बातचितमा कथा गाँस्ने चलन नेपालमा पुरानै हो । कथाले सर्वसामान्यलाई पनि आपूmले बुझाउन चाहेका कुरा छर्लंग पारेर बुझाउन सजिलो पार्छ । कुरामा रोचकता पनि थप्छ । प्रसंग पञ्चायतकालीन हो । हाम्रा गाउँ–क्षेत्रबाट कुनै पटक निर्वाचित एक राष्ट्रिय पञ्चायत सदस्य कुरा गर्न निक्कै सिपालु थिए ।
यसै त राजनीति गर्नेहरु कुरा गर्न सिपालु नै हुन्छन् । उनी विशेष सिपालु थिए । कुरामा आकाश–पाताल जोड्न सक्थे । उनी जहिले पनि कुनै न कुनै कथा गाँसेर कुरा गर्थे । भाषण गर्दा पनि उनी कुनै न कुनै कथा गाँस्थे । कथा दन्त्यकथा, लोककथा पाराका हुन्थे । एकपटक एउटा खास प्रसंगमा उनले भनेको कथा यस्तो थियो– ‘म पैसा कमाएर मात्र फर्कन्छु भन्दै रामे शहर पस्यो । हुर्केको छोरो शहर पसेपछि घरमा बुहारी आउली, नातिनातिनासँग बसौंला, खेलौँला भन्ने बूढाबूढीको आशा त अब मोगलान नै पस्यो ।
घरमा बूढाबूढी मात्र भए, सधैँ टामाटुमी, सुनसान । थुम्कामुनि खोरियामा घर । गाउँ पनि नजिक थिएन । खेती गर्न सके वर्षदिनलाई पुग्ने अनाज फल्ने खेतबारी थियो । बूढाबूढी मिलेर काम गर्थे । मनग्गे थिएन र पनि गुजारा राम्रै चलेको थियो ।
छोरा हुँदा आमालाई मीठोमसिनो पकाउन मन लाग्थ्यो । बूढा पनि मक्ख परेर खान्थे । छोरा हिँडेपछि मीठो पकाउने जाँगर मर्दै गयो । बूढीले पकाएको बूढालाई स्वाद लाग्न छोड्यो । आपूm खाना बनाऊँ त बूढासँग ढंग थिएन । दिनहरु बित्दै गए । बूढालाई अब बूढी देख्दै झोक चल्न थाल्यो । आपसमा सरसल्लाह हराउँदै गयो । ठास्सठुस्स बढ्यो । बूढो मापाको थियो । बूढी पनि कम्ताकी थिइन । झगडा परी नै रहन्थ्यो । जति जे भए पनि बूढी पचाउन सक्थी । बूढो सहनै सक्दैनथ्यो ।
एकदिन साँझ बूढाले भन्यो, ‘तँ बूढीले मलाई राम्रो खाना दिइनस् । म अब देउतासँग नयाँ बूढी माग्न तपस्या गर्छु । हिमालतिर उक्लन्छु ।’ ‘ल जाऊ । म पनि हेरौँला, तिमी हिमाल उक्लेको । नयाँ बूढी ल्याएको पनि हेरौँला । अनुहार हेर्दा उराठ लाग्दो भइसक्यो । नयाँ बूढी ! कसले पत्याउँछ तिमीलाई ?’ बूढीका कुराले बूढो धेरै नै उत्तेजित भयो र तपस्या गर्न कुनै एउटा ओढारतिर लाग्यो । बूढो तपस्या गर्दै थियो । त्यसै बाटो महादेवसँग गोसाइँकुण्डतिर जाँदा पार्वतीले देखिन् । दया लाग्यो । भनिन्, ‘यसमाथि कृपादृष्टि दिनुस् न । बुढेसकालमा बिचरो तल्लीन भएर तपस्या गरिरहेको छ । यसलाई वरदान दिनुस् ।’
महादेवले मुसुक्क हाँस्दै पार्वतीसित भने, ‘यससँग थाप्ने भाँडो पनि छैन, राख्ने भाँडो पनि छैन । बुद्धि पनि छैन । धैर्य पनि छैन । पोखिन्छ, खेरो जान्छ भन्ने जान्दाजान्दै वरदान किन दिने ?’ महादेवले जे भने पनि पार्वतीले ढिपी छोडिनन् । ‘ठीक छ तिमी जिद्दी गछ्र्यौ भने म वरदान दिन्छु’ भन्दै महादेव बूढाका अगाडि गए । पार्वती पनि सँगै गइन् । महादेले सोधे, ‘भन तपस्वी, तिमीलाई के चाहियो ?’ के भनुँ के भनुँ भएर हतारिँदै र अकमकाउँदै बूढाले भन्यो, ‘मलाई मनको इच्छा पूरा हुने वरदान चाहियो ! वरदान !!’
‘ठीक छ तिमीलाई वरदान चाहियो । म वरदान दिन्छु । तिमीले बोलेका कुरा पूरा हुने वरदान दिन्छु । एकपटक होइन, दुईपटक होइन, तीनपटकसम्म तिमीले जे बोल्छौ, जे माग्छौ, त्यो पूरा हुन्छ । तिम्रो बोलीमा तिमीले चाहेको कुरा मागेर पाउन सक्ने शक्ति आउँछ । तीनपटक मागेपछि त्यो शक्ति सकिन्छ । हुन्छ ?’
