कालापानीको माटोदेखि कैलाशको जल उपहार पाएका केपी बा ! तिङ्कर सडकमा बजेट खोइ ?


२०६५ जेठ १५ गते पहिलो संविधान सभाको बैठकले नेपालको २४० वर्षिय राजतन्त्रको बिदाई गरेर देश गणतान्त्रिक शासन व्यवस्थाको बाटोमा हिडेको दिन भएकोले ०६५ पछि जेठ १५ लाई गणतन्त्र दिवस संगै जनताले एक बर्षको आफ्नो राज्यको बजेटको बारे जानकारी पाउने दिन अर्थात बजेट भाषणको दिनका रूपमा बुझ्ने गर्छन् । हरेक नागरिकले जेठ १५ गते संघिय संसदमा अर्थमन्त्रीले सार्वजनिक गर्ने बजेटलाई निकै चासोका साथ हेर्छन्, सुन्छन् ।

व्यापारी बर्ग समानको आयात निर्यातमा कर कति बढ्यो घट्यो भनी,कर्मचारी तलब भत्ता कति बढ्यो भनी,नेताहरू आफ्नो क्षेत्रमा कति पर्यो भनी र जनता आफूले माग गरेका योजना कार्यक्रम परे परेनन् भनी निकै चासो राखेर ध्यानसंग बजेट भाषण सुन्छन् हेर्छन् । म पनि यो बर्षको बजेट भाषणलाई निकै चासो र ध्यापुर्वक हेर्दैथिए कारण रणनीतिक महत्त्व बोकेको मेरो गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने एवं हिन्दु धर्मावलम्बीको प्रवित्र धार्मिक तिर्थस्थल कैलाश मानसरोवरको प्रवेशद्वार सम्मको सडक दार्चुला-तिङ्कर सडकमा यो वर्ष कति बजेट विनियोजन हुन्छ भनी । बजेटको पूर्व सन्ध्यामा चिया पसलमा दार्चुला-तिङकर सडकप्रति चासो चिन्ता राख्ने सरोकारवालाहरु आ-आफ्नो आकलन गर्थ्यौ । कोही यो अगामी बर्ष चालू बर्ष भन्दा बढी बजेट पर्छ भन्थे । कोही सेनाले मागेजति पर्छ भन्थे ।
कोही ओलिका नजिकका पूर्वमन्त्री एवं एमालेका पोलिटबियुरो सदस्य गणेश सिंह ठगुन्नाको नेतृत्वको दार्चुला एमालेको टोलिले ओलि पछिल्लोपटक प्रधानमन्त्री भएदेखि पटक पटक ओलिलाई ज्ञापनपत्र दिदै दार्चुला तिङकर सडकको लागि कहिले ४० करोड त ! कहिले ५० करोड बजेट माग गरेको छ ।

त्यसैले तिङकर सडकलाई सेनाको जिम्मामा दिन पहल गरेका ठगुन्नाजि ले नै पटकपटक ज्ञापनपत्र दिएर ५० करोड बजेट माग गरेका छन् कसो नपर्ला जबकी ठगुन्नाजिले नै भनेर ब्यास घोरेटो बाटोको लागि ओलीले राती नै अर्थमन्त्रीलाई बालुवाटार बोलाएर ५ करोड बजेट छुट्टाए भन्थे । कोही अहिले चुच्चे नक्सा जारी गर्ने सरकारको नेतृत्व गरेका केपी ओली नै प्रधानमन्त्री भएकोले चुच्चे नक्साको भूगोल शीत जोडिएका गाउँ छाङरु,तिङकर जोड्ने सडकमा पर्याप्त बजेट आउछ भन्थे यसै बिचमा ०८२ बैशाख २९ मा संसदमा प्राधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा तिङकर सडक निर्माण सरकारको प्राथमिकतामा रहेको भनेर बोलेका कारण यो आ.ब मा २ बर्ष भित्र ट्र्याक खोल्ने गरी सेनाले मागेजति बजेट आउछ भन्ने आशा बलियो बनेर आयो । जेठ १५ गते बजेट भाषणमा अर्थमन्त्रीले बजेटको बुंदा नम्बर २६० नम्बरको तल र माथिका बुदाँहरूमा अर्ब-अर्बकाे बजेट रकम विनियोजन गरेको बोले तर बुँदा नम्बर २६० काे मात्रै बजेट उल्लेख नगरी महाकाली करिडोर दार्चुला तिङकर सडक खण्डको लागि आवस्यक बजेट विनियोजन गरेको छु भनेर बोले ।

