हिमालको दृश्य र अनुहारमा ल्याउने चमक

1.5k
Shares

हिमालपारिको जिल्ला मनाङ पुग्नका लागि कसैले योजना बनाएको छ भने त्यो साँच्चिकै जीवनका लागि ऐतिहासिक हुन सक्छ ।

किनकि मनाङ पुग्नासाथ जता फर्के पनि हिउँले भरिएका हिमाल देखिन्छन् । हिमालका रमणीय दृश्य जति हे¥यो त्यति रमाइलो र आनन्दको अनुभूति हुन्छ । त्यसैले पनि होला हरेक पर्षको चैत्रदेखि असोजसम्म ६ महिना मनाङका हरेक होटल र सडकहरुमा पर्यटकहरुको घुइँचो लागेको देखिन्छ ।

प्रत्येक वर्ष ४० हजार विदेशी र २ लाख बढी स्वदशीले मनाङ जिल्ला प्रवेश गरी रमणीय हिमाल र प्रसिद्ध पर्यटकीय स्थलको अवलोकन गर्ने गर्छन् । पर्यटकहरु तिलिचो ताल हुँदै मुक्तिनाथ पुगेर पोखरा झर्ने गर्छन् । त्यो क्रम बढ्दो र लोभ लाग्दो छ । नेपाल आफैँमा अति सुन्दर र लोभ लाग्दो छ ।

हिमाल, पहाड, तराईका रमणीय ऐतिहासिक, मौलिक, सांस्कृतिक र प्रसिद्ध स्थलहरुले भरिएको नेपालका विभिन्न ठाउँको भ्रमण जति ग¥यो त्यति लोभ लाग्दो भेटिन्छ । मनाङ पनि यस्तो जिल्ला हो, जहाँ पुगेपछि केही समय फर्किन मन लाग्दैन । फर्किहाले पनि फेरि कहिले जाने होला भन्ने मनमा आइहाल्छ ।

लमजुङको सिमाना कट्नासाथ नासो गाउँपालिका प्रवेश गरिन्छ । पुल कटनासाथ म्यार्दी जंगल भेटिन्छ, म्यार्दी जंगल आफैँमा ऐतिहासिक छ । बूढाबूढी वा केटाकेटी जो कोही पनि त्यो जंगलमा प्रवेश गर्छन्, त्यति रमाइलो मान्छन् । त्यसैले कसै–कसैले खानेकुरा, पानी ओत्ने, ओढ्ने र ओछ्याउनेसहित लिएर जाने अनि एक–दुई दिन जंगलमै बिताउने गर्दा रहेछन् । अचम्म त के छ भने, जंगली जनावर पनि त्यो जंगलमा छन् तर ती जनावरले त्यो ठाउँमा प्रवेश गर्ने मान्छेलाई केही गर्दैनन् ।

किंवदन्ती यस्तो छ कि पहिले–पहिले त त्यो म्यार्दी जंगलमा मान्छेहरु निकै दिन बस्न जाने गर्थे । म्यार्दी जंगलभित्र प्रवेश गरेपछि जति धेरै दिन बस्यो त्यति रमाइलो र आनन्द लाग्छ भनिन्छ । लमजुङको बेसीशहरदेखि मनाङको सदरमुकाम चामेसम्म ६५ किलोमिटर मात्रै छ । चामेदेखि उपल्लो मनाङ पुग्न जम्मा डेढ घण्टा मात्र लाग्छ भने त्यहाँबाट तिलिचो पुग्न अर्को चार घण्टा लाग्छ । तर मनाङको रोनक उपल्लो मनाङ पुगेपछि मात्रै देखिँदो रहेछ ।

