जलवायु परिवर्तनको परिदृश्य र नेपालमा यसको प्रभाव

1.32k
Shares

जलवायु परिवर्तन आज विश्वव्यापीरूपमा सबैभन्दा ठूलो वातावरणीय चुनौतीको रूपमा देखा परेको छ । जसमा औद्योगिक क्रान्तिपछि वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा भएको तीव्र वृद्धिले पृथ्वीको औसत तापक्रम बढ्न थालेको छ । यसको प्रत्यक्ष असरस्वरूप विश्वभरि नै अप्रत्याशित मौसमी घटनाहरू जस्तै– अत्यधिक गर्मी, खडेरी, बाढी, हिमपहिरो, समुद्री सतहको वृद्धिजस्ता समस्या देखापरिरहेका छन् । नेपाल पनि जलवायु परिवर्तनको असरबाट अछूतो रहन सकेको छैन । विश्वको औसत तापक्रमभन्दा धेरै तीव्र गतिमा यहाँको तापक्रम बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् । यसको प्रत्यक्ष प्रभाव यहाँका हिमनदीहरूमा परेको छ । हिमालय क्षेत्रमा रहेका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । यसले गर्दा नदीहरूमा पानीको बहावमा परिवर्तन आएको छ । यसमा पनि वर्षाको ढाँचामा आएको परिवर्तनले खडेरी, बाढीजस्ता प्रकोपहरू बढाएको छ । यसले गर्दा अप्रत्याशित वर्षा र तापक्रममा भएको वृद्धिका कारण कृषि उत्पादनमा कमी आएको छ भने जैविक विविधता पनि जोखिममा परेको छ ।

नेपालको भूगोलको अधिकांश भाग पर्वतहरूले ढाकेको छ । यी पर्वतहरू केवल प्राकृतिक सुन्दरताका प्रतीक मात्र नभएर यहाँको पर्यावरण, अर्थतन्त्र र संस्कृतिसँग पनि गहिरो रूपमा जोडिएका छन् । जलवायु परिवर्तनको सबैभन्दा गम्भीर असर यिनै पर्वतहरूमा देखिएको छ, जुन मुख्य बुँदाहरु यहाँ उल्लेख गरिएको छ ।

हिमनदीहरूको तीव्र पग्लाइ : जलवायु परिवर्तनको कारण नेपालका हिमनदीहरू चिन्ताजनकरूपमा पग्लिरहेका छन् । यसले गर्दा हिमनदीहरूबाट उत्पन्न हुने नदीहरूमा पानीको मात्रामा शुरुमा वृद्धि र पछि कमी आउने खतरा बढेको छ । यसले सिंचाइ, पिउने पानी र जलविद्युत् उत्पादनमा गम्भीर असर पार्नेछ । हिमतालहरू बन्ने क्रम बढेको छ र ती फुट्ने जोखिम पनि बढेको छ । यसले गर्दा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याउन सक्छ ।


अत्यधिक मौसमी घटनाहरू : जलवायु परिवर्तनका कारण नेपालका पर्वतीय क्षेत्रहरूमा अत्यधिक मौसमी घटनाहरू जस्तै– भारी वर्षा, हिमपहिरो, भिरालो जमिनमा पहिरो, खडेरीको आवृत्ति र तीव्रता बढेको छ । यी घटनाले भौतिक पूर्वाधारहरूमा क्षति पु¥याउनुका साथै जनधनको क्षति पनि गराउँछन् । पर्वतीय भूभाग कमजोर हुने भएकाले पहिरोको जोखिम झनै बढेको छ ।
जैविक विविधतामा असर ः पर्वतीय क्षेत्रहरू जैविक विविधताको खानी मानिन्छन् । जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र वर्षाको ढाँचामा आएको परिवर्तनले यहाँ पाइने वनस्पति र जीवजन्तुको बासस्थानमा परिवर्तन आएको छ । धेरै प्रजातिहरू बसाइँ सर्ने क्रममा छन् भने केही लोप हुने खतरामा पुगेका छन् । यसले पर्वतीय पारिस्थितिक प्रणालीको सन्तुलनलाई नै खलबल्याएको छ ।

