भीष्म-युधिष्ठिर संवाद र वर्तमान नेपाल सन्दर्भ

2.63k
Shares

महाभारतका युधिष्ठिर परिचित पौराणिक पात्र हुन् । युधिष्ठिरको अर्को नाम धर्मराज पनि हो । सत्यवादीका रुपमा उनको अर्को प्रतिष्ठा थियो ।

युधिष्ठिर उनको मुख्य नाम थियो । युद्धमा स्थिर रहनु, नभाग्नु यसको अर्थ हुन्थ्यो । युधिष्ठिर आफ्ना नामहरुमा कति सार्थक थिए त ? महाभारतले छानबिनको बाटो त दिएको छ । आफैँ मुखर बनेर छानबिन गरेको छैन । आज हामीले छानबिन प्रयत्न गर्दा पनि त्यति बेलाको सामाजिक मान्यतामा उभिएर हेर्नुपर्ने हुन सक्छ । अन्यथा शंकर घिमिरेको एब्स्ट्रयाक्ट चिन्तन प्याजजस्तै युधिष्ठिर पनि शून्यमा टुंगिन सक्छन् ।

आफ्ना नामहरुको वरिपरि घुम्दै युधिष्ठिरले गल्ती त धेरै गरे । युवराज, राजकुमार तहका भाइहरु र महारानी द्रौपदीलाई पनि जुवाको खालमा राखे, हारे । एकपल्ट टाट पल्टिनुले नचेतेर दोहो¥याएर पनि त्यही जुवा खेले र बाह्र बर्स बनवास अनि एक वर्षको गुप्तवास पुरष्कार पाए । यति हुँदा पनि युधिष्ठिरको पारिवारिक र सामाजिक सम्मानमा खास असर परेन । भाइहरु सक्कली दाइभक्त ।

आदेश पर्खने हुन्, बाँकी चुँक्क बोल्ने हैनन् । उनको सर्वाधिक निकट र सटिक समालोचक थिइन् द्रौपदी । युधिष्ठिरको आलोचना द्रौपदीले पनि नगरे कल्ले गर्ने ? द्रौपदीको जीवनमा सर्वाधिक पीडा दिने सम्मानित व्यक्तित्व युधिष्ठिर नै त थिए । युधिष्ठिरकै कारण चार भाइ पाण्डवले पनि दुःख पाएका थिए । द्रौपदीमा तिनीहरुप्रति समानुभूतिभाव थियो । धर्मतुम्बी र सत्यसेवी युधिष्ठिरले मामा शकुनीको पासाका पासोमा पर्नुअघि कृष्णजस्ता हितैषी र मनीषी व्यक्तित्वसँग सल्लाह गर्नुपर्छ भन्ने पनि सम्झेनन् ।

भाइहरुलाई त जुवाको दाउमा राख्नुअघि ल है म तिमीहरुलाई दाउमा राख्दै छु सम्म पनि भनेनन् । द्रौपदीलाई पनि गाउँका जुवाडेले गोठको एउटा भैँसी दाउमा राखेजस्तै गरी जुवाको दाउमा राखे । यी सबै मिचाहा व्यवहारमा मनुवाद दोषी हो कि, तत्कालीन सामाजिक, पारिवारिक मान्यता दोषी हो कि, युष्ठिरको विवेकहीनता दोषी हो ? व्यापक अध्ययनको विषय हुन सक्छ ।
युधिष्ठिर कम्तीका विद्वान् त थिएनन् । धर्मको सही बाटो कुन हो ? भन्ने यक्षप्रश्नमा उनले उत्तर दिएका छन््, ‘श्रुतिर्विभिन्ना स्मृतयो विभिन्ना नैको मुनि र्यस्य वचः प्रमाणम् ।

धर्मस्य तत्वं निहितं गुहायां महाजनो येन गतः स पन्थाः अर्थात् वेदहरु धेरै छन् एउटै मात्र वेद छैन । स्मृतिहरु पनि विभिन्न मतमतान्तरका छन्, तिनमा पनि एकरुपता छैन । ऋषिमुनिका वचनलाई प्रमाण मानौँ भने ती पनि सर्वमान्य एउटै मात्र छैनन् । यसैले धर्मको तत्व त अन्तष्करणको गहिराइमा बस्छ । व्यहारमा समाजका गण्यमान्य महान् व्यक्तित्वहरुले जुन बाटो अपनाएका छन् त्यही हाम्रो पनि धर्मको बाटो हो ।’ यस भनाइमा युधिष्ठिरको हाजिरजवाफी क्षमता त राम्रै झल्कन्छ । उनले लिएको भोरजुवाको बाटो कुन गण्यमान्य व्यक्तित्वले देखाएको बाटो हो त ? पूरक प्रश्न त बाँकी रहन्छ नि । यक्षले सोधेनन् । परवर्ती समाजले त सोधिआएको छ ।

