काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका वडा नं. ६ साबिक कीर्तिपुर नगरपालिका वडा नं. १३, १४ तथा १५, साबिक चोभार भूतखेल गा.वि.स.को वडा नं. ३, ४, ५, ६ भित्र पर्ने यस जलविनायक सामुदायिक वनक्षेत्र काठमाडौं केन्द्रदेखि करिव ५ कि.मि. दक्षिण दिशामा अवस्थित छ ।
यस सामुदायिक क्षेत्रभित्र प्रसिद्ध जलविनायक गणेश मन्दिर भएकोले यस वनक्षेत्रलाई जलविनायक सामुदायिक वन भनी नामकरण गरिएको हो । यसको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा प्राचीनकालमा काठमाडौं उपत्यका ठूलो तलाउको रुपमा रहेकोले यसमा रहेको पानीलाई हटाएमा आवादीको लागि राम्रो देखिएकोले मञ्जुश्रीबाट चोभारको डाँडालाई खड्गले काटी बस्ती बस्नलायक हुन गएको हो । यस सामुदायिक वनक्षेत्रभित्र चोभार मञ्जुश्री गल्छी र मञ्जुश्री गुफा पनि अवस्थित रहेका छ ।
वि.सं. २०१६ मा काठमाडौं उपत्यकासँग सर्वसुलभ आवागमन गर्न मित्र राष्ट्र भारतको सहयोगमा ईश्वरी मार्ग निर्माण भएको देखिन्छ । वि.सं. २०२२ मा राष्ट्रिय आवश्यकता परिपूर्तिमा टेवा पु¥याएर आर्थिक क्रियाकलापको अभिवृद्धि गरी रोजगारीको अवसरसमेत सृजना गर्न निजी स्तरबाट हिमाल सिमेन्ट कम्पनी प्रा.लि. स्थापना भयो । करिब डेढ दशकपछि बहुमत शेयर नेपाल सरकार र नेपाल सरकारको पूर्ण स्वामित्वका संस्थाहरुले खरिद गरी पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भयो ।
त्यसपछि मित्र राष्ट्र चीन, जर्मनीको पटक–पटकको सहयोगमा सिमेन्ट कारखानाको प्रविधि तथा उत्पादन क्षमता वृद्धि गरेको देखिन्छ । त्यस्तै वि.सं. २०२८ मा तत्कालीन श्री ५ को सरकारबाट कृषि चुन उद्योगको स्थापना भएको देखिन्छ । वि.सं. २०४३÷०४४ मा यस क्षेत्रमा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट वृक्षरोपण कार्यक्रम गरिएको छ ।
यस क्षेत्रमा हिमाल सिमेन्ट कारखाना सञ्चालनमा भएका व्यापक कमी, कमजोरीहरु हटाउने र यस क्षेत्रको पर्यावरणमा सुधार ल्याउन पहलकदमी लिने उद्देश्यले गठित वातावरण संरक्षण संघर्ष समितिको पहलकदमीमा यस क्षेत्रमा खानेपानीको अभावलाई हटाउन वि.सं. २०५८ मा गुठ क्षेत्र खानेपानी व्यवस्थापन समिति गठन गरेर पाँगादेखि ३ तथा २ इन्चको जी.आई. पाइप ओछ्याई खानेपानीको थप आपूर्ति गर्ने कार्य भएको थियो ।
तत्कालीन प्र.म. शेरबहादुर देउवाबाट वि.सं. २०५८ मा हिमाल सिमेन्ट कारखानाको पूर्वपट्टि सार्वजनिक घाट बागमती नदीको किनारमा वृक्षरोपण गरिएको थियो । हिमाल सिमेन्ट कारखानाले वातावरणमा धेरै प्रदूषण ल्याएको र त्यस विषयमा स्थानीयवासीहरुको गुनासो रहेको हुनाले वि.सं. २०५८ मा तत्कालीन श्री ५ को सरकार (मन्त्री परिषद्) को निर्णयबाट सो कारखानालाई बन्द गरिएको हो ।
