काठमाडौं ।
नेवाः समुदायमा सयौं वर्षदेखि प्रचलित र कतिपय हराइसकेका ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण गर्ने कार्य शुरु गरिएको छ ।
नेपाल भाषा एकाडेमी पहलमा सो कार्यको शुरुआत गरिएको हो । विभिन्न क्षेत्रमा कार्यरत प्राज्ञ, विषयविज्ञमार्फत नेवाः समुदायमा प्रचलित खेती ज्ञान, प्रविधि र सीपको अभिलेख गर्ने कार्यको शुरुआत गरिएको हो ।
यही कार्यअन्तर्गत शनिबार राजधानीस्थित राष्ट्रिय सभागृहमा नेवा प्रविधि र शिल्प ज्ञानबारे पहिलो राष्ट्रिय गोष्ठी आयोजना गरिएको थियो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको सहकार्यमा सो कार्य गरिएको थियो । गोष्ठीमा शहरी योजनाविद पद्मसुन्दर जोशीले विश्वमा शहरीकरणको मापदण्ड र किराँतकाल, लिच्छिविकालमा उपत्यकामा विकसित बस्ती र शहरीको तुलना गर्दै बस्तीको विशेषता, त्यहाँभित्रको सामँहिकता, आर्थिक प्रणाली र पर्यावरणको दृष्टिबाट विश्लेषण प्रस्तुत गर्नुभयो ।
त्यसैगरी आर्किटेक्ट सिर्जना प्रजापति र गणेशभक्त शिल्पकारले काठमाडौं उपत्यकामा विकसित परम्परा तथा मौलिक घर निर्माणको प्राविधिक पक्षको विवेचना गर्नुभयो । काठ र माटोले बनाएको घर १९९० सालको भूकम्प र २०७२ सालको भूकम्पले नलडेको कारणसहित र त्यसमा प्रयोग गरिएको प्रविधिबारे उहाँहरुको प्रस्तुति रहेको थियो । त्यस्तै वनस्पती विज्ञ डा. निर्मला जोशी र कृषिविज्ञ बुद्धिरत्न डंगोलले काठमाडौं उपत्यकामा प्रचलित खेती प्रणालीको वैज्ञानिकता र त्यससँग जोडिएको संस्कृति र संस्कारबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
ती कार्यपत्र प्रस्तुत गर्ने क्रममा हराइसकेका कपिपय प्रविधि र त्यसको नाम विभिन्न व्यक्तिहरुसँग अन्तरवार्ता, कुराकानीमार्फत संकलन गरिएको थियो । नेवाः ज्ञान र सीपको अभिलेखीकरणको यो पहिलो प्रयास रहेको एकेडमीले जनाएको छ । एकेडमीका अनुसार दोस्रो चरणमा धातुकला, काष्ठकला लगायतका प्रविधिबारे छलफल गराइने छ । त्यसपछि काष्ठकला, परम्परागत रुपमा घर बनाउने प्रविधि, नेवाः बस्ती र शहरीकरणको प्रविधि, धातुकला, सुकुल बुन्ने, सुनचाँदीको गरगहना बनाउने लगायतका ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण कार्य गरिने बताइएको छ ।
नेवाः समुदायमा प्रचलित धातुकला, हात र खुट्टा दुखेमा परम्परागत रुपमा मसाज गर्ने प्रविधिलगायत विषयमा क्रमशः सम्मेलन गर्दै जाने पनि एकाडेमीको योजना रहेको छ । ‘सार्वजनिक वृत्तमा नेवाः समुदायलाई चिनाउँदा संस्कृति, सम्पदा, भाषा कला र लिपिको हिसाबले मात्र चर्चा हु्ने गर्ने गरेको स्थिति छ । यसरी चिनाउने र चर्चा गर्ने कार्यले समुदायको परिचय भने पूर्ण रुपमा समेटिएको छैन । यहाँभित्र धेरै ज्ञान, सीप र प्रविधि छ ।
जुन अद्यापि अभ्यासमा छन् र कतिपय हराइसकेका छन् । त्यसको खोज गरी अभिलेखीकरण गर्नुपर्ने खाँचो छ’ –एकेडमीका चान्सलर मल्ल के सुन्दरले भन्नुभयो । गोष्ठीको उद्घाटन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेवाः सभ्यतालाई संरक्षण गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता डंगोलले नेवाः समुदायमा प्रचलित ज्ञान र सीपको पुस्तान्तरणको खाँचो औंल्याउनुभयो ।
नेवाः समुदाय विशेषतः भाषा लिपि कला, साहित्य, संस्कृति र सम्पदालाई केन्द्रविन्दु बनाएर मात्र कार्यक्रम गर्दै आएकोमा यसपटक प्रविधिलाई लिएर गरिएकोे सो गोष्ठीलाई नौलो रुपमा हेरिएको थियो ।











प्रतिक्रिया