माटोको क्षयीकरण : जलवायु परिवर्तनका कारण वर्षाको तीव्रता बढ्दा पर्वतीय क्षेत्रमा माटोको क्षयीकरणको समस्या बढेको छ । फलतः देशमा भएका वन विनाश र कमजोर भूउपयोगका कारण यो समस्या झनै जटिल बनेको छ । देशमा रहेका उर्वर माटो बगेर जाँदा कृषि उत्पादनमा नकारात्मक असर पर्छ र खाद्य सुरक्षामा चुनौती थपिन्छ ।

पानीको स्रोतमा परिवर्तन : हिमनदी पग्लिँदा शुरुमा नदीहरूमा पानीको बहाव बढ्छ तर दीर्घकालमा पानीको स्रोत सुक्ने खतरा हुन्छ । जसले गर्दा वर्षाको अनियमितताले पनि पानीको उपलब्धतालाई अनिश्चित बनाउँछ । यसले पिउने पानी, सिंचाइ र अन्य दैनिक आवश्यकताका लागि पानीको अभाव सिर्जना गर्छ ।
नेपालका पर्वतीय क्षेत्रहरूमा जलवायु परिवर्तनले पारेको असरले यहाँ बसोबास गर्ने मानव समुदायको भविष्यमाथि गम्भीर खतरा निम्त्याएको छ । यसका केही प्रमुख जलवायु परिवर्तन र पर्वतीय क्षेत्रमा मानवताको भविष्यमाथि खतराका पक्षहरूलाई यहाँ उल्लेख गरिएको छ ।

जीविकोपार्जनमा असर : पर्वतीय क्षेत्रका अधिकांश मानिसहरूको मुख्य पेसा कृषि र पशुपालन हो । जलवायु परिवर्तनका कारण वर्षाको अनियमितता, खडेरी, बाढी, पहिरोजस्ता प्रकोपले कृषि उत्पादनमा कमी ल्याउँछ । चरन क्षेत्रको अभाव र पशुधनमा लाग्ने रोगहरू बढ्दा पशुपालन पनि प्रभावित हुन्छ । यसले यहाँका मानिसहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्छ र गरिबी बढ्छ ।

खाद्य असुरक्षा : जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक असरले पर्वतीय क्षेत्रमा खाद्य असुरक्षाको समस्यालाई बढाउँछ । परम्परागत खेती प्रणाली जलवायु परिवर्तनको सामना गर्न कमजोर साबित भइरहेको छ । खाद्यान्नको अभावले कुपोषण र भोकमरीको समस्या निम्त्याउन सक्छ ।
स्वास्थ्यमा असर : जलवायु परिवर्तनले प्रत्यक्ष र अप्रत्यक्षरूपमा मानव स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । तापक्रममा भएको वृद्धिले गर्मीसम्बन्धी रोगहरू बढ्छन् । पानीको स्रोतमा आएको परिवर्तन र प्रदूषणले पानीजन्य रोगहरूको जोखिम बढाउँछ । अप्रत्याशित मौसमी घटनाहरूले विस्थापित भएका मानिसहरूमा मानसिक स्वास्थ्य समस्याहरू देखिन सक्छन् ।

बसाइँ सराइ : जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा जीवनयापन कठिन बन्दै गएपछि मानिसहरू तराई र शहरी क्षेत्रतिर बसाइँ सर्ने क्रम बढ्न सक्छ । यसले पर्वतीय क्षेत्रमा जनसंख्या घट्ने र तराई तथा शहरी क्षेत्रमा जनसंख्याको चाप बढ्ने समस्या सिर्जना गर्छ । यसले सामाजिक र आर्थिक समस्याहरूलाई थप जटिल बनाउँछ ।

सामाजिक र सांस्कृतिक पहिचानमा खतरा : पर्वतीय क्षेत्रका मानिसहरूको जीवनशैली, संस्कृति र परम्परा प्रकृतिसँग गहिरोरूपमा जोडिएको हुन्छ । जलवायु परिवर्तनले प्राकृतिक स्रोतहरूमा असर पु¥याउँदा यी समुदायहरूको सामाजिक र सांस्कृतिक पहिचान पनि जोखिममा पर्छ । परम्परागत ज्ञान र सीप लोप हुने खतरा बढ्छ ।

