मानव स्वास्थ्यमा वायु प्रदूषणको असर

2.91k
Shares

विश्व बैंकको प्रतिवेदनअनुसार दक्षिण एसियामा वायु प्रदूषणबाट हुने रोगबाट बर्सेनि २० लाखको मृत्यु हुने गर्दछ । दक्षिण एसियामा वायु प्रदूषणको अवस्था भयावह छ । २.५ माइक्रोमिटर वा सोभन्दा साना धूलोका कणलाई पी.एम. २.५ भन्ने गरिन्छ । धेरै साना हुने यस्ता कणले फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मानिसलगायत अन्य जीवित प्राणीमा अस्वस्थ बनाउँछ ।

सोको प्रभावबाट श्वासप्रश्वाससम्बन्धी रोगसँगै फोक्सोको क्यान्सर हुने डब्लुएचओले जनाएको छ । त्यस्तै विश्व बंैकको ‘स्ट्राइभिङ फर क्लिन एयरः एयर पोलुसन एन्ड पब्लिक हेल्थ इन साउथ एसिया’ अध्ययन प्रतिवेदनमा हावामा वार्षिक औसत पी.एम. २.५ को मात्रा ३५ माइकोग्राम प्रतिघनमिटरमा पाइएको उल्लेख छ । भारतको लखनउ, कोलकाता, बनारस, नयाँ दिल्ली, पटना, नेपालको काठमाडौँ उपत्यका, बंगलादेशको ढाका, अफगानिस्तानको काबुल र पाकिस्तानको इस्लामावादमा वार्षिकरुपमा हावामा धूलोको कणको मात्रा औसतभन्दा बढी छ । सोअनुसार हावामा पी.एम. २.५ को मात्रा धेरै जनसंख्या भएको ठाउँमा २० गुणभन्दा बढी पाइएको छ ।

सो प्रतिवेदनअनुसार वायु गुणस्तरको लागि दक्षिण एसियाली मुलुकमा बनाएको नियम पनि प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ । सो समस्या समाधानको लागि उत्सर्जनमा कटौतीसँगै क्षेत्रीय रुपमा पहल र समन्वयको खाँचो छ । पूर्णरुपमा नीतिगत व्यवस्था कार्यान्वयन गरिए हावामा धूलाको कणको मात्रा ४ प्रतिशतले मात्र घट्ने प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ देखि २०३० मा यस क्षेत्रमा धूलोको कणको मात्रा १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । प्रदूषण बढ्नुको कारण खाना पकाउने दाउरा, स–साना उद्योगबाट निस्कने उत्सर्जन, इँटा उद्योग, फोहोर व्यवस्थापनमा कमजोरी, बढ्दो सवारीसाधन, प्लास्टिक जलाउने कार्यले वायु प्रदूषण बढेको छ । साथै असन्तुलित रुपमा वितरण र प्रयोग हुने रासायनिक मलले पनि वायु प्रदूषण बढाउन भूमिका खेलेको र पश्चिम–दक्षिण एसियाली क्षेत्रमा धूलो, जैविक कम्पाउन्ड, वनमा डढेलोको प्रभावबाट वायु प्रदूषण भएको जनाएको छ ।

नेपालको सन्दर्भमा गर्मी बढेसँगै जताततै डढेलो लाग्ने, विभिन्न राजमार्ग तथा सडक निर्माण, डिजेल÷पेट्रोल गाडी तथा अन्य विभिन्न कार्यले गर्दा प्रदूषण बढेको छ । विश्वका १०१ शहरको रियल टाइम प्रदूषण मापन गर्ने आईक्यु एअर नामक संस्थाका अनुसार २०८१ साल फाल्गुण ५ गते सोमबार काठमाडौँ उपत्यकामा वायुको गुणस्तर सूचकांक १८४ पुगेको थियो । प्रदूषणको मात्रा बढी हुँदा काठमाडौँ उपत्यकाको वातावरण धुमिल हुन पुग्यो ।

हुन त नेपालको संविधानको धारा ३० मा स्वस्थ वातावरणको हकलाई मौलिक हकको रुपमा उल्लेख गर्दै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको व्यवस्था गरेको पाइन्छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ मा वायु प्रदूषणबाट हुने असर न्यूनीकरण वा निराकरण गर्नको लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ । गुणस्तरीय वायुसहित नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हकको सुनिश्चितताका लागि तीनै तहको सरकारको प्रयास हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय महासन्धि १९९६ को धारा ११ को उपधारा २ (क), धारा १२ को उपधारा २ (ख) र (ग) मा भएको व्यवस्थाबमोजिम वातावरणीय अधिकार तथा बालअधिकारसम्बन्धी महासन्धि १९८९ ले वातावरणीय प्रदूषणबाट हुने खतरा र बालबालिकालगायत सबैलाई सुरक्षित राख्नु आवश्यक छ ।
नेपालतिर प्रदूषण बढ्नुमा भारत र चीनको पनि प्रभाव पर्दछ । कचौरा आकारको उपत्यकामा स्थानीय प्रदूषणसमेत मिसिएपछि वायु थप प्रदूषण बन्छ । वायु वेगले बगेको भए प्रदूषण घट्थ्यो । तर हावा पनि चलेन, प्रदूषण मात्रै भित्रिरह्यो । सो कारणले वायुमण्डलको तल्लो तहसम्मै प्रदूषण अत्यधिक फैलन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।