अर्थमन्त्रीले तिङकर सडकको लागि आवस्यक बजेटको व्यवस्था गरेको छु भन्दा आशा र संका दुबै पैदा भयो र तत्काल दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय दिलेन्द्र प्रसाद बडूलाई फोन गरेर यसपटक दार्चुला तिङकर सडकमा कति बजेट आयो भनेर सोधे उहाले यो आर्थिक बर्षमा महाकाली करिडोरबाट दार्चुला तिङकर सडकलाई छुट्टै बजेट शिर्षकमा राखेर नेपाली सेनाको कार्ययोजना अनुसार दुई बर्ष भित्र सडकको ट्र्याक खोल्ने गरी बजेट उपलब्ध गराउन अर्थमन्त्रीलाई भेटेरै भनेको छु । कति बजेट पर्यो रातो किताब आएपछि मात्रै थाहा हुन्छ भन्यो। तर, दोस्रो दिननै सामाजिक संजालमा दार्चुला तिङकर सडकमा ६ करोड ३१ लाख मात्रै बजेट विनियोजन गरेको देखे । जो कल्पनासमेत गर्न नसकेको न्यून बजेट हो । चुच्चे नक्सा जारी गरेर राष्ट्रवादि करार गरिएका,२०७९ को पहिलो चुनावी सभा दार्चुलाबाटै सुरु गरेर कालापानीको माटो लगेका ओली नेतृत्वको सरकारले चुच्चे नक्साको भूगोल शीत जोडिएका, सामरिक महत्त्व बोकेका गाउँ छाङरु,तिङकर सम्म पुग्ने रणनीतिक महत्त्वको सडकमा ६ करोड मात्रै बजेट विनियोजन गर्नु दार्चुला र सिमाक्षेत्रका नागरिक प्रतिको अन्याय मात्रै होईन ओलिको राष्ट्रवाद पनि नक्कली र खोक्रो प्रमाणित भएको छ ।

कालापानी लिपुलेक लिम्पियाधुराको नारा लगाएर भोट बटुल्ने र चुच्चे नक्साको लोगो छातीमा लगाएर चुच्चे नक्साको भूगोल जोड्ने,राष्ट्रियता,व्यापार,पर्यटन,सिमा सुराक्षाको दृष्टिकोणले महत्त्वपूर्ण सडक निर्माणको लागि बजेट विनियोजन गरेको बजेट न्यायोचित छ छैन छातीमा हात राखेर आफ्नै आत्मालाई प्रश्न गरुन् ओलिले । कडा चट्टानी भूगोल भएको दार्चुला तिङकर सडकलाई नेपाली सेनालाई दिने महत्त्वपूर्ण निर्णय र चुच्चे नक्सा जारी गर्ने ऐतिहासिक निर्णय ओलिकै प्रधामन्त्रीत्व कालमा भएकोले अरु भन्दा ओलिले तिङकर सडकलाई बजेट दिन्छन् भन्ने अपेक्षा आम दार्चुलेलिको र ब्याँसबासीको थियो। तर, ओली बाले हाम्रो अपेक्षालाई उपेक्षा गरेको हो कि आफैले नेतृत्व गरेको सरकारले जारी गरेको चुच्चे नक्सा बिर्सेको हो । कुनै अदृश्य शक्तिको डरले हो कि केले हो ओलीको राष्ट्रवादनै उदाङ्गो पार्ने गरी बजेट विनियोजन गरे नत्र आफ्नो जिल्लामा भ्युटावर र रंगशाला निर्माणको लागि अरब बजेट हाल्ने ओली सरकारले किन दार्चुला तिङकर सडकमा बजेट हाल्न सकेनन् होला ?

दार्चुलाका सांसदको भूमिका र बजेट

पछिल्लो समय दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय दिलेन्द्र प्रसाद बडूको दार्चुला तिङकर सडक प्रतिको चासो,चिन्ता,पहल,प्रयास सराहनीय छ । सांसदको भूमिकामा ईमानदार भएर संसदमा राज्य व्यवस्था समितिको बैठकमा आवाज उठाउनेदेखि निरन्तर सम्बन्धित मन्त्री,प्रधानमन्त्री लाई घच्घच्याउने,स्थलगत भ्रमण र दार्चुला तिङकर सडकको दुबै तर्फबाट निर्माणकार्य सुरु गर्न बजेट थप आदि कारणले सांसद बडुको भूमिका प्रसंसनीय छ । बजेट भाषण पूर्व पनि जेठ ४ गते संसदको शुन्य समयमा बोल्दै सांसद बडूले २ वर्षभित्र ट्रयाक खोल्ने गरी तिङकर सडकमा पर्याप्त बजेट विनियोजन गर्न माग गरे ।

