद्वारा प्रस्तुत फिल्ममा कथा प्रदीप भारद्वाज र निर्देशक साने, संगीत बाबुल गिरी, कोरियोग्राफी कविराज गहतराज, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन र छायांकन दिव्य सुवेदी र सम्पादन वन्दे प्रसादको रहेको छ। फिल्ममा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्माता रहेका छन्।











प्रतिक्रिया