विकृत सपनाको सुषुप्त आवाज बोकी दौडिएको छ ‘भेजिटेरियन’

29.8k
Shares

अनेक भाषा, धर्म, वर्ण र फरक भूगोललाई जोड्ने माध्यम भनेको साहित्य हो । संसारका कुनै पनि साहित्यकारले प्रकट गरेका अभिव्यञ्जना शैली फरक होला, तर सन्देशात्मक अर्थले हामीलाई एकै ठाउँ उभ्याउने गर्दछ ।

कोरियाली भाषामा लेखिएको ‘द भेजिटेरियन’ उपन्यासलाई डेबरा स्मिथले अङ्ग्रेजीमा र त्यसलाई प्रवीण अधिकारीले नेपालीमा अनुवाद गरेबाट पढेँ । दक्षिण कोरियाको ग्वाङ्जुमा जन्मेकी नोबल पुरस्कार विजेता लेखक हान काङ् हाल सोल इस्टिच्युट अफ द आर्ट्समा सिर्जनशील लेखन विषय पढाउँछिन् । योन्सेई विश्वविद्यालयबाट कोरियन साहित्य अध्ययन गरेकी हान काङ्ले साङ् लिटरेचर अवार्ड, टुडेज युथ आर्टिस्ट अवार्ड, म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार तथा ह्युमन एक्ट्सले म्यान्ह्ये लिटरेरी अवार्ड जितेका छन् ।

मानव जीवनले स्वतन्त्ररुपमा पाएको बोनस हो, सपना । सुन्दर या कुरूप जे देखे पनि विकृत सपनाले उपन्न गराएको सुषुप्त आवाज बोकेर दौडिएको छ हान काङ्को ‘भेजिटेरियन’ उपन्यास । जो परिवारभित्र एकजना सदस्य सानैदेखि धेरै नबोल्ने गम्भीर स्वभावको सन्तानलाई बुभ्mन नसक्दाको परिणामले पढ्नमा झन् हुटहुटी जगाउँछ । सामान्य परिवारको विषयवस्तुबाट उठान गरिएको उपन्यासभित्र दुब्ली पातली छोरीको विवाह हुन्छ ।

केही वर्षपछि मात्र सन्तानको योजनामा रहेका दाम्पत्य जीवनले गति लिइरहेकै बेला सुन्खुुट्टे ज्यानकी श्रीमती एक्कासी शाकाहारी भएपछि टोलाइरहने, उभिरहनेजस्ता अस्वाभाविक गतिविधि देखेर श्रीमान्ले सोध्छ, ‘के बहुलायौ कि के हो ?’ ढिलो चालमा मधुरो स्वरले भनी, ‘सपना देखेँ ।’ श्रीमतीको यही भनाइबाट कथावस्तुले रफ्तार लिँदै जान्छ । शुरुका दिनहरूमा मासुको पाककलामा पारङ्गत श्रीमतीमा आएको परिवर्तन देखेर श्रीमान् असमञ्जसमा परेको प्रसङ्गले पाठकलाई तान्दै लान्छ ।


खानपान नमिल्दा परिवारमा हल्का मनमुटावको बिरुवा मौलाउँदै जाँदा भान्साकोठा रित्तो र उजाड बन्दै जान्छ । श्रीमान्को अफिसमा स्टाफहरूको पार्टी हुँदा श्रीमतीले मासु खान ठाडै अस्वीकार गरेपछि उनीमाथि सबैको नजर पर्नु स्वाभाविकै थियो । नखानुको कारण ‘स्वास्थ्य, धर्मिक या अरू कुनै कारण ?’ श्रीमती नबोलेपछि उनले सपना देखेकी कुरालाई श्रीमान्ले सन्तुलन मिलाए उत्तर दिए पनि स्टाफहरूको अगाडि बेइज्जतको महसुस गर्नु असन्तुष्टको झिल्को थियो । पातली ज्यानकी योङ्ह्येले मासु खान छाडेपछि दुब्लाएर हाडछाला मात्र हुन्छ ।