साबिक हिमाल सिमेन्ट कम्पनी लिमिटेडको कारखाना तथा खानी हाता हाल नेपाल इन्टरमोडल यातायात विकास समिति मातहत चोभार सुख्खा बन्दरगाह सञ्चालित छ । स्थानीय स्तरमा विकास निर्माण क्रियाकलाप अभिवृद्धि गर्नको लागि वि.सं. २०६२ फागुनमा कीर्तिपुर नगरपालिका १४ (हाल वडा नं. ६) चोभार, गुठ क्षेत्रका स्थानीय जनताको सक्रियतामा श्री जलविनायक क्षेत्र विकास केन्द्र गठन भएको हो ।
सरकारले स्थानीय जनतालाई नै समूहमा सामुदायिक वन हस्तान्तरण गर्ने नीति अवलम्बन ग¥यो । सोही अनुरुप दैनिकरुपमा प्रयोगमा ल्याइने घाँस, दाउरालगायतका वस्तुहरु प्राप्त गर्न सकिने भयो । साथै पर्या–पर्यटनको विकास गर्दै सामाजिक तथा आर्थिक विकास गर्न टेवा पुग्ने भन्ने भावना जाग्यो । यसले संरक्षणको पर्खाइमा रहेकोे जंगल अनि यस क्षेत्रको पर्यटकीय विकासका सम्पूर्ण सम्भावनाहरुलाई दृष्टिगत गरी आ.व. २०६२÷०६३ मा यस वनको संरक्षण खातिर अरु व्यवस्थित गरेर संरक्षण तथा संवद्र्धन गर्दै लैजाने हेतुले श्री जलविनायक क्षेत्र विकास केन्द्र, स्थानीय उपभोक्ताहरु र मच्छेनारायण रेन्जपोस्टको सहयोगमा सामुदायिक वन उपभोक्ता समूह गठन गरियो ।
जिल्ला वन कार्यालयसँग आवश्यक सरसल्लाह लिई, यस वन समूहको सञ्चालन गर्नको लागि समूहद्वारा नियम बनाई, वनको संरक्षण एवं संवद्र्धन गर्ने ध्येय बोकी, यस वनको अवस्थितिमा पूर्ण सुधार ल्याई, परिमार्जित ऐन नियमावलीबमोजिम आफ्नो कार्ययोजना तथा विधानमा समेत सुधार गरी, उपभोक्ताहरुको सामाजिक तथा आर्थिक विकाससमेत गर्ने लक्ष्य राखिएको छ ।
यस वनलाई सदैव हराभरा वनाइराख्न सम्पूर्ण उपभोक्ताहरुलाई सहभागितामूलक ढंगले वन विकास तथा वन व्यवस्थापन गर्न वन ऐन तथा वन नियमावली, सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन र सामुदायिक वन स्रोत सर्वेक्षण मार्गदर्शनको परिधिभित्र रही यस सामुदायिक वन क्रियाशील रहिआएको छ । यही क्रियाशीलताका कारण पटक–पटक जिल्लाको उत्कृष्ट वन समूहका रुपमा दर्ज हुन तथा वातावरण संरक्षणसम्बन्धी राष्ट्रिय स्तरको सम्मान तथा पुरस्कार प्राप्त गर्नसमेत यस समूह सफल भएको छ ।
यस प्रकारको ठूलो उतारचढावका बीचमा गठित जलविनायक सामुदायिक वन उपभोक्ता समूहको कार्य क्षेत्रभित्र र वरिपरि चोभार क्षेत्रलाई काठमाडौं उपत्यकाको एक महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित गर्ने क्षमतायुक्त विभिन्न पर्यटकीय उपजहरु रहेका छन् । जलविनायक मन्दिर, मञ्जुश्री चोभार गल्छी, गुफा, पार्क, मञ्जुश्री प्रतिमासहितको पार्क, आदीनाथ, टौदह यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।