भौतिक पूर्वाधारमा क्षति : जलवायु परिवर्तनका कारण आउने बाढी, पहिरो र अन्य प्रकोपहरूले सडक, पुल, घर र अन्य भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पु¥याउँछ । यसले विकासका प्रयासहरूलाई पछाडि धकेल्छ र पुनर्निर्माणमा ठूलो लगानी आवश्यक पर्छ ।

जलवायु परिवर्तनको सामना गर्न चाल्नुपर्ने कदम

नेपालका पर्वतहरू र यहाँको मानव समुदायको भविष्य सुरक्षित राख्न जलवायु परिवर्तनको सामना गर्न तत्काल र प्रभावकारी कदम चाल्न आवश्यक छ । यी कदमलाई दुई मुख्य भागमा विभाजन गर्न सकिन्छ– न्यूनीकरण र अनुकूलन ।
न्यूनीकरण भन्नाले वायुमण्डलमा हरितगृह ग्यासहरूको उत्सर्जनलाई कम गर्ने प्रयासहरू हुन् । नेपालको सन्दर्भमा यसका लागि यहाँ उल्लिखित निम्न कार्यहरू गर्न सकिन्छ ।

नवीकरणीय ऊर्जाको विकास गर्नुपछ । जलविद्युत् नेपालको लागि नवीकरणीय ऊर्जाको प्रमुख स्रोत हो । यसको विकासलाई थप प्राथमिकता दिनुपर्छ । सौर्य ऊर्जा, वायु ऊर्जा र बायो ग्यासजस्ता अन्य नवीकरणीय ऊर्जाका स्रोतहरूको पनि पहिचान र उपयोग गर्नुपर्छ । त्यस्तै वन संरक्षण र वृक्षरोपण गर्नुपर्छ । वनजंगल कार्बन सोस्ने महत्वपूर्ण माध्यम हो । वन विनाशलाई रोक्नुपर्छ र व्यापकरूपमा वृक्षरोपण कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्छ । दिगो यातायात प्रणाली पनि उत्तिकै जरुरी छ । सार्वजनिक यातायातको विकास र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्नुपर्छ ।

यसै गरी ऊर्जा दक्षता आवश्यक छ । घर, उद्योग र यातायात क्षेत्रमा ऊर्जाको खपतलाई कम गर्ने उपायहरू अवलम्बन गर्नुपर्छ । ऊर्जा बचत गर्ने प्रविधि र अभ्यासहरूलाई प्रवद्र्धन गर्नुपर्छ । त्यस्तै अन्तर्राष्ट्रिय सहयोग हुनुपर्छ । जलवायु परिवर्तन एक विश्वव्यापी समस्या भएकोले नेपालले अन्तर्राष्ट्रिय स्तरमा हरितगृह ग्यास उत्सर्जन कम गर्ने प्रयासहरूमा सक्रिय रूपमा सहभागी हुनुपर्छ र विकसित देशहरूबाट आवश्यक वित्तीय र प्राविधिक सहयोग जुटाउनुपर्छ ।
अर्को अनुकूलनको कुरा गरौं । अनुकूलन भन्नाले जलवायु परिवर्तनका अपरिहार्य असरहरूसँग जुध्न सक्ने क्षमता विकास गर्नु हो । नेपालको पर्वतीय क्षेत्रको लागि अनुकूलनका केही महत्वपूर्ण उपायहरू यहाँ उल्लेख गर्न चाहन्छु ।

दिगो कृषि प्रणाली हुनुपर्छ । जलवायु अनुकूल कृषि प्रविधिहरू जस्तै– खडेरी प्रतिरोधी बालीको विकास, सिंचाइ प्रणालीको सुधार, जैविक मलको प्रयोग र एकीकृत बाली व्यवस्थापनलाई प्रोत्साहन गर्नुपर्छ । त्यस्तै पानीको स्रोतको व्यवस्थापन हुनुपर्छ । पानीको बचत गर्ने प्रविधिहरूको प्रयोग, वर्षाको पानी संकलन, भूमिगत पानीको संरक्षण र बहुउपयोगी पानी व्यवस्थापन प्रणालीको विकास गर्नुपर्छ । प्राकृतिक प्रकोपको पूर्वतयारी पनि उत्तिकै जरुरी छ । बाढी, पहिरो, हिमपहिरोजस्ता प्रकोपहरूको जोखिम पहिचान गर्ने प्रणालीको विकास, पूर्वचेतावनी प्रणालीको स्थापना र समुदाय स्तरमा विपद् व्यवस्थापन क्षमताको विकास गर्नुपर्छ ।