सांसदले बजेट विनियोजन गर्दैन तर आफ्नो निर्वाचन क्षेत्रका समस्या,सार्वजनिक महत्त्वका बिषयमा आवाज उठाएर सरकारको ध्यानाकर्षण गराउने हो जो दार्चुलाका सांसद बडूले गरेका छन् नै तर आफ्नै पार्टी समेत सहभागी भएको सरकारले आफ्नो निर्वाचन क्षेत्रमा रहेको राष्ट्रिय महत्त्वको सडकमा बजेट माग्न पटकपटक बोल्दा पनि सरकारले सुन्दैन भने तपशिलका कदम उठाउनु पर्छ ।(एक मतदाताको सुझाव )

१- बजेटमाथि संशोधन प्रस्ताव

जसरी हिजो काङ्ग्रेस माओवादीको सरकार हुँदा प्रचण्ड प्रधानमन्त्री हुँदा दार्चुला तिङकर सडकमा ८ करोड मात्रै बजेट विनियोजन गर्दा बजेट संशोधन प्रस्ताव दर्ता गरेर ५ करोड बजेट थपियो यो आ.ब को बजेटमा सत्ताको सांसद भन्दा नि दार्चुलाको जिम्मेवार र राष्ट्रभक्त सांसद बनेर बजेट माथी संशोधन प्रस्ताव दर्ता गराउनु पर्छ । पार्टीले बजेट पासको लागि सांसदमाथि ह्विप लगाए दार्चुलाको सांसदले तिङकर सडकमा थप बजेट विनियोजन नभए सम्म संशोधन प्रस्ताव फिर्ता नल्याई आफ्नो अडान चट्टान बनाएर कायम राख्नुपर्छ पार्टीले कारबाही गरे दार्चुलाको ढुङ्गोमाटो र जनताले न्याय दिन्छ ।

२- संसदमै अनशन

आ.ब २०८१/८२ को बजेटमा दार्चुला तिङकर सडक खण्डलाई महाकाली करिडोरबाट छुट्टाएर अलग बजेट शिर्षकमा नराखेको र पर्याप्त बजेट विनियोजन नगरेको भन्दै संसदमै १ मिनेट मौन धारण गर्नु भएको थियो। तर, यो बर्ष त सडक निर्माणको लागि मात्रै १ करोड दिएको छ । प्रधानमन्त्री,अर्थ,भौतिक पुर्वाधार,रक्षामन्त्री लगायत सबैले बजेट सेनाले मागे जति दिन्छु भनेर न्यून बजेट दिनु भनेको बालकलाई चक्लेट दिएर ठगे जस्तो भएको छ त्यसैले हिजो जस्तो मौन धारणले मात्रै सरकारको ध्यानाकर्षण भएन अब बजेट थपको लागि सरकारलाई दबाब दिन संसद चलेको बेला सभामुखको अगाडि अनशन बस्नु पर्छ ।

३- सडक निर्माणको लागि संसदमै चन्दा संकल्न

जुन प्रधानमन्त्रीको कार्याकालमा चुच्चे नक्सा जारी गरियो,तीब्र गतिमा सडक निर्माणकार्य सक्न सेनालाई जिम्मा दिईयो आज सोही प्रधानमन्त्रीको पालामा चुच्चे नक्साको भूगोल जोड्ने सडक निर्माण गर्न १ करोड मात्रै बजेट विनियोजन गरेर चुच्चे नक्सा जारी गर्नु खोक्रो राष्ट्रवाद हो भन्ने झल्किएको छ र सिमा क्षेत्रका नागरिक प्रतिको सरकारको उदासीनता प्रष्ट भएको छ । त्यसैले जुन संसदले २०७७ जेठ ३१ गते सबै राजनीतिक दलहरूको सहमतिमा चुच्चे नक्सा पारित गर्यो आज त्यही संसद बाट चुच्चे नक्सा भएको जिल्लाको सांसदको हैसियतले दिलेन्द्र प्रसाद बडुले चुच्चे नक्साको लोगो लगाउने सबै सांसदलाई भन्नुपर्छ ओलिको जिल्लामा भ्यु-टावर,रंगशाला बनाउन अरब बजेट जादा तपाई हाम्रो छातीमा लगाएको चुच्चे नक्साको भूगोल जोड्ने सडकमा सरकारले बजेट दिन सकेन त्यसैले दार्चुला तिङकर सडक कुनै एउटा जिल्लाको मात्रै नभएर सिमा क्षेत्रमा राज्यको उपस्थिति सहज बनाउन देखि सिमानाका नागरिकको भारतीय परनिर्भरता हटाउन महत्त्व राख्ने,राष्ट्रियता र सामरिक महत्त्वको सडक भएकोले उक्त सडक निर्माणको लागि सबै माननीयज्युहरुले १/१ महिनाको तलब चन्दा स्वरुप सरकारलाई उपलब्ध गराईदिन आग्रह गर्नुपर्छ । चुच्चे नक्साको जिल्लाको सांसद भएकोले मान्य दिलेन्द्र प्रशाद बडूको जिम्मेवारी र दायित्व बढी भएकोले दार्चुला तिङकर सडकलाई बजेट दिन नसक्ने ओली र ओलिको राष्ट्रवादलाई नैतिक दबाब दिन आफ्नो १ महिनाको तलब र सांसद विकास कोषको एक हिस्साको बजेट ब्याँस ऋषिको मुर्ति स्थापनाको लागी विनियोजित रकम तिङकर सडकमा विनियोजन गर्नुपर्छ । बाटो नभए मुर्ति पुज्न कसरी जाने । ब्याँस ऋषिको मुर्तिको शिलान्यासको लागि छाङरु आएको बेला जगदगुरु महाराजले नै बाटो बनाउन सबै लाग्नुपर्ने र आफूले ओलि लगायत सबै केन्द्रका नेतालाई भन्ने भनेका थिए । त्यसैले ब्याँस ऋषिको मुर्ति निर्माणको बजेट सडकमा रकमान्तरण गर्दा न ब्याँस ऋषि रिसाउछन न जगतगुरु महाराज नै । होइन भने दार्चुला तिङकर सडकको लागि गरिएका पहल प्रयास सबै राजनीतिक स्वार्थ हो सडक बनाउने चाहना भए सरकारलाई जसरी नि घुडा टेकाएर सडकमा बजेट थप गर्न किन नसकेको? भनेर दार्चुलाका जनताले प्रश्न गर्छन् ।