यिनै युधिष्ठिर हुन्, कृष्णको बहुआयामिक सहयोबाट कुरुक्षेत्रको अविजेय युद्धमा विजय पाएपछि अबका दिनमा राज्य कसरी हाँक्ने भन्ने तर्क–वितर्कले भुटभुटिएका छन् । आजका धर्मतुम्बी र सत्याग्रहीहरुले मजबुरीका नाम महात्मा गान्धी भनेजस्तै त्यति बेलाका युधिष्ठिरले पनि युद्धपछि आत्मबोध गरेको प्रतीत हुन्छ । उनी कृष्णबाट सल्लाहको अपेक्षा गर्छन् । कृष्णले चार भाइसहित युधिष्ठिरलाई शरशैयामा सुतेका भीष्मलाई भेट्न लान्छन् । भीष्मलाई शतिलता र मनोबल दिँदै कृष्ण महापुरुष भीष्मसँग युधिष्ठिरलाई राज्य सञ्चालनको आवश्यक सल्लाह दिन अनुरोध गर्छन् ।

पितामह भीष्मसँग सोध्नु र जान्नुपर्ने कुरा धेरै छन् । प्रश्नहरु अनगिन्ती छन् युधिष्ठिरसँग । लेकका बनमा जाडो याममा जीवन पान खातिर आँ–आँ गर्दै माथि उठेका जुकाका मुखजस्तै आतुर प्रश्नहरु छन् । ती प्रश्नहरुबीच युधिष्ठिरलाई निरन्तर मन चिमोटिरहेको प्रश्न छ– समाजका जाली, फटाहा, हत्यारा, नुशंशहरुलाई कसरी चिन्ने ? तिनीहरुलाई चिनेर सावधान हुँदै कसरी राज्य सञ्चालन गर्ने ? एक किसिमका एकजना शकुनी त युद्धमा मारिए, अरु किसिमका शकुनीहरु हुन सक्छन् ।

तिनीहरुसँग कसरी जोगिने ? कृष्णसँग अनुमति लिँदै पितामह भीष्मसँग युधिष्ठिर भन्छन्, ‘यस दुनियाँमा बाटोका काँडा, अँध्याराका खाडल, पानीका मकर ग्राह, सिरहानमुनिका सर्प र जंगलमा चारैतिर चट्चटाएका भयङ्ंकर डढेलोजस्ता नृशंश मानिस पनि हुन्छन् । तिनीहरुबाट जोगिएर चल्नुपर्ने हुन सक्छ । हम्मेसी तिनीहरुको पहिचान गर्न नसकिने रहेछ । सबैले त्यसै भन्छन् । राजकाजको व्यवहारमा मैले त्यस्ता मानिस जोगिन तिनको पहिचानचाहिँ कसरी गर्नेहोला पितामह ?’

भीष्म भन्नुहुन्छ– ‘महाराज युधिष्ठिर, प्रथमतः मानिसको पहिचान उसको बोली र व्यवहारबाटै गर्न सकिन्छ । मिहीन किसिमबाट दृष्टि दिन मात्र सक्नुपर्छ, पाइला–पाइलामा मानिसको जाँच गर्न सकिन्छ । नृशंशहरुको पनि जाँच पहिचान गर्न सकिन्छ । नृशंशहरु चापलुस हुन्छन्, लोभी हुन्छन्, लाज–घीन जान्दैनन् । सीमाहीन रुपमा अत्यन्त स्वार्थी हुन्छन् । आफ्नो स्वार्थ पट्याउनका लागि जस्तोसुकै घृणित र आततायी काम गर्न पनि तम्तयार रहन्छन् । आफ्नो स्वार्थका लागि अर्काको जीविका र जीवन लुट्न बाँकी राख्दैनन् । मै खाऊँ, मै लाऊँ, तमाम सुख–सयल म नै गरुँ भन्ने सोच राख्छन् । नृशंशहरु खुराफाती हुन्छन् । भयंकर पक्षपाती हुन्छन् । कसैमाथि विश्वास गर्दैनन् ।