यहाँबाट देखिने सगरमाथासहितको हिमशृङ्खला, यहाँका विभिन्न अभौतिक सांस्कृतिक उपजहरुका अलावा प्रकृति तथा वातावरणसँग सम्बन्धित यस क्षेत्रका सयौँ बोटबिरुवा, जनावरहरु पनि पर्यटकीय उपज हुन सक्ने सम्भावना प्रचुर छ । यसै तथ्यलाई हृदयङ्गम गरेर आवश्यक तयारी गरी योजनाबद्ध ढंगबाट अगाडि बढ्नु आजको आवश्यकता हो । यसका लागि उपलब्ध जाति, प्रजातिको सूचीकरण, नामकरण (ट्यागिङ), उपयोगको विवरण प्रकाशन कार्य तत्काल अगाडि बढाउन आवश्यक छ ।
खण्ड विभाजनका आधार:
यस सामुदायिक वनको वर्तमान अवस्थामा सुधार ल्याउन गरिने व्यवस्थापन कार्यलाई सरल तथा व्यवस्थित गर्नको निम्ति यस वनलाई खोल्सी, डाँडाकाँडाजस्ता प्राकृतिक सिमाना तथा प्रजाति समिश्रणको आधारमा ६ खण्डमा विभाजन गरिएको छ । जसको विवरण देहायबमोजिम रहको छ:
खण्ड नं. १: खण्डको नाम– कामीटार । क्षेत्रफल– १.४९८ हेक्टर । मुख्य प्रजातिहरु– सल्ला, उत्तिस, काइयो, वर, पीपल आदि । गैर काष्ठ वन पैदावर– ऐँसेलु, बाटुले पात, तितेपाती, बनमारा (ल्यान्टेना), रुधिलो, पानीअमला आदि । वन्यजन्तु– चितुवा, स्याल, बाँदर, वन बिरालो, मलसाँप्रो, खरायो, न्याउरी मुसा आदि ।
खण्ड नं. २: खण्डको नाम– मञ्जुश्री पाखा । क्षेत्रफल– ५.८६ हेक्टर । वनको किसिम– वृक्षरोपण । मुख्य प्रजातिहरु– सल्ला, बैंस, कोइरालो, पैंयु (साकुरा), अमला, उत्तिस, कांइयो, लप्सी, आरु, असारे, जकरण्डा, पाउलोनिया, देवदार, करवीर, कपूर, कामिनी आदि । गैर काष्ठ वन पैदावार– ऐँसेलु, चुत्रो, घँगारु, बाटुले पात, तितेपाती, ऐँसेलु, क्याटुके, रुधिलो, पानीअमला आदि । वन्यजन्तु– चितुवा, स्याल, बाँदर, वन बिरालो, मलसाँप्रो, खरायो, चमेरो, न्याउरी मुसा आदि ।
खण्ड नं. ३: खण्डको नाम– वाराही क्षेत्र (वाराही मन्दिर, गुफा तथा गल्छी क्षेत्र) । क्षेत्रफल– ३.५९२ हेक्टर । मुख्य प्रजातिहरु– सल्ला, धुपी सल्ला, पुवाँले, मसला, बैंस, कोइरालो, अम्बा, पैंयु (साकुरा), अमला, उत्तिस, कांइयो, बकाइनो, स्याउ, चाँप, भलायो, पारिजात, विभिन्न प्रजातिका धुपी, विभिन्न प्रजातिका पाम, चेरी ब्लुजम, टाँकी, लप्सी, आरु, असारे, जकरण्डा, पाउलोनिया, सिरिङ्गे (ओस्मान्थस), देवदार, करवीर, कपूर, कामिनी, काइयो, स्वामी, बर, पीपल, भीमसेनपाती, किम्बु, टिमुर, अनार (दारिम), मसला, नासपाती, अमला, तेजपात, सिमल, सिसौ, प्यालेन्द्रे आदि । गैर काष्ठ वन पैदावर– कण्टकारी, एंँसेलु, घँघारु, चुत्रो, केरा, केरा फुल, क्यातुके, तितेपाती, रुधिलो, केवडा, बाँस, निगालो, दत्तिवन, गोदावरी, सयपत्री, धतुरे फूल, गुलाव लाहुरे, चमेली, रातकी रानी, नवरंगी, गोदावरी, कुरी फुल, तिमिलो, खिर्या, करवीर, जाई, कनिका फूल, लालुपाते, गगनबेली, बेली, अम्रिसो, चिया, विभिन्न प्रजातिका हेज । वन्यजन्तु– चितुवा, स्याल, बाँदर, वन बिरालो, मलसाँप्रो, खरायो, चमेरो, न्याउरी मुसा आदि ।