चुच्चे नक्साको भूगोल भएको जिल्लामाथि ओलीको अन्याय

देशका दुई ठुला र शक्तिशाली पार्टी मिलेर बनेको दुईतिहाईको सरकारमाथि र सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री ओलिमाथि नै चुच्चे नक्साको भुगोल जोड्ने र चिनको ताङलाकोट जोड्ने सडकमा आवस्यक बजेट विनियोजन गर्न कसैको प्रभाव पर्यो कि दबाब । कुनै शक्ति सामु झुक्दैन भन्ने ओलि कुनै अदृश्य शक्ति र सत्ता सामु झुके कि, होइन भने आफैले जारी गरेको चुच्चे नक्साको भूगोल जोड्ने राष्ट्रियता र सिमा सुरक्षाको दृस्ठिकोणले महत्त्वपुर्ण रहेको र आफैले सेनालाई निर्माणको जिम्मा दिएको सडकमा सेनाले मागेजति बजेट विनियोजन गर्न ओलि आफै किन चुके ? ओलिको क्याबिनेटमा मन्त्री समेत भएका एमाले पोलिटबियुरो सदस्य गणेश सिह ठगुन्नाको नेतृत्वको दार्चुला एमालेको डेलिगेसनले प्रधानमन्त्री ओलिलाई चालू आ.ब को २०८१/४/१४ गते भेटेर दार्चुला तिङकर सडकमा ४० करोड बजेट विनियोजन गर्दै सो सडकलाई प्रेमसिह धामी नामाकरण गर्न ज्ञापनपत्र बुझाए त्यसपछि २०८१/५/२ गते दिलेन्द्र प्रसाद बडु,गणेश ठगुन्ना र जमन धामीलगायत दार्चुलाका राजनीतिक दलका नेताहरुले सयुक्त रूपमा चालू आ.ब भित्रै २० करोड बजेट माग गर्दै भौतिक पुर्वाधार मन्त्रीलाई निवेदन दिए तर परिणाम शुन्य आयो ।

त्यस्तै २०८२ बैशाख महिनाको १३ गते उद्योगमन्त्री,१५ गते अर्थमन्त्री र २२ गते प्रधानमन्त्री ओलिलाई नै भेटेर तिङकर सडकमा ५० करोड बजेट लिखित मौखिक रूपमा मागे तर बजेटमा माग सम्बोधन नहुँदा कि ओलीले दार्चुलाका एमाले नेताहरुलाई टेरेन कि दिएको ज्ञापनपत्र पढेर हेरेन भन्ने लाग्यो ।दार्चुलाका राजनीतिक दल हरुले,वर्तमान निवर्तमान सांसदहरूले पटकपटक यथेष्ट बजेट विनियोजन गर्न संसद देखि सरकारसम्म र सडकदेखि सत्तासम्म आवाज उठाउदा समेत बजेटमा हाम्रो साझा एजेन्डाको रूपमा रहेको तिङकर सडकमा बजेट नपर्नु भनेको सिङ्गो दार्चुला जिल्ला,दार्चुलाका राजनीतिक दल,दार्चुलाका सांसद र सीमा क्षेत्रका नागरिक प्रतिको अन्याय र अपहेलना हो ।