असल मानिससँगको मित्रतामा भरोसा राख्दैनन् । ठग, कृपण र आफ्नै सहधर्मी मददगारहरुको प्रशंसामा निमग्न रहन्छन् । आफ्नै प्रशंसामा निमग्न रहन्छन् । आफैंलाई महान् आदर्श ठान्छन् । एउटा रायोको गेडोजति काम गरेको छ भने त्यसलाई ब्रह्माण्डजत्रो बनाएर बखान गर्छन् । कसैले नृशंशहरुलाई परनिन्दा पण्डित पनि भन्ने गरेका छन् । अरुको निन्दा गर्न पाउँदा परमानन्दको अनुभव गर्छन् नृशंशहरु । अहङ्कारी, अभिमानी, भोगविलासमा लम्पट, अनुदार, लोभी निर्घृणी सबै–सबै चरित्र नृशंशहरुमा फलित रहेको पाइन्छ ।

नृशंश भनेकै निर्दय हत्यारा भनेको हो । नृशंशहरुमा स्नेह, संवेदना, सौजन्य, दया, सहानुभूति, सत्यनिष्ठा तथा कर्तव्यनिष्ठाको लेस मात्र पनि पाउन सकिँदैन । मानव धर्मप्रति निष्ठाहीनता, अविरल हिंस्रकता, निर्दयता, छल, प्रपञ्च, असत्य र असीम वभुक्षा नै तिनीहरुको अन्तर्निहित चरित्र हो ।

नियमअनुसार चल्ने, कर्तव्यनिष्ठ व्यक्तिलाई नृशंशहरुले देखिसहँदैनन् । परदुःखमा अनायास प्रस्फुटित मुस्कान र प्रसन्नताको भावभङ्गीमा देखेर पनि नृशंशको पहिचान गर्न सकिन्छ ।’अर्काको बदनाम गर्ने अवसर पर्दा गोप्यभन्दा गोप्य कुरा पनि उधिनेर बदनाम गर्न उतारु बन्छन् नृशंशहरु । आफू धनसम्पत्ति कमाउनका लागि अरुको सर्वनाश गर्न पनि बाँकी राख्दैनन् ।’
‘आफूलाई अरुले उपकार गर्दा पनि यो मेरा जालमा फस्यो र बाध्य भएर मेरो सेवामा लागिपरेको छ भन्ने सोच राख्छन् । यिनीहरुको मनमस्तिष्कमा मसिलो कण जति पनि कृतज्ञताको भाव रहँदैन ।

नृशंशहरु आफूले दिएको वचन पूरा गर्दैनन् । आफू र आफ्नाबाहेक बाहिर कतै कसैलाई सन्जोगबस किञ्चित् केही दिएछन् भने त्यसमा प्रायः पश्चात्ताप गरिरहन्छन् ।’ ‘जो विलास वैभव, उत्तम खाद्यपेय सदा सर्वदा आफै एक्लै उपभोग गरुँ भन्ने ठान्छन् । जो नितान्त स्वार्थी छन् र स्वार्थका लागि जस्तोसुकै अपराध गर्न पनि तयार रहन्छन् त्यस्तालाई नीच नृशंश भन्ने गरिएको छ ।’
‘शान्ति र उन्नतिको कामना गर्ने जसकसैले पनि नीच नृशंश मानुषहरुबाट सधैँ सावधान रहनुपर्छ ।’

महाभारत शान्तिपर्वको अध्याय १६४ मा रहेको युधिष्ठिर र भीष्मका बीचको लामो संवादका बीचको नृशंशता पहिचानसम्बन्धी यो अंश आज कति सान्दर्भिक छ, कति छैन ? यो छलफलको विषय अवश्य पनि हो । समय बदलिँदा नृशंशताका रुपरङ्ग पनि बदलिने होलान् । नृशंशता अस्ति थियो, हिजो थियो, आज पनि छ । हो, समय धेरै दगुरेर आजको यहाँ आइपुगेको छ । समय जति दगुरे पनि अरुका झगडामा फाइदा लुट्ने र अनिकालमा भकारी भर्ने प्रवृत्ति अझै समाजबाट मासिएको छैन ।

