बाबुबाजेको पालामा जेठो छोरा भएर जन्मनुको रौनक र चहलपहल अर्कै थियो । दाइभाइमध्ये जेठो भएर जन्मेको मा फूर्तिफार्ती, आदरसत्कार र सान बेग्लै हुन्थ्यो। घर थाम्ने लौरो भनी आमाबाबुबाट माया–ममता र स्वागत–सत्कार पनि निकै पाइन्थ्यो । आफूलाई पनि जेठो भई धरती टेक्न पाएकोमा गर्व र सानको अनुभूति हुन्थ्यो ।
यसै गरी काम विशेषमा पनि जेठोलाई डाक भन्दै ज्येष्ठताको अति कदर र सम्मान हुन्थ्यो । आफूभन्दा साना भाइ–बहिनीहरुले पनि जेठोको आदेश शिरोधार्य गर्थे। अनि समाजमा एक प्रकारको बाबुपछिको बाबु भन्ने कथा, किस्सा, कहानी पनि जोडिन पुग्थ्यो । सम्भवतः जेठो छोरा राजा हुने चलन र प्रथा यसैको सिको हुन सक्छ जस्तो लागेको छ ।
मेरो आफ्नो कुरा गर्दा पनि घरमा आमाबाबु बितिसकेपछि दिदी–बहिनीका साथै म (दाइ) र एक भाइ रहेकोमा दुवैको अंशवण्डा गरियो । पछि मेरा चारजना छोराहरुलाई पनि भागशान्ति अंशवण्डा गरियो ।
पहिलेदेखि नै जेठो छोराले घर–व्यवहार चलाउनुका साथै चाडबाडमा दिदी–बहिनी, आफन्तजन, नातागोता, इष्टमित्र बोलाई खानपिन गराउनुपर्ने रीतिथिति मूल्य–मान्यता, चलनचल्ती भएकोले जेठोको भागमा केही बढी सम्पत्ति दिने प्रचलन थियो । त्यसैले मैले पनि दिन खोजेँ । मैले जेठो छोरालाई थप रु. ४ लाख दिँदा जेठोले लिन स्वीकार गरेन । आखिर त्यो रकम मेरै अधिनमा थन्कियो । यो आजभन्दा करिब १६–१७ वर्षपहिलेको कुरा हो ।
एवं रीतले समय बित्दै गयो । केही वर्षअघि मेरी श्रीमती परलोक भएपछि मेरो आफ्नो जोश, जाँगर, शक्ति र क्षमता पनि क्षीण हुँदै हिँडडुलमा समेत सकस र अप्ठेरो हुँदै गयो । यस अवस्थामा सहयोग र सहायताका लागि जेठो छोरालाई गुहार्दा बल्ल रकम नलिएको पुरानो गाँठो फुस्कियो ।
‘यो सत्य युग होइन, कलियुग हो । बूढापाकाले भनेका सबै कुरा हवस् भनी अक्षरशः पालना गर्ने वा शिरोधार्य गर्ने जमाना यो होइन । सबैले स्वतन्त्र र स्वच्छन्द भई संसारमा घुमफिर तथा विचरण गर्न पाउनु न्यायोचित भएकोले गुठे, गुठीगाना, विवाह, व्रतबन्ध, भोजभतेर आदिमा बराबरी सहभागिता हुनुपर्छ । जेठोलाई मात्र बोझ लाद्नुभन्दा सबै छोराहरुलाई पालैपालो वा गोला प्रथा गरी भारी बिसाउँदा बढी–घटी, तल–माथि एवं विशेष भागको झन्झट, झमेलाबाट पनि मुक्ति पाइने हुँदा वर्तमान अवस्थामा यही नै उत्तम देखिन्छ र भविष्यमा अझ बढी सुधारको प्रयास हुनुपर्छ ।’ जेठो छोराले यी सुझाव व्यक्त गर्दा मेरो बोली बन्द भयो ।
अनि यसतर्फ जिज्ञासु हुँदै गर्दा नेपाली बृहत् शब्दकोशमा रहेको ‘जेठाक’ शब्दतर्फ आकर्षित भइयो । जेठाक शब्दले ‘अंशवण्डा गर्दा जेठोचाहिँ छोराले जेठो भएको नाताले पाउने अंशको विशेष भाग’ उल्लेख गरेको छ । त्यसमा पनि पुरानो, पौराणिक, प्राचीन चलन, प्रथा भन्ने शब्द नयाँ संस्करणमा थप्न पाए अझ बढी सार्थक होलाजस्तो देखिन्छ ।
वास्तवमा समय अति बलवान् छ । सत्य, त्रेता, द्वापर हुँदै कलि कालसम्म आइपुग्दा त यसको रूप, स्वरूप, अर्थ, बोलीवचन र भावनामा समेत निकै फेरफार, परिवर्तन, रुपान्तरण, परिमार्जन तथा परिस्कृत भएको महसुस भएको छ । जसको एक ज्वलन्त उदाहरण नेपालमा भएको सती प्रथा ‘लागू र निषेध’ रहेको छ ।
(लेखक वज्राचार्य पद्मोदय हाइस्कुल, काठमाडौंका पूर्वशिक्षक हुनुहुन्छ ।)











प्रतिक्रिया