कथा: लगनशील आदर्श नारी

1.22k
Shares

लामो समयको प्रतीक्षापछि कुलदीपको जन्म भएकोले उनका पिता नारायणबहादुर र माता चण्डेश्वरी देवी ज्यादै खुशी थिए । त्यसैले उनको नाम ‘कुलदीप’ भनी राखेका थिए ।

एक्लो सन्तान भएकोले उनको लालनपालन ज्यादै पुलपुल्याहटमा भयो । उनले कक्षा ८ पछि पढाइ छोडेर खेलकुदतिर लागे । उनले विभिन्न संस्थाहरुले गरेको खुल्ला खेलकुद प्रतियोगितामा भाग लिई धेरै पदक, कप तथा प्रमाणपत्रहरु हासिल गरेका थिए । उनी मिलनसार एवं परिश्रमी थिए । एकदिन एउटा सार्वजनिक विद्यालयले खेलकुद शिक्षकको आवश्यक भएको भने विज्ञापन दिएको थाहा पाएर उनी उक्त स्कुल गए । कक्षा ८ मात्र पास भए पनि उनले खेलकुद शिक्षक पद प्राप्त गरे ।

कुलदीपको टोल तथा छिमेकमा सबैसँग सुमधुर सम्बन्ध थियो । सबैसँग बोलचाल गर्न रुचाउँथे । उनीहरूमध्ये उनकै चोकको एउटा कुनामा घर भएकी रत्नेश्वरी पनि थिइन् । रत्नेश्वरी उमेरमा ऊभन्दा ४–५ वर्षले कान्छी थिइन् । उनीहरु दुईको बीच पारस्परिक मैत्रीभाव थियो । रत्नेश्वरीको हरेक सानो–ठूलो काम गर्न कुलदीप सदैव सहयोग गर्दथे । उनी ज्यादै परिश्रमी एवं आमाबाबुका आज्ञाकारी छोरी थिइन् ।

आमाबाबुले आफूलाई कसरी लालनपालन गरी हुर्काए भन्ने ज्ञान उनमा थियो । उनी पठनपाठनमा रुचि राख्थिन् । आफ्नै टोलमा रहेको माध्यमिक विद्यालयमा अध्ययन गरी एस.एल.सी. परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण भइन् । उच्च शिक्षा लिने उनको धोको भए तापनि घरको आर्थिक स्थिति त्यति राम्रो नभएको कारण कुनै क्याम्पसमा भर्ती गरिनन् । उनी नेपाल सरकारद्वारा सञ्चालित अ.न.मि. तालिममा सहभागी भइन् । करिब दुई वर्षको अथक मेहनतपश्चात् रत्नेश्वरी अ.न.मि. परीक्षामा उत्तीर्ण भइन् । सो तालिममा उत्तीर्ण परीक्षार्थीहरु सबैको पदस्थापना विभिन्न अस्पतालहरुमा भयो ।

रत्नेश्वरीको पनि आफ्नै बसोबास गरिरहेको शहरकै अस्पतालमा भयो । अब कुलदीप र रत्नेश्वरीको भेट सधैँ हुन थाल्यो । बिहानको खाना खाई सँगै निस्किन थाले । कुलदीप रत्नेश्वरीलाई अस्पतालको मूल ढोकासम्म पु¥याई आफू कार्यरत विद्यालय जान्थे । दुवैको घरमा आमाबाबुले उनीहरुलाई अब त काम पनि पाइसक्यो, विवाह गर्ने कहिले भनिरहन्थे । कुलदीपले सिर्फ हुन्छ, आमाले भनेको समयमा गर्छु भनी जवाफ फर्काउँथे ।

यता रत्नेश्वरीले विवाहको लागि धेरै खर्च चाहिन्छ, बुबाको तलब त घर खर्च गर्न नै ठीक छ, त्यसैले सोको जोहो गरेपछि गर्ने भनी जवाफ दिन्थिन् । उनी ज्यादै मितव्ययी थिइन् । तडकभडक भई हिँड्ने र नयाँ–नयाँ डिजाइनको लुगामा सजिने उनको शोख थिएन । उनी सफा, नच्यातेको, आफूलाई घाम, पानी, चिसो, हावाबाट सुरक्षा गर्ने सुकिलो लुगा लगाउन रुचाउँथिन् । उनी आफ्नो तलबको दुई तिहाइ बचत गर्ने गर्थिन् ।

बाँकी पैसा आफूलाई चाहिने सामानहरू तथा अत्यावश्यक कुरामा खर्च गर्थिन् । सो बचतको केही पैसा ६–६ महिनामा झिकेर सुन किन्ने गर्थिन् । यसरी उनले नर्सको जागिरमा आबद्ध भएको चार वर्ष पूरा गरिन् । उनीहरूको समवयष्कहरु सबैजसो २–३ जना सन्तानका आमाबाबु भइसकेका थिए । त्यसैले उनीहरूले पनि आफ्ना अभिभावकहरूको वचन मान्ने निधो गरे । बाबुआमाको आग्रहमा कुलदीपले रत्नेश्वरीसँग विवाह गर्ने आफ्नो इच्छा व्यक्त गरे । त्यसैले दुवैतर्फका आमाबुबाहरूको आपसी भेटघाट गरिदिने निधो गरे ।