भित्री वस्त्र ब्रा पनि लगाउन छाडी भने सुक्दै गएको छाती र दया लाग्दो अनुहार भएपछि माइतघरसम्म हल्ला फैलिन्छ । यतिसम्म कि ओछ्यान पनि फरक पर्दै गएपछि श्रीमान्को इच्छालाई पसिना, सास गन्हाउँछ भन्दै टारेको कथानक विषयवस्तुले पारिवारिक जीवनमा मुख्यतः श्रीमान्–श्रीमतीको तन, मन, शरीर, विचार सबैले साथ दिनुपर्छ भन्ने देखाउँछ । पराई गएकी एउटी छोरीमाथि बाबुआमाको कति माया हुन्छ भन्ने यो उपन्यासमा देखाइएको पाइन्छ । मासु खान छाडेकी छोरीको व्यवहार र नाजुक अवस्था थाहा पाएपछि माइतमा बोलाउँछन् ।

मुख्य पात्रा योङ्ह्ये श्रीमान्सँग माइतघर पुग्छे । त्यहाँ पनि विभिन्न परिकारको मासु खान नमान्दा सबै परिवार अचम्ममा पर्छन् । आमालगायत सबैले फकाए, तर पनि योङ्ह्येले मासु खान नमानेपछि बुबाले पनि सुझाए । सुकेर सिन्का भइसकेकी छोरीले मासु खान नमानेपछि बुबाले झापट नै लगाए । त्यसपछि बुबाले जबरजस्ती मुखैमा मासु कोचिदिएपछि योङ्ह्येको दिमागमा चोट पर्छ । मुखभित्रको मासुलाई बान्ता गरिदिई, त्यसपछि छुराले आप्mनै हात चिर्दै प्रतिरोध गरी । श्रीमान् र सबै परिवारको चेपुवामा परेकी एक्ली योङ्ह्येले विद्रोहको बाटो रोजी ।

आत्महत्या गर्न खोजेकी योङ्ह्येलाई अस्पताल पु¥याउनु बाध्यता थियो । अस्पतालमा पनि योङ्ह्येको शक्तिहीन शरीर देखेर मासु नै खुवाउन खोज्छ भने परिवारले पनि दबाब दिइरहन्छन् । मायाले मुछिएको आमाको वचनमा पनि मासुको झोल मिसाइएको हुन्छ, जसलाई जडीबुटीको औषधि भन्दै खुवाए, त्यो पनि योङ्ह्येलाई पचेन, तुरुन्तै बान्ता भयो । एउटी नारीको इच्छा विपरीत भएको पारिवारिक अत्यचारलाई बहसको विषय बनाउन खोजिएको छ ।

अस्पतालमा बिरामी कुरुवाको आलोपालोमा साली–भेना नजिक हुँदै जान्छन् । बेडमा पल्टेकी योङ्ह्येले अनेक सोच्छे र कल्पनामा कताकता हराउँछे । अनेक सोचाइमा परेपछि राति बिरामी डे«समा अस्पतालबाट भाग्छे तर खोज्दै जाँदा बगैँचाको फोहोरनजिकै बसिरहेको भेटिन्छ । खासमा सपनामा आउने हत्या, हिंसा, रगतको आहाल, मासुको बीभत्स थुप्रोजस्ता घिनलाग्दा दृश्यहरूले बिरामी परेको वा एकोहोरो बनाएको योङ्ह्येलाई भिनाजुले सहयोग गरेदेखि भेटघाट पनि बाक्लिँदै जान्छ ।

सप्ताहको बिदामा नाटक हेरेको कलाकृतिबाट प्रभावित भएपछि भिनाजुलाई पनि नयाँ काम गर्ने ऊर्जा मिल्छ । अनेक कल्पनामा डुब्दै शरीरमा फूलैफूलका चित्रहरू कोरेर अविस्मरणीय कृति बनाउने सोचलाई अघि सा¥यो, तर व्यावसायिक कलाकार वा मोडललाई खर्चेर ल्याउनुको सट्टामा साली योङ्ह्येलाई राखेर बनाउने विचार गर्छ । अनेक बहानाबाजी गरेर योङ्ह्येलाई मनाएर काम गर्न थाल्छ । नाङ्गो शरीरमा कोरेका चित्रहरू विचित्रको लाग्छ । फूलहरूको चित्रले सजाउँदा कहाँ, कुन, कस्तो आकार, प्रकार र शरीरको कुन चेपमा कस्तो के बनाउने भन्नेबारे अत्यन्तै सचेत भएर कोरेको बुझिन्छ ।

