शिक्षाले व्यक्तिमा अन्तर्निहित क्षमताको पहिचान गरी बालबालिकाको सर्वाङ्गीण विकास र रचनात्मक अभ्यास गर्ने परिवेश निर्माण गर्दछ ।
बढ्दो विज्ञान र प्रविधिको नवीनतम ज्ञानको अभ्यास गर्ने क्षमता वृद्धि पनि शिक्षाले नै गर्दछ । शिक्षाले हरेक विद्यार्थीको व्यक्तित्व निर्माण र विकासमा ठूलो बल पु¥याएको हुन्छ । यसर्थ विद्यालय तहमै बालबालिकाले व्यक्तित्व निर्माणका साथै मानव समाजका विविधतासम्बन्धी ज्ञान पनि हासिल गर्दछ । तर अबको शिक्षाको ज्ञान हिजोको जस्तो छैन ।
आज पढ्ने तरिका पनि हिजोभन्दा फरक छ, सिक्ने तरिका पनि भिन्न छ । हरेक विषयवस्तुुमा गरिने सोचाइ, गराइ, बुझाइको तरिका फेरबदल भइसकेको छ । हिजोको ज्ञानको स्रोत शिक्षकमा सीमित थियो । शिक्षकले जे भन्थे त्यही सत्य हुन्थ्यो । सिकाइका लागि पूर्णरुपले शिक्षकमा निर्भर रहन्थ्यो । आज ज्ञान आर्जनका स्रोत अनेक छन् । शिक्षकले पढाउने पुस्तकको ज्ञानभन्दा विश्वसनीय ज्ञान अन्य माध्यमबाट विद्यार्थीले हासिल गर्न सक्छ ।
घोकाएर सिकाएको भन्दा प्रत्यक्ष आफैँले गरेर, देखेर जान्न चाहन्छ । व्यावहारिक सिकाइबाट नै विद्यार्थीको व्यवहार निर्माण हुने हो । किताब घोकेर पढ्ने त केवल परीक्षामा पास गर्ने हेतु मात्र हो । केटाकेटीले नमुनाको व्यवहार गर्ने, क्रियाकलाप देखाउने तथा नक्कल गरेर सिक्ने प्रवृत्ति बढी देखिन्छ । तिनले आफूलाई मन पर्ने शिक्षक, साथी, अन्य अग्रजलाई नमुनाको रुपमा स्वीकार्छन् र तिनको व्यवहारलाई अनुकरण गर्न रुचाउँछन् ।
हरेक बच्चाको पहिलो शिक्षक आमा नै हुन् । अर्थात् जीवनको पहिलो आदर्श भनेको नै बाबुआमा नै हुन् । साथै घर–परिवारले बोलेको, गरेको व्यवहार नियाल्दै त्यसै अनुरुप ग्रहण गर्दै जाने हुन्छन् । यसै गरी अब बढी सिक्दै–जान्दै विद्यालयमा जान्छन् । त्यहाँ गएर बच्चाले सिक्ने दायरा फराकिलो हुँदै जान्छ । शिक्षक, विद्यार्थी, छरछिमेक, बाटोघाटोमा मानिस आदिको अवलोकन गर्दै तिनले गरेका, बोलेका हर क्रियाकलापबाट धेरै कुरा सिक्दै जान्छन् ।
केटाकेटीको रुचि र चाहनालाई प्राथमिकतामा राखी अध्ययन विषयको छनोट हुनु जरुरी छ । अनिवार्य विषयदेखि ऐच्छिक विषयसम्म पनि विद्यार्थीलाई मन परेको छैन भने त्यही विषय पढ्नै पर्छ भनेर लाद्नुहुँदैन । केटाकेटीका लागि विकल्पमा तिनले रोज्ने विषय राख्नुपर्दछ तर हाम्रा कतिपय केटाकेटीका लागि जानी–नजानी तिनले नचाहेका विषय लिन बाध्य पारिएका थुप्रै गुनासा सुन्नमा आउँछन् । कतिपय अभिभावक केटाकेटीको रुचि नभएको विषय पढ्न बाध्य गराउँछन् भने विद्यालयले पनि तिनको रुचि नभएको विषय पढ्न बाध्य पारेका घटना प्रशस्त छन् ।