यसै गरी जैविक विविधताको संरक्षण हुनुपर्छ । जलवायु परिवर्तनले जोखिममा पारेका वनस्पति र जीवजन्तुको संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । बासस्थान संरक्षण र पुनस्र्थापनालाई प्राथमिकता दिनुपर्छ । यता स्वास्थ्य सेवाको सुदृढीकरण हुनुपर्छ । जलवायु परिवर्तनका कारण बढ्ने स्वास्थ्य समस्याको सामना गर्न स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउनुपर्छ । रोगहरूको निगरानी र नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्छ । त्यस्तै समुदायमा आधारित अनुकूलनतिर ध्यान दिनुपर्छ । स्थानीय समुदायलाई जलवायु परिवर्तनका असरहरू र अनुकूलनका उपायहरूबारे जानकारी गराउनुपर्छ । उनीहरूको सक्रिय सहभागितामा अनुकूलनका योजनाहरू तर्जुमा र कार्यान्वयन गर्नुपर्छ ।

त्यस्तै पूर्वाधारको अनुकूलनतर्फ पनि ध्यान दिनुपर्छ । सडक, पुल र अन्य भौतिक पूर्वाधारहरूलाई जलवायु परिवर्तनका असरहरू थेग्न सक्ने गरी निर्माण र सुधार गर्नुपर्छ । भूकम्पीय जोखिमलाई पनि ध्यानमा राख्नुपर्छ । ज्ञान र प्रविधिको उपयोग हुनुपर्छ । जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्नुपर्छ र प्राप्त ज्ञान तथा प्रविधिको उपयोग अनुकूलनका प्रयासहरू गर्नुपर्छ । स्थानीय ज्ञान र परम्परागत सीपलाई पनि महत्व दिनुपर्छ ।

निष्कर्षमा भन्नुपर्दा नेपालको जलवायु परिवर्तन, विशेष गरी यसले पर्वतीय क्षेत्रमा पारेको गम्भीर असरले यहाँको प्रकृति र मानवताको भविष्यमाथि ठूलो चुनौती खडा गरेको छ । हिउँको तीव्र पग्लाइ, अप्रत्याशित मौसमी घटना, जैविक विविधतामा ह्रास र पानीको स्रोतमा आएको परिवर्तनले पर्वतीय पर्यावरणलाई कमजोर बनाएको छ । यसको प्रत्यक्ष प्रभाव यहाँका मानिसहरूको जीविकोपार्जन, खाद्य सुरक्षा, स्वास्थ्य र सामाजिक जीवनमा परेको छ । यस जटिल परिस्थितिको सामना गर्न नेपालले न्यूनीकरण र अनुकूलन दुवै पक्षमा जोड दिनुपर्छ । नवीकरणीय ऊर्जाको विकास, वन संरक्षण, दिगो यातायात, ऊर्जा दक्षताजस्ता न्यूनीकरणका प्रयासहरूलाई तीव्रता दिनुपर्छ ।

त्यस्तै, दिगो कृषि प्रणाली, पानीको स्रोतको व्यवस्थापन, प्राकृतिक प्रकोपको पूर्वतयारी, जैविक विविधताको संरक्षण, समुदायमा आधारित अनुकूलनजस्ता उपायहरू अवलम्बन गरेर जलवायु परिवर्तनका अपरिहार्य असरहरूसँग जुध्न सक्ने क्षमता विकास गर्नुपर्छ । यस चुनौतीको सामना गर्न सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय सबैको सक्रिय सहभागिता र सहकार्य आवश्यक छ । समयमै प्रभावकारी कदम चाल्न सकेमा मात्र नेपालले आफ्नो अद्वितीय प्राकृतिक सम्पदा र यहाँ बसोबास गर्ने मानिसहरूको भविष्य सुरक्षित राख्न सक्नेछ । जलवायु परिवर्तनको यो संकटलाई अवसरमा बदल्दै दिगो विकासको मार्गमा अगाडि बढ्न नेपालले दृढ इच्छाशक्ति र समन्वित प्रयासको प्रदर्शन गर्नुपर्नेछ ।