भिनाजुको मुख्य उद्देश्य सालीको निर्वस्त्र शरीरभरि फूलैफूलको चित्रले भरेर त्यो कलाकारिताको प्रत्यक्ष भिडियो खिच्नु थियो र खिचे पनि । जन्मदै नितम्बछेउ नीलडाम भएको योङ्ह्येको शरीरमा अत्यन्तै सुन्दर कलाकृतिले भरिन्छ । धेरै दिनको प्रयासपछि सालीकै अपार्टमेन्टमा पुगेर नीलडाममा फोकस गरी स्केच गरेको काल्पनिक नाटक गरेर रातभर सम्भोग गरेको भिडियो पनि खिच्न सफल हुन्छ ।

तर योङ्ह्ये र श्रीमान्को चर्तिकला दिदी इन्ह्येले भोलिपल्ट थाहा पाएपछि एम्बुलेन्स मगाएर मानसिक अस्पताल पु¥याएको रोचक कथाप्रसङ्गले अरू जिज्ञासा जगाउँछ । अस्पताल भर्ना भएको श्रीमान् मनोरोगी नभएकोले प्रहरी हिरासतबाट छुट्छ र आफैँ बेपत्ता हुन्छ । एउटी महिला लेखकले यौनजन्य क्रियाकलापलाई खुलेरै लेखे पनि अश्लील लाग्दैन, लेखनशैली र प्रस्तुतीकरण बडो राम्रो छ । अस्पताल जाने, आउने भइरहँदा अस्पतालबाट बिरामी योङ्ह्ये हराउने र फेरि भेटिने क्रम चलिरहन्छ भने इन्ह्येले बहिनीलाई सहयोग गरिरहन्छे ।

पहिला किम्ची र सिपीको पारखी योङ्ह्येले खानेकुरा त के फलफूलको टुक्रासमेत नखाएकोमा दिदी असाध्यै पिर गरिरहन्छे । हुन त बहिनी सानैदेखि कम बोल्ने भएकोले मनको कुरा खासै थाहा हुँदैनथ्यो । परिवार र बुबाले बहिनीलाई गरेको अन्यायको पछुतो मान्दै दिदीले हरकुरामा साथ दिइरहे पनि योङ्ह्ये एकोहोरिने, नखाने, अनेक गतिविधि गर्ने गरेकोले परिवार वाक्कदिक्क भइसकेका थिए । डाक्टरले केही खान नमान्ने रोगबारे दिदीलाई परामर्श दिँदै अनेक प्रश्न गरेर पारिवारिक कारणहरू पत्ता लगाउने कोशिश गर्छन् । खान नमानेपछि नाकबाट पाइप हालेर जाउलो दिने वा नाडीको नसाबाट दिने सल्लाह हुन्छ ।

योङ्ह्येले अस्पताल परिसरमा रुख देखेपछि रुखजस्तै बन्ने अनौठो गतिविधि गर्ने र रुखबारे सोध्ने गर्थी, ‘संसारका रुखहरू दिदी–बहिनीजस्तै हुन्छन् ?’ करिडोरमा होस् या कोठामा हात टेकेर खुट्टा माथि परी रुखजस्तै हुन खोज्ने योङ्ह्येको रोगलाई डाक्टरले पत्ता लगाउन सकेनन् । सोध्दा जवाफमा– खुट्टालाई माथितिर फटाएर, रुखजस्तै हाँगा फैलाएर जीउभरि पालुवा लगाउनु छ, जमिनभित्र जरा गाड्नु छ, त्यसैले मलाई पानी र घाम भए पुग्छ, खानेकुरा चाहिँदैन । उपन्यासकार हान काङ्ले चलाखीपूर्ण तरिकाले मीठो शैलीमा उपन्यासमार्फत पर्यावरणको विषयलाई खुलाउन खोजेको पाइन्छ ।