प्रदूषणको कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्दछ । सो असरको प्रभावले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न संक्रमणको जोखिम बढ्ने हुन्छ । प्रदूषणको कारणबाट ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीजस्ता मानिस बढी प्रभावित हुन्छन् । स्वस्थ व्यक्तिमा पनि सो कारण हाच्छयूँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखा पोल्ने, छातीमा संक्रमण हुने गर्दछ । भौगोलिक बनावटको कारण काठमाडौँको वायु प्रदूषण त्यसै पनि उच्च छ । बाक्लो बस्ती, अव्यवस्थित सवारीसाधन, फोहोरमैला, उद्योगधन्दा र विकास निर्माणका कामले प्रदूषण बढाउने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य जोखिम हो । वायु प्रदूषणका कारण नेपालमा हुने मृत्युदरमध्ये ३७ प्रतिशत मस्तिष्कघातबाट हुने मृत्यु, ३४ प्रतिशत मुटुरोगबाट हुने मृत्यु, ३४ प्रतिशत फोक्सोको क्यान्सरबाट हुने मृत्यु र २२ प्रतिशत नवजात शिशु तथा बालबालिकाको मृत्यु हुने गर्दछ । वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ ।

यसको रोकथामको लागि वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने, जथाभावी फोहोर नजलाउने, वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाउँमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि कुरामा ध्यान पु¥याउनुपर्छ । तुवाँलाको स्तर व्यापक रहेसम्म आम व्यक्तिलाई समेत कठिन व्यायामबाट जोगिन सल्लाह दिने, बढ्दो प्रदूषणको अवस्थामा मर्निङ वाक, इभिनिङ वाक वा घरबाहिर गरिने व्यायामले स्वास्थ्यमा असर गर्ने हुन सक्छ । सोबाट जोगिनु जरुरी छ । वायु प्रदूषणले छालामा समेत असर पार्ने, समयभन्दा अगावै बुढ्यौली आउने, छाला चाउरी पर्ने, छालामा दाग लाग्नेलगायतका थुप्रै छालासम्बन्धी समस्या देखुने हुन्छ । साथै एलर्जी, छाला रातो हुने, बिमिरा आउने, चिलाउने, घाउ हुने, जलन र संक्रमण हुन सक्ने हुन्छ । एक्जिमाको समस्या हुनेलाई वायु प्रदूषण÷तुवाँलोले झन् असर गर्न सक्छ ।

चिकित्सकका अनुसार प्रदूषण बढेको समयमा वातावरणको सम्पर्कमा आउने शरीरको भागलाई सफा पानी वा फेस वासले राम्ररी धुने र मोइस्चराइज वा नरिवलको तेल लगाउनुपर्छ । त्यस्तै समय–समयमा छालालाई मधुरो स्क्रब गर्नाले बाहिरी सतहमा भएको मृत छाला, जम्मा भएको प्रदूषक पदार्थ, रसायनको तह आदि घटाउन सकिन्छ । स्वास्थ्यकर्मीका अनुसार तुवाँलोले आँखा रातो हुने, आँसु आउने, चिलाउने, चिप्रा आउने हुन सक्छ । एलर्जी भएर आँखा जोडले चिलाएमा आँखाको सतहमा चोटपटक भई संक्रमणको खतरा हुन सक्छ । यस्तो प्रदूषणबाट आँखालाई जोगाउन बेलाबेलामा सफा पानीले धुनुपर्दछ । प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि सम्बन्धित निकायसँग समन्वयको आवश्यक छ । स्थानीय सरकार, प्रदेश सरकार एवं संघीय सरकारले समन्वय गर्दै प्रदूषणजस्तो विपद्लाई अविलम्ब न्यूनीकरण गरी मानव स्वास्थ्यको रक्षा गर्नु आजको आवश्कता हो ।

(लेखक नेपालमा गुणस्तरीय जीवनको निम्ति स्वास्थ्य, जनसंख्या एवं वातावरण शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि हुनुहुन्छ ।)