‘हुन्छ, किन नहुनु ?’ बूढो खुशीले गद्गद् भयो । शिव–पार्वती आफ्नो बाटो लागे । बूढो घरतिर लाग्यो । उडेर घर पुग्यो कि हिँडेरै पुग्यो, बूढाले थाहा पाएन । घर पुग्दा बूढी पिँढीमा बसेर जाँतोमा मकै पिँधिरहेकी थिई । ‘ए म नभए पनि मकै पिँधी–पिँधी रोटी त खाँदिरहिछ त ! म घरमा हुनु र नहुनु बराबर !’ बूढालाई झननन रिस उठ्यो । पिँढी उक्लँदै हात उठाएर भन्यो, ‘जा बूढी !’
बूढाले यति भनेको मात्र थियो, हातो समातेको जाँतो र पिँधेको पीठोसितै बूढी अलप भई । अब पिँढी खाली, आँगन खाली, पूरै घर संसार खाली । बूढालाई बूढी अलप भएर ठाउँ खाली हुनुको मजा आयो । बूढो एक्लै हाँस्यो । कति दिनदेखि पेटभरि खान पाएको थिएन । पेटभित्र भोकले आगो बलेको थियो । घरभित्र चुल्हो बलेको थिएन । चुल्हो बाल्न बूढाले नयाँ बूढीको आवश्यकता देख्यो । मनमनै दंग पर्दै सोच्यो, ‘अभैm दुईवटा वरदान बाँकी छ, एउटाले नयाँ बूढी जुटाउँछु, बाँकी अर्को वरदानले मनमा भएजति सबै इच्छा पूरा गर्नुपर्ला ।’
बूढाले हात माथि उठाएर खुशीले मखमेल हुँदै भन्यो, ‘आ नयाँ–नयाँ बूढी !’ नयाँ–नयाँ भनेपछि बूढी जतिजना पनि हुन सक्थे, भए । बूढाका घरमा अनेकौँ बूढीहरु चुरा बजाउँदै आइपुगे । बूढीका बथान देखेर बूढो अचानक झस्क्यो । एउटी बूढीले बूढालाई अँगालो मार्दै भनी, ‘कटक्क भोक लाग्या छ, के खाने हो ?’ अर्कीले अगाडि उभिएर भनी, ‘गाग्रोमा पानी पनि रहेनछ, पँधेरो कति टाढा छ ?’ चोटाकोठा गरेर ओर्लंदैकी एउटी बूढीले जर्जराउँदै भनी, ‘यति सानो झुप्रो, हामी यतिका बूढीहरु कसरी अटाएर बस्ने ?’ अर्कीेले भनी, ‘भकारीमा धान त सकिन लाग्या छ, त्यति धानले कति दिन चल्छ ?’ अर्की बूढी उतर्सिंदै भनी, ‘म चामल कुट्न त सक्दिन है ! तिम्रो ढिकीको टाउकै ठूलो !’ पर आँगनमा ५–७ जना बूढीहरु बूढालाई आँखा तर्दै भनिरहेका थिए, ‘बूढो बहुलाएको रहेछ, सद्दे बूढो भए यति धेरै बूढी किन थुपाथ्र्यो । यसलाई ठीक पार्नुपर्छ ।’
धेरै बूढीहरु, धेरै कुरा । कुनै बूढी गाला चिमोट्ने, कुनै कपाल तान्ने, कुनै पिठ्यूँँमा ढ्यापढ्याप पार्ने, आधा घण्टामै हायलकायल भयो बूढो । यति धेरै बूढी कसरी सम्हाल्ने ? हेर्दाहेर्दै बूढो त नीलै भयो, आत्तियो । अत्यासमै हात उठाएर च्याँठिदै करायो, ‘जाओ नयाँ बूढीहरु ! आइज मेरो पुरानै बूढी !’ नयाँ बूढीहरु अलप भए । हातमा कुच्चो लिएर जाँतोवरिपरिको पीठो बढारिरहेकी पुरानी बूढी पुरानै रुपरंगमा पिँढीमा प्रकट भई । बूढी देखेर बूढाले थाप्लामा हात राखेर सुस्केरा छोड्दै आपैmँसँग भन्यो, ‘नयाँ बूढीहरु धपाउनु त ठिक्कै थियो, हतारमा मैले यो पुरानी बूढीलाई किन बोलाएँ हुँला ? म त फेरि रुझेको बिरालो ! त्यही घुमीफिरी रुम्जाटार ! यत्रो तपस्या गरेर तीन–तीनवटा वरदान पाएर पनि फेरि त्यही कचकचे बूढी ! धत्तेरिका !! मेरो बुद्धि !! बूढो इन्तु न चिन्तु पारामा आँगनमा उत्तानाटाङ ढल्यो ! बूढाको चाला देखेर बूढी खित्का छोडेर हाँसी ।’
कथा यत्ति हो । यो कथा आजको नेपालमा सान्दर्भिक छ कि छैन ? त्यो त थाहा भएन । तर पनि यो कथा नेपालकै हो । अतीतका नेपाली जनप्रतिनिधिले नै जनताबीच भनेको कथा हो । नेपालकै परम्परागत कथा हो । यसै त कति लोककथाहरु दृष्टान्त र व्यञ्जनामा सार्थक रहेका पाइन्छन् । नेपालीले नेपालकै अग्र्यानिक कथा भन्नु–सुन्नु रमाइलै कुरा होला कि भनेर पनि सम्झेकोे । कथाले कतै कुनै अलमलमा दिशाबोध पनि दिन्छ कि ! नयाँ युगमा पुराना कथाको कतै कुनै उपयोगिता नरहेर श्रोतालाई अलिकति मनोरञ्जन मात्र दिन सक्यो भने पनि ठूलो कुरा ! अतीत स्मारक चेतानाको उज्यालो दिन सक्यो भने त अझ कति–कति ठूलो कुरा ! लौ त सुन्नेलाई सुनको माला !











प्रतिक्रिया