उनीहरूका बन्धुबान्धवहरू तथा साथीहरूको उपस्थितिमा एउटा मन्दिमा विवाह बन्धनमा बाँधिए । एउटै चोक, एउटै टोल भए तापनि अब रत्नेश्वरीको स्थायी निवास फेरियो । उनी कुलदीपको घरको कुलवधू भइन् । उनको दिनचर्या फेरियो । कुलदीपको घरको काम गर्नुपर्ने भयो । हुन त उनको घरमा सासू, ससुरा, आफ्नो लोग्ने र उनीसमेत गरी चारजना मात्र थिए । त्यसमा पनि उनकी सासू चण्डेश्वरी कामकाज गर्न सिपालु, सासू हुँ भनी बडप्पन नदेखाउने । त्यसैले उनको अस्पतालको कामकाजमा केही असर गरेन ।

यसरी रमाइलोसँग घरजम गरेको केही समयमा उनीहरू एक छोरा र एक छोरीको अभिभावक बने । जेठो नातिलाई हजुरबा र हजुरआमाले वंशदीप भनी नामकरण गरे भने नातिनीलाई दीपिका । हजुरबा र हजुरआमाको दिनचर्या फेरियो । ती दुई नाति र नातिनाको रेखदेख उनीहरूले गर्ने गरेको हुँदा रत्नेश्वरीको अस्पतालको काममा व्यवधान भएन । छोराछोरी ठूलो भएपछि विद्यालयमा भर्ती गरिदिए । रत्नेश्वरी ज्यादै मेहनती मात्र हैन, दूरदर्शी पनि थिइन् । उनले आफ्नो फुर्सदमा अनावश्यक कामकुरोमा नबिताई पढ्ने निधो गरिन् ।

कुलदीपले आफू कार्यरत विद्यालयका शिक्षक साथीहरूको आई.ए. स्तरका पाठ्यपुस्तकहरू तथा प्रश्नपत्रहरू ल्याइदिए । रत्नेश्वरीले मन लगाएर पढिन् । अस्पताल पनि जाने, घरायसी कामकाज पनि गर्ने अनि फुर्सदमा हाँसखेल एवं गफसफ नगरी पढ्ने गरेर व्यस्त जीवन व्यतीत गर्न थालिन् । त्रिभुवन विश्वविद्यालयले आफ्नो नियमित वार्षिक क्रियाकलापअन्तर्गत लिएको परीक्षामा सहभागी भइन् । केही समयको अन्तरालमा निकालिएको परीक्षाफलमा उनी द्वितीय श्रेणीमा उत्तीर्ण भइन् । यसरी उनले चुपचाप निष्क्रिय जीवन बिताउनुको सट्टा बी.ए.को अध्ययनमा दिनचर्या बिताउन थालिन् । यतिन्जेल उनका छोरा र छोरी पनि क्रमशः कक्षा १० र ८ मा पुगिसकेका थिए ।

उनीहरु पनि आफ्नो आमाझैँ पठनपाठनमा दिलो ज्यानले लागिपर्ने भई निस्के । यसरी समयचक्र घुम्दै गयो । छोराछोरी पनि क्याम्पसमा पढ्ने भइसके । रत्नेश्वरीले पनि घरमै बसी अथक मेहनतका साथ पढेर स्नातक परीक्षा पनि उत्तीर्ण हुन सफल भइन् । उनको कामप्रतिको लगनशीलता, सहयोगी साथीभाइ, दिदीबहिनीहरूप्रति माया–ममता तथा उच्च पदस्थ कर्मचारीहरूप्रति आदर गर्ने स्वभावले गर्दा उनीसँग सबै प्रसन्न रहन्थे । त्यसैले उनलाई स्वास्थ्य सेवा दिवस तथा आफ्नै अस्पतालको वार्षिक उत्सवमा कदरपत्र, आदरपत्र इत्यादिको ओइरो लाग्ने गर्दथ्यो ।

हरकाम सफल हुँदै गएको हुँदा उनको ध्यान आफ्नो पुरानो घरतर्फ गयो । उनीहरूको घरमा उनीहरुलाई पुग्दो कोठाहरू भए पनि कुनै–कुनै कोठाहरूमा पर्याप्त प्रकाश नछिर्ने समस्या थियो । पर्याप्त घाम आउने, सानो बगैंचायुक्त खुल्ला ठाउँ भएको घरको चाहना उनीहरूलाई भयो । रत्नेश्वरीले यस विषयमा घर सरसल्लाह गरिन् । त्यसपछि बैंकमा भएको बचत र आफूले बेलाबेलामा किनिराखेको सुनका टुक्राहरु बेची आएको पैसाले ८ आनाजति घडेरी किन्न सफल भइन् । अरु बाँकी पैसा पुनः बैंकमै दाखिला गरिन् । उक्त घडेरीलाई पर्खाल लगाई सुरक्षित गरिन् ।

‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात’ भनेझैँ छोराछोरी दुवै होनहार भई निस्के । यसै बीच रत्नेश्वरीलाई अस्ट्रेलियामा नर्सिङसम्बन्धी उच्च तहको प्राविधिक तालिमको लागि छनोट गरियो । उनी अन्य पाँचजना साथीहरूसहित दुई वर्षको लागि त्यसतर्फ रमाना भइन् । घर केही दिन शून्य नै लाग्यो सबैजनालाई । हुन त उनी घरमा भए पनि अन्य महिलाहरुजस्तो चाहिने, नचाहिने झर्काे लाग्ने गरी कुराकानी गरी बस्ने होइनन् । उनी चाहिने मात्र कुरा गर्थिन् । हजुरआमाले घरको हेरविचार गरिन् । खाना पकाउन, सरसफाइ गर्न र लुगा धुन एउटी महिलालाई घरमै बस्ने गरी रत्नेश्वरीले राखेर गएकी थिइन् । त्यसैले चण्डेश्वरीले केवल हेरविचार मात्र गरे पुग्थ्यो । कुलदीपले पनि आवश्यक सरसामान नजिकै पसलबाट घरमा आपूर्ति गर्ने व्यवस्था गरेका थिए ।

रत्नेश्वरीले अस्ट्रेलियाबाट प्रत्येक हप्ता राति–राति फोनमा कुरा गरी घरको एक–एक खबर लिने गरेकी थिइन् । त्यसैले सपरिवारको न्यास्रो मेटिन गएको थियो । रत्नेश्वरी तालिम सकाई स्वदेश फिर्दा छोराले स्नातक गरी कम्प्युटरसम्बन्धी विशेष कोर्स र छोरीले बी.कम. पास गरिसकेकी थिइन् । घरमा हाँसीखुशी रमाइलोपूर्वक दिन बितिरहेको थियो । रत्नेश्वरीले घरका सबैजनालाई अस्ट्रेलियाको चिनोको रूपमा बाक्लो ऊनीको स्वेटर तथा सासूआमालाई ऊनीको खास्टो पनि ल्याइदिएकी थिइन् ।


यसको केही समयपछि उनले आफूले तालिम लिँदा भत्ताको रुपमा दिएको रुपियाँबाट घर बनाउने योजना सुनाइन् । कुलदीपले चिनजान भएको ठेकेदारमार्फत घर तयार गराए । यसै बीच सासू र ससुरा पनि दुई वर्षको अन्तरालमा परलोक भइसकेका थिए । सासू र ससुराको परलोक गमनपछि रत्नेश्वरीलाई पुरानो घरमा बस्न मन लागेन । जता गए पनि सासू र ससुराको मात्र छवि देखिरहन्थिन् । आफ्ना सामानहरू एक–एक गरेर लगी नयाँ घरमा बस्न गए । पुरानो घरमा मर्मत गरी रंगरोगनसमेत गराई एक भरपर्दाे व्यक्तिलाई बहालमा दिए ।

कुलदीप पनि जागिरबाट अवकाश पाइसकेका थिए । रत्नेश्वरीको केवल ४–५ वर्ष मात्र जागिर बाँकी थियो । यसै बीच छोरा र छोरीलाई पनि वैवाहिक बन्धनमा बाँधिसकेका थिए । उनीहरुबाट बच्चाहरू पनि जन्मिसकेका थिए । यसरी कुलदीप र रत्नेश्वरीको सुखद पारिवारिक जीवन देखेर कोही–कोही ईष्र्या पनि गर्दथे भने प्रायजसोले उनीहरुलाई प्रशंसनीय मान्थे । रत्नेश्वरी अन्य महिलाजस्तो अरुको कुरा काटी घरघरै जाँदैनथिन् । कसैले आपत् परी गुहार मागेमा हरदम मद्दत गर्न तम्सिन्थिन् । कोही बिरामी परी खबर गरेमा त्यहाँ गएर औषधि उपचार पनि गरिदिन्थिन् ।

उनी अनावश्यक कुराकानी गर्न, अरुलाई दुःख दिन, लान्छना लगाउन, निन्दा–चर्चा गर्न रुचाउँदैनथिन् । त्यसैले उनी आफ्नै नातागोता अथवा छरछिमेकको घरमा काम परेमा अथवा बोलाएमा सक्दो सहयोग गर्थिन् । तर कुरा काट्नेहरू उनलाई घमण्डी तथा एकलकाटे भन्ने गर्दथे । वास्तविक कुरा गर्ने हो भने उनी एउटा आदर्श नारी हुन् । उनको अस्पताललगायत स्वास्थ्य सेवा विभागबाट बेलामौकामा उनले कदरपत्र तथा नगद पुरस्कार पनि धेरैपटक पाइसकेकी थिइन् । राष्ट्रका तर्फबाट पनि तक्मालगायत कदरपत्र पाएकी थिइन् । देशको लागि यस्तो कार्यशील, लगनशील नारीहरूको ठूलो खाँचो छ ।