एक थरी मानिसमा रहने नृशंशता, शकुनीचाल, दुर्योधन, दुःशासन प्रवृत्ति समयसँगसँगै दगुर्ने र भ¥याङ उक्लेर बानर गतिले जनताका घरघरका धुरीमा पुगिरहेकै छ । नृशंश शासकहरुमा सदावहार रहने यसै दुष्प्रवृत्तिका कारण जनताका बलले समय–समयमा क्रान्ति जन्माइरहनुपर्ने आवश्यकता आज पनि हराएको छैन । सत्तामा विराजमान कङ्स प्रवृत्तिका रुपमा आज पनि छ । कङ्सको कारागारमा कृष्णले जन्मिरहनुपर्ने बाध्यता आज पनि छ ।

हाम्रो मुलुकमा जनताका लागि उकुसमुकुस बनेको आजको राजनीति, यही राजनीतिबाट शासनसत्तामा पुगेका नेता, उपनेता, तिनका कार्यकर्ता र तिनबाट आम जनताले पाएको दुःख–सास्तीलाई महाभारतका भीष्मको शिक्षाका आधारमा कसरी व्याख्या विश्लेषण गर्न मिल्छ ? शान्ति र उन्नतिको कामना गर्ने जसकसैले पनि सावधान रहनुपर्ने नीच नुशंश मानुषहरु आज पनि छन् भने ती को हुन सक्छन्, कहाँ–कहाँ हुन सक्छन् ? त्यस्ता नृशंशहरु शासन सत्तामा पुगेका र दुर्योधन, दुःशासन, शकुनी बनेर जनताको भाग्य भविष्य ध्वस्त पारिरहेका हुन सक्छन् ?

द्रौपदीलाई जस्तै मुलुकको राज्यलक्ष्मीलाई चरिनङ्गा बनाइरहेका हुन सक्छन् ? पाण्डवहरुलाई जस्तै मुलुकका तमाम युवायुवतीहरुलाई प्रवास र गुप्तवासतिर धपाइरहेका हुन सक्छन् ? नेपालका भूमिपुत्र–पुत्रीहरुलाई आफ्नो मातृभूमिमाथिको जन्मसिद्ध अधिकारबाट समेत वञ्चित गराइरहेका हुन सक्छन् ? मुलुकको भाग्य भविष्यलाई लाक्षागृहमा पु¥याएर डढाइरहेका हुन सक्छन् ? बदलिँदो समयमा बदलिँदो शैलीबाट आज पनि सत्तामा नृशंश दुःशासन नै क्रियाशील रहेको हुन सक्छ ? आज पनि नेपाली जनताका लागि सुशासन मरुभूमिको पानी हो ? केवल मृगतृष्णा हो ? यसै हो भने नेपाल र नेपालीको मुक्तिका लागि आज क्रान्तिको आवश्यकता छ ? कृष्णत्वको आवश्यकता छ ?कृष्ण क्रान्ति हो ।

पुरानो युगको अन्त्य र नयाँ युगको आरम्भको निमित्त घटित क्रान्ति हो कृष्ण । कृष्ण चरम उत्पीडनमा जन्मेर उत्पीडित जनताका बीच हुर्कन्छ । शोषण, अन्याय, अत्याचार अति भएपछि दुष्टहरुको विनाश र आम जनताको मुक्ति एवं सुखसमृद्धिका लागि कृष्ण जन्मन्छ, क्रान्ति जन्मन्छ । महाभारतले त त्यति बेलाका भाषामा यही भन्छ–

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत
अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।

आर्थात् जहिले–जहिले धर्म अर्थात् सुशासन कमजोर बन्छ र अधर्म अर्थात् दुःशासन बलियो बनेर दुनियाँमा शासन गर्न थाल्छ, त्यति बेला साधु सज्जनहरु अर्थात् श्रमजीवी जनहरुको रक्षाका लागि र दुष्टहरुको विनाशद्वारा समाजमा धर्म अर्थात् शान्ति सुव्यवस्था स्थापना गर्नका निमित्त म धर्तीमा जन्मन्छु । युगानुयुग यो क्रम जारी रहन्छ ।

आजको भाषामा यी श्लोकहरुको आशय यही हुनु मनासिब हो कि ? महाभारत परम्परामा धर्म भनेको जनताको कल्याण हो, सत्कार्यमा सिद्धि हो, सफलता हो । यतो निःश्रेयससिद्धिः स धर्मः । बदलिँदो समयमा धर्म, धर्मको व्याख्या गर्ने शब्द र शब्दका व्याख्याहरु पनि बदलिन सक्छन् । बदलिनु पनि पर्छ । यत्ति कि आफ्नै इतिहास र संस्कृतिमा टेकेर बदलिनु बढी वाञ्छनीय हुन सक्छ । दिगो हुन सक्छ ।