चीनको “द ग्रेट वाल“ मानव इतिहासको एक अद्वितीय र प्रतिष्ठित संरचना हो, जुन पहाड, नदी, मरुभूमि र समथर भूमिहरू हुँदै लम्किएको छ । यो केवल पर्खाल मात्र नभई प्राचीन चीनको महत्वाकांक्षा, सहनशीलता र सैनिक रणनीतिको जीवित प्रमाण हो । देशको उत्तरदेखि मंगोलियासम्म फैलिएको यो संरचना हजारौँ वर्षमा बनेको पर्खालहरूको सञ्जाल हो, जसमा गढी, टावर, दरवार र प्राकृतिक अवरोधहरू छन् ।
यसको निर्माण ईसा पूर्व सातौं शताब्दीमा थालिएको हो, जब चिनियाँ राज्यहरूले आन्तरिक युद्ध र बाह्य आक्रमणबाट जोगिन सिमाना सुरक्षित गर्न पर्खाल बनाउन थाले । सुरुमा चू, क्वी, र वेई राज्यहरूले माटो र ढुंगाबाट बनाएका पर्खालहरू पछि अन्य राज्यहरूले पनि त्यसलाई अपनाए । ई.पू. २२१ मा चीन एकीकरणको थालनीसँगै सम्राट क्विन शिहुआंगले ती पर्खालहरूलाई जोड्न आदेश दिए । जनरल मेंग तिआनको नेतृत्वमा लाखौं मजदूरले करिब १० वर्षसम्म माटो र काठको पर्खाल बनाए, जसको लम्बाइ ५ हजार किलोमिटर थियो र यसलाई “१० हजार ली लामो पर्खाल” भनियो ।
पछि हान वंश (ई.पू. २०६–ई. २२०) ले यसलाई व्यापारिक मार्ग, विशेषगरी सिल्क रोडको सुरक्षा गर्न प्रयोग ग¥यो । त्यस समयमा टावर, किल्ला र गढीहरू थपिए । मिंग वंश (१३६८–१६४४) मा ईंट र ढुंगाबाट गरिएको व्यापक पुनर्निर्माणले आजको अद्धभुत संरचना ठडियो, जसको लम्बाइ लगभग ८ हजार ८५० किलोमिटर छ र यो लिआओनिंगदेखि गान्सूसम्म फैलिएको छ ।
मिंगकालीन पर्खाल प्रायः पहाडी भेग र रणनीतिक स्थानहरूमा बनाइएको छ, जसले यसलाई सौन्दर्य र सुरक्षाको सन्तुलन दिएको छ । करिब एक चौथाइ भाग प्राकृतिक अवरोधबाट बनेको छ भने बाँकी भाग पर्खाल, खाल्डो र पानीका खाडलहरूले बनेको छ । जुयोंग पास, जिजिंग पास र यानमेन पासजस्ता प्रमुख दरवारहरू रहेकाले यो व्यापार र सुरक्षा दुवै दृष्टिकोणले महत्वपूर्ण थिए ।
यद्यपि सैनिक उद्देश्यका लागि बनाइए पनि यो पर्खाल पछि राष्ट्रिय एकता, सामूहिक शक्ति र सांस्कृतिक गौरवको प्रतीक बन्यो । यसले व्यापार, कृषि विस्तार र जनसुरक्षामा भूमिका खेल्यो । तर, मंगोल आक्रमणकारीहरूले यसलाई पार गर्न सफल भए । युआन वंशको समयमा पर्खालको प्रयोग बन्द भयो र क्विंग वंशले शान्तिपूर्ण नीति लिएपछि यसको उपयोग झनै घट्यो । हाल यो पर्खाल आंशिक रुपमा भग्नावशेष भए पनि यसको गौरव अटल छ । सन् १९८७ मा यो यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भयो । विशेषगरी बेइजिंग नजिकका संरक्षित भागहरूले आज लाखौं पर्यटकलाई आकर्षित गरेको छ । “द ग्रेट वाल” चीनको प्राचीन सभ्यता, प्राविधिक ज्ञान र जनताको अटूट मेहनतको अमूल्य प्रतीक हो ।

ग्रेटवाल सम्बन्धी केही रोचक तथ्य :
-चीनको ग्रेटवालको जुयोंग्गुआन खण्डमा संस्कृत मन्त्रहरू नेपाल भाषाको रञ्जना लिपिसहित अन्य विभिन्न लिपिमा लेखिएको पाइन्छ, जसले नेपाल–चीनको पुरानो सांस्कृतिक सम्बन्ध देखाउँछ ।
-ग्रेटवाल हेर्न हरेक वर्ष १० लाखभन्दा बढी विदेशी पर्यटक चीन पुग्छन्, जसले चीनको पर्यटनमा ठूलो योगदान पु¥याईरहेको छ।
-ग्रेटवालमार्फत चीनले टिकट, सेवा, होटल र वस्तुहरू बिक्रीबाट सयौँ करोड युआन आम्दानी गर्छ ।
-ग्रेटवाल अन्तरिक्षबाट नांगो आँखाले देखिन्छ भन्ने मिथक वैज्ञानिक रूपमा भने गलत मानिन्छ ।











प्रतिक्रिया