प्रसिद्ध र ऐतिहासिक मिलारेपा गुम्बा स्मारक त साँच्चिकै लोभ लाग्दो रहेछ । हिमालको काखमा रहेको त्यो गुम्बाको ऐतिहासिक पृष्ठभूमिले सबैको मन लोभ्याउने मात्र होइन, मनाङ पुगेपछि त्यो ठाउँ नपुगी फक्र्यो भने भ्रमण अधुरो हुने रहेछ । विदेशी पर्यटकहरु पनि त्यो ठाउँमा प्रायः जाने गर्छन् । मनाङ प्रवेश गर्नेबित्तिकै ठूलो चट्टान कटिङ गरेर खनिएको सडकको दृश्य पनि आफैँमा रोचक छ । नेपाली सेनाले ०५९ सालदेखि ०६९ सम्म १० वर्ष लगाएर ठूलो चट्टान कटिङ गरेको रहेछ । ढुंगाको कोपबाट अगाडि बढेपछि ताल पुगिन्छ ।

सडकको तल हे¥यो मस्र्याङ्दी नदी बगिरहेको छ भने म्यार्दी भीरको त्यो बाटो लाग्दा ज्यान सिरिङ्ग हुन्छ । सबै जिल्ला सदरमुकाममा सडक पु¥याउने त्यति बेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घोषणा गरेपछि त्यो निकै अफ्ट्यारो भीरको ढुंगा कोप्न थालिएको रहेछ । घुमाउरो सडक असाध्य मेहनत गरेर खोलिएको हुनाले त्यस क्षेत्रका बासिन्दाले गिरिजा नागभीरको बाटो पनि भन्दा रहेछन् ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री टेकबहादुृर गुरुङ, कर्मा गुरुङ, स्यानो लामा, पशुपति अधिकारी, पत्रकार साथीहरु– सन्देश पौडेल, आश गुरुङ, नवीन गुरुङसहित मनाङ प्रवेश गर्नासाथ केही दिनअगाडि सो जिल्लामा पहिलोपटक सार्वजनिक बस यातायातको प्रारम्भ भएको थाहा भयो ।

नेपाली सेनाले ट्रयाक खालेको १३ वर्षपछि बल्ल सार्वजनिक यातायातको शुभारम्भ हुँदा मनाङवासी जति खुशी थिए त्यत्तिकै सडक पक्की नभएकोमा चिन्ता पनि व्यक्त गर्थे । सरकारले सडक पक्की गर्न बजेट छुट्याएको छ तर ईआईएले रोकेको कारण पक्की हुन नसकेकोमा मनाङवासी चिन्तित रहेका छन् । उनीहरुका अनुसार कहिले ईआईएले रोकेको छ भनेको छ, कहिले अदालतले रोकेको छ, कस्तो हो विकासको बाधक पक्ष ।

मनाङवासीका लागि अति नै लोकप्रिय सांसद टेकबहादुर गुरुङले ईआईएका अधिकारी मात्र होइन वनमन्त्री, सचिवलगायतलाई पटक–पटक भेटेर बाटोको ट्रयाक खोलेको १३ वर्ष भइसक्यो, कहीँ पनि रुख कटान गर्नुपर्ने अवस्था नभएपछि किन अनेक बहाना बनाई विकास अवरुद्ध गर्ने भनेर प्रश्न गर्दा छिट्टै भइहाल्छ भन्ने तर नगर्ने प्रवृत्तिको सिकार मनाङवासी भएका छन् । पर्यटकीय स्थलको अवलोकन गर्न जाने स्वदेशी र विदेशी पनि छक्क परेका छन् ।

बजेट छुट्टिए पनि सडक पक्की नहुँदा गणतन्त्र आए पनि ब्युरोक्रेसी, न्यायालय, राजनीतिक दल र अन्य जिम्मेवार पक्षको कार्यशैलीमा रत्तिभर परिवर्तन नभएको अनुभूति हुन्छ । मनाङवासीको मात्र कुरा नभएर देशभरिका नागरिकले पनि जिम्मेवार पक्षको कार्यशैलीमा कुनै परिवर्तन नभएको गुनासो सामाजिक सञ्जालमार्फत गर्ने गरेको देखिन्छ । तर सुन्नुपर्ने र गर्नुपर्नेले नगर्ने र नसुनेजस्तो गरेकै कारण जति राजनीतिक परिवर्तन भए पनि विकास र सुशासनको मामिलामा यस्तै रहेछ भन्ने आम नागरिकमा पर्दैै गएको छ । मनाङ यात्रामा त्यस्तै गुनासो सुन्नुपर्दा लोकतन्त्रको व्यावहारिक पक्ष झल्कियो नै ।

