नेपालमा पछिल्ला वर्षहरूमा एउटा गहिरो सामाजिक–आर्थिक परिवर्तन देखिएको छ । युवाहरूको तीव्र विदेश पलायन । शिक्षित, सीपयुक्त र उर्जाशील जनशक्ति देशभित्र उत्पादन र विकासमा लाग्नुपर्नेमा उनीहरू उच्च शिक्षा, रोजगारी वा बसाईसराईको लागि बिदेशिँदै गएका छन् । नेपाली समाजमा अब “असली सफलता” विदेशबाट कमाएर पठाउने रेमिट्यान्समा नापिन थालिएको छ । आर्थिक वर्ष २०२५ को पहिलो छ महिनामा ३९३,०६७ जना नेपाली युवाले विदेश रोजगारीको लागि प्रस्थान गरे, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४६% ले वृद्धि हो । यसले औसतमा प्रत्येक महिना ६५,५०० भन्दा बढी नेपाली श्रमिक विदेश जान्छन् भन्ने देखाउँछ ।
देशको सबैभन्दा उर्जाशील, उत्पादक र सिर्जनशील शक्ति युवा वर्ग हो । जब यही शक्ति पलायन हुन्छ, देशभित्र श्रम, सीप र नवप्रवर्तनको कमी हुन्छ । ‘ब्रेन ड्रेन’ का कारण देशको दीर्घकालीन विकासमा अवरोध आउँछ । अझ दुःखद पक्ष के छ भने विदेश जाने धेरै युवाहरूले आफ्नै क्षेत्रमा सम्मानजनक स्थान बनाउने सीप राख्छन् । तर, देशले भने तिनीहरूलाई प्लेटफर्म दिन सक्दैन । सन् २०२४ सम्ममा करिब ५० लाखभन्दा बढी नेपाली युवा विदेशमा विभिन्न कारणले बसिरहेका छन् । यो संख्या नेपालजस्तो सानो अर्थतन्त्र र सीमित जनसंख्या भएको मुलुकका लागि गम्भीर संकेत हो । प्रश्न उठ्छ, किन देश छोडिरहेका छन् त नेपाली युवावर्ग ।

रोजगारी र स्थायित्वको अभाव
नेपालमा शिक्षा आर्जन गरे पनि उपयुक्त रोजगारी पाउने सम्भावना अत्यन्त न्यून छ । लाखौं युवाहरू स्नातक वा स्नातकोत्तर उत्तीर्ण भएर बेरोजगार बसिरहेका छन् । सरकारी सेवामा अवसर सीमित छन् । प्रक्रिया ढिला र पारदर्शितामाथि पनि सधैं प्रश्न उठिरहन्छ । निजी क्षेत्रमा पनि स्थायित्वको ग्यारेन्टी छैन । कामको सुरक्षा, उचित तलब र प्रोत्साहनको अभावले युवाहरूलाई निराश बनाएको छ ।
सीपको अभाव
नेपालको शिक्षा प्रणाली अझै पनि व्यवहारिक सीपबाट टाढा रहेको छ । विश्वविद्यालय स्तरमा व्यावसायिक दक्षता दिने थोरै संस्थाहरू मात्र छन् । अर्कोतर्फ, विदेशको शिक्षा प्रणालीले विश्वव्यापी मान्यता, अनुशासन र सीपमुखी तालिम दिन्छ । जसले गर्दा धेरै विद्यार्थी विदेश गएर अध्ययन गर्न रुचाउँछन् ।
आर्थिक बाध्यता र पारिवारिक अपेक्षा
धेरै युवाहरू रोजगारी पाउनुको साथै आफ्नो परिवारको आर्थिक बोझ हल्का पार्न चाहन्छन् । मलेसिया, खाडी राष्ट्र, कोरिया लगायतका मुलुकहरूमा सस्तो श्रमको रूपमा गएका युवाहरूले आफ्नो श्रमको बदलामा थोरै तलबमा काम गरिरहेका छन् । तर, घर फर्किंदा उनीहरूलाई “कमाउने मान्छे” को संज्ञा दिइन्छ । यो सामाजिक मान्यता र पारिवारिक दवाबले पनि विदेसिनका लागि ठूलो भूमिका खेलिरहेको छ ।
व्यवस्था र नेतृत्वप्रतिको भरोसाको अभाव
राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, र अकर्मण्यता युवाहरूको देशप्रतिको आशा मर्ने मूल कारणहरू हुन् । परिवर्तनको नारा घन्काइए पनि कार्यान्वयन शून्य देखिएको छ । युवाहरू सोच्न थालेका छन्,“यो देशमा केही हुँदैन, बरु बाहिर गएर जीवन बनाऔं ।”

अझै ढिलो भएको छैन
स्वदेशमै रोजगारी सिर्जना गर्न युवामैत्री नीति आवश्यक छ । साना र मझौला उद्योग प्रोत्साहन, कृषि र प्रविधिमा नवप्रवर्तन र उद्यमशीलताको वातावरण विकास गरिनुपर्छ । सीप विकासमा सरकारी लगानी बढाउनु जरूरी छ । ताकि विदेश जान चाहने होइन, देशमै काम गर्ने वातावरण बनोस् । विदेश गएका दक्ष युवाहरूलाई स्वदेश फर्किन आकर्षित गर्ने योजना जस्तै कर छुट, लगानी सुरक्षाको ग्यारेन्टी आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा त देशले आफ्ना युवालाई मूल्य दिनुपर्छ, उनीहरूलाई ‘स्रोत’ होइन ‘साझेदार’ ठान्नुपर्छ ।











प्रतिक्रिया