खण्ड नं. ४: खण्डको नाम– जलविनायक वन क्षेत्र । क्षेत्रफल– १.०१४ हेक्टर । मुख्य प्रजातिहरु– स्याउ, सल्ला, लप्सी, उत्तिस, काइयो आदि । गैर काष्ठ वन पैदावर– कण्टकारी, ऐँसेलु, तितेपाती, रुधिलो, दत्तिवन आदि । वन्यजन्तु– चितुवा, स्याल, बाँदर, वन बिरालो, मलसाँप्रो, खरायो, न्याउरी मुसा आदि ।
खण्ड नं. ५: खण्डको नाम– ठूलो चौर पाखा (मञ्जुश्री प्रतिमासहितको पार्क), क्षेत्रफल– ६.५३८ हेक्टर । मुख्य प्रजातिहरु– स्याउ, सल्ला, उत्तिस, काइयो, विभिन्न जातका धुपी, तेजपात, घिउकारी, मसला, खजुरे, सब नेपाली कल्की, देवदार, तिमिलो, बैंस, जकरण्डा, किम्बु, असारे, पुवाँले, चाइनिज असारे, ताते (जैटा), पिर्पिरे, अमला, स्वामी, वर, पीपल, अम्बा, हलुवावेद, एभोकाडो, अशोका, आँप, बोटल ब्रस, सिरिङ्गे, निर जाई, राजवृक्ष, सुन्तला, भोगटे, नासपाती, स्याउ, कागती, नेपाली कल्की, चाइनिज कल्की, कामिनी, फूल फुल्ने आरु (चैरी) आदि । गैर काष्ठ वन पैदावर– कण्टकारी, ऐँसेलु, राम बाँस, निगाले बाँस, तितेपाती, रुधिलो, दत्तिवन, सर्वदा फूल, घँघारु, नीलकाँडा, धतुरे फूल, लालुपाते, चमेली, रातकी रानी, घण्टीफूल, केरा, कुरी फूल, पानीअमला, ड्राइगन फ्रुट, बेसारे फूल, केरा फूल, लहुरे फूल, गोदावरी, लहरे गुलाब, टिकोमा, लहरे घाँस, भ्यागुते फूल, केलडी, टिमिले, बाँस, निगालो, लट्टे फूल, टिउरी फूल, करवीर, गुलाब, लिप्टिस, कपास, बेगमबेली, टाटे (जैता), खिर्या, रुख टमाटर, नवरंगी, जाई, कनिका फूल, सूर्यमुखी, सयपत्री, सिरु आदि । वन्यजन्तु– चितुवा, परेवा, स्याल, बाँदर, वन बिरालो, मलसाँप्रो, खरायो, न्याउरी मुसा आदि ।
खण्ड नं. ६: खण्डको नाम– बगर । खाली पर्ती चौर– ३.५१६ हेक्टर । मुख्य प्रजातिहरु– सल्ला, उत्तिस, काइयो, जकरण्डा, बैंस आदि । गैर काष्ठ वन पैदावर– कण्टकारी, ऐँसेलु, तितेपाती, रुधिलो, वनमारा आदि । माटो– कालो, फुस्रो बलौटे । वन्यजन्तु– चितुवा, स्याल, बाँदर, वन बिरालो, मलसाँप्रो, खरायो, न्याउरी मुसा आदि ।
खण्ड नं. ७: खण्डको नाम– गोलचौर । क्षेत्रफल– ०.७१४ हेक्टर । खाली पर्ती चौर– ०.५ हेक्टर । मुख्य प्रजातिहरु– पुवाँले, सल्ला, उत्तिस, काइयो, बैंस, पीपल आदि । गैर काष्ठ वन पैदावर– कण्टकारी, ऐँसेलु, तितेपाती, रुधिलो, वनमारा । वन्यजन्तु– चितुवा, स्याल, बाँदर, वन बिरालो, मलसाँप्रो, खरायो, न्याउरी मुसा आदि ।
(लेखक महर्जन अधिवक्ता एवं जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुनुहुन्छ ।)











प्रतिक्रिया