मनाङमा धान फल्दैन, यहाँका नदीमा माछा, भ्यागुता, सर्पजस्ता किराकिरी पनि हुँदैनन् तर यार्चागुम्बाजस्तो बहुमूल्य किरा मनाङकै हिमालमा पाइन्छ । मनाङको शिरबाट बग्ने मस्र्याङ्दी नदीबाट चार–पाँचवटा ठूला हाइड्रोपावरले उज्यालो छरेका छन् । पानी फ्याक्ट्री, तातोपानी कुण्ड, झर्ना, मिलारेपा गुम्बा पार्क, एउटै चट्टानको पहाड र स्वर्गको द्वारजस्ता थुप्रै ऐतिहासिक एवं प्रसिद्ध स्थलहरुले भरिपूर्ण जिल्ला हो मनाङ ।

जता फर्कियो त्यतै हिउँंले भरिएको हिमाल देखिन्छ । यसले गर्दा आँखा नझिम्क्याई हेरिरहुँजस्तो हुन्छ । यस्तो देशमा जति यात्रा गर्दै गयो त्यति आनन्द हुन्छ । चौंरी गाई, च्याङ्ग्रा, घोडाले सजिएको जिल्लाको सडक पक्की र स्तरोन्नति मात्रै हुने हो भने त्यहाँ फल्ने स्याउको बजारले निकै महत्व पनि पाउने थियो । सडक व्यवस्थित हुनासाथ होटलहरु बढ्दै जाने थिए । त्यसपछि त विदेशी पर्यटकहरु मात्र होइन, स्वदेशी पर्यटकहरुको पनि ओइरो लाग्ने थियो । तर मनाङको हुम्डे एयरपोर्ट पनि १२ वर्षदेखि बन्द छ । त्यसको रन वेको लम्बाइ अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा धेरै लामो छ ।

कच्ची हुन्जेल एयरपोर्ट चल्यो तर जब त्यो एयरपोर्ट पक्की भयो त्यसपछि जहाज पनि उडाउन छोडियो । २५ करोड बढी लगानी भएको एयरपोर्ट बन्द हुँदा पैदल वा गाडीमा पनि हिँड्न नसक्नेहरु तिलिचो ताल पुग्नबाट रोकिएका छन् । राजस्व पनि वृद्धि हुने र पर्यटन प्रवद्र्धन हुने कार्यमा सहयोग पुग्ने काम गर्न राज्यको इच्छाशक्तिको अभाव त्यहाँ देखिएको छ । हुम्डे एयरपोर्टबाट उपल्लो मनाङ, ऐतिहासिक मिलारेपा गुम्बा पुग्न जम्मा ३० मिनेट लाग्छ भने त्यहाँबाट तिलिचो ताल पुग्न तीन घण्टा लाग्छ । हिँड्न सक्ने पर्यटकहरु दुई–दुईवटा लौरो टेकेर हिँडेका देखिन्छन् ।

वैशाख–जेठको समयमा पनि चिसो हुने हिमालपारिको जिल्लामा पर्यटकहरुको आकर्षण निकै छ । त्यसैले सडकमा उनीहरुको लर्को नै देखिन्छ । तर बाटो खराब भएका कारण पर्यटकहरुले धूलोको सास्ती भोग्नुपरेको छ । चामेसम्म भर्खरै सार्वजनिक यातायात सञ्चालनमा आए पनि स्कार्पियोजस्ता साना सवारीसाधन केही वर्षअगाडिदेखि नै चल्दै आएका छन् । चामेबाट उपल्लो मनाङ हुँदै तिलिचो पुग्ने बेसक्याम्पसम्म तिनै साना सवारीसाधन चल्ने गरेका छन् । तर उनीहरुले लिने भाडा मनलाग्दी छ । सडक नबन्दासम्म मनाङका नागरिकहरु १८ दिनसम्म हिँडेर बेसीशहर, डुम्रे पुग्ने गर्थे ।