दिदी इन्ह्येले योङ्ह्येको बेडछेउमा बसेर विभिन्न किसिमका फलफूलका टुक्राहरू खुवाउने प्रयास गरिरहनु र बहिनीलाई हेरेर अनेक कल्पना गर्दै खुशी र तगडा बनाउन प्रयास गरिरहेको प्रसङ्गले हृदय छुन्छ । मानसिक बिरामीहरूले गर्ने अनावश्यक किचकिच, कसैले लात्ती हान्यो भन्ने, कसैले के भन्ने, यस्ता साना कुराहरूको प्रयोगले उपन्यासलाई बलियो बनाएको छ भने पढ्दै गर्दा अस्पतालमा बिरामीलाई आफैँले कुरिरहेको आभास दिलाउँछ । सिरिन्जबाट जबरजस्ती जाउलो खुवाएपछि बेहोस पार्न खोज्दा रगत बान्ता गर्छे र कुनै उपाय नलागेपछि योङ्ह्येलाई अस्पतालले बिदा दिन्छ ।

विभिन्न कारणले मनोरोगको सिकार भएकाहरूले अस्पतालमा गर्ने व्यवहार र बोल्ने शैली अनेक समस्या र उपचार विधिबारे लेखक हाङ् काङ्ले उपन्यासमार्फत जानकारी गराएर उपन्यासलाई ज्ञानप्रद बनाएका छन् । सपना त सबैले देख्छन् तर सपनाकै पछि लागेर आफूभित्र हाबी हुन दिनुहुँदैन, बिउँझेर यथार्थको जीवन जिउनुपर्छ भन्ने सन्देश भेटिन्छ । पढ्दै जाँँदा साढु दाइको प्रसङ्ग, रक्सी र सितन अनि सरुवा बनाउने तरिका, ह्वाङ्डोको आरु, छक्सिओङ् पहाड र जङ्गल, भीरपहरा, लहरे पीपलजस्ता त्यहाँका स्थानीय शब्दहरूले नेपालको परिवेशको झल्को दिन्छ ।

तीन खण्डमा उनिएको यस उपन्यासमा परम्परागत संस्कारभित्र हुर्किएको मांसाहारी परिवारभित्र आएको विचलन हो ‘द भेजिटेरियन’ । एउटी नारी पात्राले अन्धविश्वासको मौन आवाजलाई बोकेर कथाशृङ्खलाको अन्त्यसम्म विद्रोह गरिरहनु र सफल हुनुमा लेखक आफैँ सफल हुनु हो । नारीप्रधान आख्यानले घरपरिवार, नातागोतासँगको सम्बन्ध कसरी विघटन हुन्छ भन्ने सन्देश दिएको छ । चित्रकारिता र यौनसँग सम्बन्धित क्रियाकलापलाई कलात्मक शैलीमा उतार्नु उपन्यासको अर्को सुन्दर पक्ष लाग्यो ।

परिवार एकमत भए शक्तिशाली, नभए एउटाको कारण तहसनहस भएको दृष्टान्तले आम पाठकलाई सचेत गराएको छ भने मानसिक रोगले निम्त्याउने जटिलता र नयाँ रोगहरूको खोज पाइन्छ । पुरुष पात्रहरू अन्तिम खण्डमा गैरजिम्मेवार छन् भने एकल महिला पात्राहरू योङ्ह्ये र इन्ह्येको भूमिकाबाट कथानक प्रस्तुति अन्त्य हुन्छ ।

स्वप्निल संसारमा डुब्दाको परिणाम, लैङ्गिक विभेद, इच्छा विपरीतको आहार र आत्मसम्मानजस्ता मुद्दाहरूलाई उपन्यासकारले खरोरूपमा उठाएको पाइन्छ । मुख्य पात्रा योङ्ह्येलाई रुखजस्तै उभ्याएर प्रकृति विपरीत काम गर्नुहुँदैन भन्ने विचारलाई वनस्पति र मानवजीवनको तुलना गरी लेखिएको नोबल पुरस्कार विजेता ‘द भेजिटेरियन’ उपन्यास अर्थपूर्ण र जीवनोपयोगी छ । अन्धविश्वासको मौन आवाजलाई बोकेर कथाशृङ्खलाको अन्त्यसम्म विद्रोह गरिरहनु र सफल हुनुमा लेखक आफैँ सफल हुनु हो ।