आईपीएलको दुःखद घटनाबाट सिक्नुपर्ने पाठ

4.89k
Shares

२०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले लामो समयदेखि प्रतीक्षित उपाधि जित्दा भारतभर उत्सवको माहोल बन्यो । सयौं खेलप्रेमी सडकमा नाच्न निस्किए, रंग, पटाका, नाराहरूले रातलाई उज्यालो बनाए । तर, दुर्भाग्यवश, त्यही उत्सवको छायाँमा केही घरमा अन्धकार छायो, विजयको खुसीले दुखद अन्त्य भेट्यो । सञ्चारमाध्यमका अनुसार भीड र अव्यवस्थाको कारण कम्तीमा ११ जनाले ज्यान गुमाए, अनि थुप्रै घाइते भए । यी घटना केवल संयोग थिएनन् । त्यो पूर्वतयारीको अभाव, सुरक्षाको कमजोरी र भीडको मानसिकता नबुझिएको परिणाम थियो ।

आरसीबीका समर्थकहरूले जितको मिठास चाखे, तर केही परिवारको लागि त्यो रात जीवनभरको पीडा बन्यो । यही घटनाले हामी नेपालीहरूलाई पनि आँखा खोल्न बाध्य पार्छ । विशेषगरी नेपाल प्रिमियर लिग (एनपीएल) जस्तो ठूलो खेल आयोजनाको तयारी भइरहेका बेला । खेल सधैं भावना, गर्व र मनोरञ्जनसँग जोडिन्छ । तर, जुनसुकै क्षण त्यो भावना नियन्त्रणबाहिर गयो भने त्यसले महोत्सवभन्दा दुर्घटनाको रूप लिन सक्छ । नेपालमा पनि फुटबल, क्रिकेटको प्रतियोगिता हुँदा दर्शक दिर्घाबाट छिटफुट अप्रिय घटना नभएका होइनन् । वि.सं २०४४ सालमा दशरथ रंगशालामा भिडले दर्शक थिचिएर मान्छे मरेको घटना यसको जल्दोबल्दो उदारहण हो । अहिले त झन् भारतको जस्तै नेपाली क्रिकेटको ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिगको (एनपीएल) को माहोल चुलिँदै छ । यदि समयमै आवश्यक सावधानी नअपनाइए भारतमा भएको घटना हाम्रो लागि पनि यथार्थ बन्ने दिन टाढा छैन ।

गत सिजनको एनपीएलबाट सिक्नुपर्ने

एनपीएलको पहिलो सिजनमा नै केही अस्वस्थ दृश्य देखिएका थिए । कहीँ जातीय नारा, कहीँ दर्शकबीचको झडप, सुरक्षाकर्मीको अलमल र कतै अव्यवस्थित प्रवेश प्रणाली । दोस्रो सिजनमा खेलस्थलको आकार अझै ठूलो हुनेछ, दर्शक संख्यामा वृद्धि हुनेछ । यसले व्यवस्थापनलाई अझ बढी सजग बन्न आवश्यक बनाउँछ । संसारभरका ठूला खेलहरूले देखाएको तथ्य के हो भने भीड नियन्त्रण, सुरक्षाको सुनिश्चितता र आपतकालीन तयारीका लागि चुस्त गृहकार्य नभएसम्म व्यवस्थापन असफल हुन्छ । नेपालमा अझै पनि लाइनमा बस्ने, पालो पर्खने र अनुशासन पालना गर्ने संस्कार व्यापक रूपमा विकसित छैन । यही कारणले गर्दा “पहिले पुग्ने, अघि जाने” मानसिकताले ठूलो भिड, धक्का–मुक्का र दुर्घटनालाई निम्त्याउन सक्छ ।

समस्या समाधानको उपाय

समयमै योजना बनाउनु अत्यावश्यक छ । पर्याप्त संख्या र स्थानमा प्रवेशद्वार खुला हुनुपर्छ, टिकट स्क्यानिङ प्रणाली छरितो र सजिलो हुनुपर्छ । भीड नियन्त्रक बार, डण्डा, र पर्खालहरू मजबुत बनाइनुपर्छ । प्रवेश र निकास मार्ग स्पष्ट, खुला र सुलभ हुनुपर्छ । साथै, क्षमताभन्दा बढी टिकट बिक्री रोक्नुपर्ने हुन्छ । सिसीटीभी, माइक सिस्टम, र सुरक्षा बुथहरू तयारी अवस्थामा हुनुपर्छ । जनचेतनामूलक सन्देशहरू निरन्तर प्रसारण हुनुपर्छ । स्वयंसेवक, मेडिकल टिम, र तालिमप्राप्त सुरक्षाकर्मी मैदानमा मात्र होइन, वरपरका क्षेत्रहरूमा पनि तैनाथ गरिनुपर्छ । महिला, बालबालिका र वृद्धका लागि अलग लाइन वा प्राथमिकता दिने व्यवस्था आवश्यक छ ।

दर्शक र समर्थकको भूमिका

खेल केवल आयोजकको जिम्मेवारी मात्र होइन, दर्शकहरूको पनि उत्तरदायित्व हो । अनुशासनमा बस्ने, लाइन पालना गर्ने, शान्तिपूर्वक रमाउने संस्कार सबैले आत्मसात गर्नुपर्छ । बालबालिका, वृद्ध र महिलाको सुरक्षा प्रत्येक नागरिकको कर्तव्य हो । विजयमा उन्माद होइन, संयमता आवश्यक छ । किनभने उत्सव फेरि आउला, खेल फेरि जितिएला, तर ज्यान फर्किँदैन । खेल जीवनको हिस्सा हो, तर जीवन स्वयं नै अमूल्य हो । त्यसैले खेल हेर्न जानु केवल रमाइलोका लागि मात्र होइन, जिम्मेवारीका साथ रमाउन सिक्नु पनि आजको आवश्यकता हो । बेलैमा सचेत भइएन भने भोलिको खुसी पनि आँसुमा परिणत हुन सक्छ । त्यसैले अब खेलप्रति नजर मात्र होइन, व्यवहार पनि परिपक्व हुनुपर्छ ।