मनाङका सांसद टेकबहादृुर गुरुङ पनि ८ वर्षको उमेरमा १८ दिन हिँडेर डुुम्रे पुग्ने गर्नुहुन्थ्यो । उहाँजस्तै हिँड्ने थुप्रै नागरिकको अनुभव रोचक रहेको छ । मनाङमा पहिले–पहिले अदालतमा मुद्दा हुँदैनथे भने कारागारमा कैदी पनि हँुदैनथे । अहिले पनि त्यहाँको सिडियो कार्यालय, मालपोत, नापीजस्ता कार्यालयका कर्मचारीलाई कसरी दिन बिताउने भन्ने हुन्छ । सरकारी कार्यालयमा सेवाका लागि आउने नागरिकको संख्या न्यून रहेको छ । करिब २० हजार जनसंख्या भएको जिल्लामा वृद्धवृद्धा र केही महिला एवं बालबालिका मात्र देखिन्छन् । काम गर्न सक्नेहरु कोही विदेश गएका छन् भने कोही काठमाडौंलगायतका शहरमा छन् । चुनावका बेला ती मतदातालाई उम्मेदवारले आफैँ खर्च गरेर लैजानुपर्ने अवस्था छ ।

काम गर्न नपाएर दिन कटाउन गाह्रो हुने कर्मचारीलाई त्यो ठाउँको विकास, पर्यटन प्रवद्र्धन, सांस्कृतिक विकासका लागि समय खर्च गराउनेतिर कसैको ध्यान गएको देखिँदैन । हुन त काम पनि नहुने विकट जिल्लामा कर्मचारी सकभर जान खोज्दैनन् । जता फर्के पनि हिउँले भरिएको हिमाल देखिने गाउँमा जाँदा त्यहाँको लालीगुराँसको फूल र त्यो फूलको माला उनेर मनाङका महिलाहरुले गर्ने स्वागत साँच्चिकै लोभ लाग्दो र अनुकरणीय पक्ष छ ।

त्यहाँका महिलाहरुको नेतृत्व विकास र कमान्डिङ अर्को लोभ लाग्दो मात्र होइन, साँच्चै अनुकरणीय रहेको छ । मनाङवासीले बाहिरका नागरिकलाई जग्गा पनि सम्भव भएसम्म बिक्री गर्दैनन् । लामो समय मनाङमै बसेर मनाङी युवतीलाई बिहे गर्ने बाहुन–क्षत्रीको संख्या अति नगन्य रहेको छ । जे होस्, मनाङमा केही कुरा पाइँदैन तर धेरै कुरा पाइन्छ ।

त्यसैले राष्ट्रप्रमुखदेखि कार्यकारी प्रमुखसम्मका व्यक्ति र उच्च अधिकारी पनि सो जिल्लाका सांसद वा नेतालाई कार्यक्रम मिलाउन लगाएर पटक–पटक पुग्न खोज्छन् । पत्रकार साथीहरुले एक हप्ता मनाङजस्तो जिल्लाको भ्रमण गरी एक महिनासम्मलाई पुग्ने गरी फरक–फरक रोचक स्टोरी बनाउने गर्छन् ।

त्यसैले लमजुङ, तनहुँ, गोरखा, कास्कीका पत्रकार साथीहरु समय–समयमा हिमालपारिका जिल्लाको यात्रामा जाने गर्छन् । वास्तवमा राजनीतिक दलका नेतादेखि संवैधानिक तहदेखि हरेक निर्णायक ठाउँमा बस्नेहरुलाई समय–समयमा हिमालको हिउँसँग मितेरी लगाइदिने हो भने सुशासन र सेवाभावमा पनि थप ऊर्जा मिल्ने थियो कि !