अभावैअभावमा मुस्कुराउँछ लाङटाङ राष्ट्रिय निकुञ्ज

सेवा होइन सास्ती भोग्दै होटल व्यवसायी

2.44k
Shares

रसुवा।

काठमाडौंबाट नजिकैको मनमोहक पदमार्ग लाङटाङ ट्रेक पर्यटकका लागि स्वर्गजस्तै देखिए पनि भित्र पुगेपछि यथार्थ विल्कुल विपरीत देखिन्छ । जीर्ण होटल, पूर्वाधारको चरम अभाव, सुरक्षाको कमजोरी र सरकारी निकायको उपेक्षाले गर्दा यो क्षेत्र अहिले पर्यटकमात्र होइन, स्थानीयवासी र व्यवसायीका लागि समेत पीडाको स्थल बनेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जम्मा ५२ वटा होटलमात्रै छन्, तीमध्ये धेरैजसो जीर्ण अवस्थामा छन् । सिजनको बेला होटलको अभावले गर्दा विदेशी पर्यटकहरू गोठ, भान्सा र घोडा तबेलामा सुत्न बाध्य छन् । स्थानीय व्यवसायी निमा तामाङ भन्नुहुन्छ– ‘राजस्व असुल्न आउने सरकार, सेवा दिन आउँदैन ।’

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने यो पदमार्गभित्र जम्मा ५२ वटा होटलमात्रै सञ्चालनमा छन् । तीमध्ये धेरैजसो लामा होटल क्षेत्रका होटलहरू जीर्ण अवस्थामा छन् । लामो समयदेखि मर्मत नहुँदा कुनै बेला पनि दुर्घटना हुन सक्ने खतरा बढेको छ । पर्यटन सिजनमा ती होटलहरूले पर्यटकको चाप थेग्न नसक्ने हुँदा पर्यटकहरू भान्सा, ढोकामुनि र यहाँसम्म कि गोठ वा घोडा तबेलामा समेत रात बिताउन बाध्य छन् ।

गाउँ, नगरसभाबाट धेरै संख्यामा स–साना टुक्रे योजना पारित हुने, पारित योजनाहरू कार्यान्वयन नगरी योजनाको रकम अन्य शीर्षकमा गर्ने, अनुत्पादक र वितरणमुखी कार्यक्रममा बढी खर्च हुने, खरिद प्रक्रिया कानुनअनुसार नहुने, दिगो योजना नबनाउने समस्याहरू रहेको, जसले गर्दा सेवा प्रवाह सुधार हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

वास्तवमै, निकुञ्ज कार्यालयले प्रत्येक होटल व्यवसायीबाट वार्षिक रूपमा झन्डै तीन लाख रुपियाँ राजस्व लिने गर्छ । यस्तै, निकुञ्ज प्रवेश शुल्कका रूपमा नेपाली नागरिकबाट १ सय रुपियाँ, सार्क मुलुकका नागरिकबाट १ हजार ५ सय रुपियाँ र अन्य विदेशी पर्यटकबाट १ सय अमेरिकी डलर लिने गरिएको छ । यति ठूलो राजस्व उठाएर पनि यस क्षेत्रको विकासमा भने राज्यले चासो नदेखाउनु लज्जाको विषय भएको स्थानीयहरूले गुनासो गर्ने गरेका छन् ।

व्यवसायीहरूको आरोप छ कि लामा होटल क्षेत्रमा संरचना निर्माणका लागि दश वर्षअघि निकुञ्ज प्रशासनले टेन्डर प्रक्रियामार्फत काम गरिने आश्वासन दिएको थियो । तर, अहिलेसम्म कुनै काम अघि बढ्न सकेको छैन । व्यवसायी लामा भन्नुहुन्छ– ‘हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि केवल आश्वासन मात्र पाइरहेका छौं ।’

होटल व्यवसायी निमा तामाङ भन्नुहुन्छ– ‘हामी त सरकारको दुश्मनजस्तै भएका छौं । उनीहरू हामीबाट ३ लाख राजस्व लिन्छन् तर हाम्रो सुरक्षाका लागि, होटल मर्मतका लागि, पर्यटकको व्यवस्थापनका लागि एक रुपियाँ पनि खर्च गर्दैनन् ।’

उहाँको भनाइमा, लामा होटल क्षेत्रमा विगत दश वर्षदेखि मर्मतको नाममा आश्वासन दिइएको छ तर कुनै ठोस काम भएको छैन। निकुञ्ज प्रशासनको काम भनेको पैसा असुल गर्नेमात्रै हो ।

पर्यटन व्यवसायी पेम्बा तामाङको भनाइ अझै कडा छ– ‘हामीले त यहाँ शासन होइन, शोषण भोगिरहेका छौं । फोहोर व्यवस्थापन छैन, बाटो मर्मत छैन, पर्यटकसँग लाज लाग्छ । निकुञ्जले सेवा होइन, सास्ती दिनमात्र जानेको छ ।’

लाङटाङको सुरक्षाप्रति पनि स्थानीयको आक्रोश चुलिएको छ । स्थानीय उर्जेङ तामाङ भन्नुहुन्छ– ‘प्रहरी चौकी त छ तर प्रहरीले काम गर्दैन, सेनाको क्याम्प छ तर उनीहरू त हराएका छन् । घटना भयो भने हामी आफैँ काँधमा बोकेर पर्यटक झार्नुपर्ने अवस्था छ ।’

लाङटाङ पदमार्गमा पर्यटन फस्टाउने पूर्ण सम्भावना छ । तर, आजको वास्तविकता भने पर्यटन होइन, उपेक्षा, अभाव र पीडाको चित्र बनेको छ । निकुञ्ज प्रशासनले यदि समयमै स्थानीय र व्यवसायीको आवाज सुनेन भने यो क्षेत्रले पर्यटक गुमाउँदै जानेमात्र होइन, सरकारप्रतिको विश्वास पनि गुमाउने निश्चित देखिन्छ ।


सुविधा सम्पन्न पूर्वाधार र व्यवस्थित व्यवस्थापन भए लाङटाङ पदमार्गमा पर्यटकको संख्या दोब्बर बढ्न सक्ने प्रस्ट देखिन्छ । तर, वर्तमान स्थितिमा भने पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन भने सकेको देखिँदैन । पर्यटकमैत्री नीति, सुदृढ पूर्वाधार र प्रभावकारी व्यवस्थापन नभएसम्म लाङटाङजस्ता क्षेत्रको सम्भावना कागजमै सीमित रहने देखिन्छ ।