खास गरी विद्यालयले खर्च बचाउनक लागि नियतवश यस्तो गरेको देखिन्छ । यसमा सरकारले पनि विद्यालयलाई आवश्यक आर्थिक प्रबन्ध गर्न नसकेको नै बुुझिन आउँछ । शिक्षामा सरकारले झन्डै दुई खर्ब बजेट छुट्याएको छ । यसबाट लगानीको प्रतिफल लेखाजोखा र मूल्याङ्कन गर्दा लगानीको अनुपातमा प्रतिफल नआएको आभास मिल्छ । निष्पक्ष विद्यालय मूल्याङ्कन गरी राम्रो गर्नेलाई उचित पुरस्कार र नराम्रो गर्नेलाई दण्ड दिने व्यवस्था देखिँदैन ।
शिक्षकले सिकाएका कुरा विद्यार्थीले ध्यान दिएर सिक्नुपर्दछ । विद्यार्थीलाई पढाइरहेका कुरा, समाजमा सामना गरिरहेको
परिस्थिति वा भोगिरहेका उतारचढावका सम्बन्धमा पनि सकारात्मक ढंगले बोध गराउने प्रयत्न गरिनुपर्दछ । समाजमा भोगेका, देखिएका अनेक जटिलताका बारे पनि हाम्रो प्रयास, जाँगर र इमानदारिताबाट समाधान गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह हुने कुराहरु शिक्षकले विद्यार्थीमा सञ्चार गर्नुपर्छ ।
आफूहरुले भोगेका घटनाहरुलाई विद्यार्थीमाझ सन्देश प्रवाह गर्न शिक्षकले होसियारीपूर्वक सञ्चार प्रवाह गर्नुपर्छ । कुनै पनि विषयको नकारात्मक सन्देश विद्यार्थीलाई सुनाउँदा त्यसको गहिरो प्रभाव पर्ने हुन्छ । प्रायः विद्यार्थीले आफ्ना शिक्षकलाई आदर्शका रुपमा हेर्ने हुन्छन् । अतः कक्षामा सन्देश प्रवाह गर्दा सकारात्मक ढंगले गर्नुपर्ने हुन्छ । अन्यथा विद्यार्थीमा नकारात्मक सोच विकास भई भोलि ध्वंसात्मक बाटोमा लाग्ने सम्भावना हुन्छ । शिक्षकले कक्षाकोठामा अध्यापनका साथै विद्यार्थीले सामना गरिरहेका समस्याहरुलाई सामना गर्न सक्ने बनाउन उचित परामर्श दिनुपर्छ ।
शिक्षकले कक्षाकोठामा एकोहोरो भाषण छाँट्ने काम गर्ने होइन । विद्यार्थीमाझमा आफैँ सर्वज्ञ ठान्ने प्रवृत्तिको पनि अन्त्य हुनु जरुरी छ । अबका शिक्षक भनेका प्रवचनकर्ता होइनन्, विद्यार्थीको सहजकर्ता हुन् । उनीहरु विद्यार्थीलाई सिकाउने कुरामा अन्तरक्रियात्मक ढंगले प्रस्तुुत हुनुपर्छ । विद्यार्थीलाई आलोचनात्मक, रचनात्मक र सृजनात्मक कसरी बनाउने भन्ने सोच राख्नुपर्छ ।
शिक्षाले विद्यार्थीको मूर्त, अमूर्तलगायत सर्वाङ्गीण उजागरमा बल पु¥याउँछ । यस सन्दर्भमा पढ्ने कार्यको महत्व छ । जीवनज्ञान र समाजको सबै पाटाको अध्ययन हुन्छ । साथै समाजका अग्रज सूचनाका स्रोत हुन् । गुगल अहिले गुरुका रुपमा आधुनिक संसारको सूचनाको ठूलो स्रोत बन्न गएको छ । मानिसले पढेर वा सुनेर मात्र पनि केही हुँदैन, जबसम्म उसले आफ्नो सुनाइ, हेराइ, बुझाइलाइ आत्मावलोकन गर्न प्रेरित हुँदैन ।
आफ्नो अध्ययनका विषयमा आत्मसंलग्नता भएन भने खाली सुगा पढाइजस्तो मात्र हुन्छ । विद्यार्थीमा अन्तर्निहित क्षमताको पहिचान गरी व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्वको बोध गराउने शिक्षकले खालि पाठ्यपुस्तकमा भएका कुराका अलावा अन्य ज्ञान, सीप र प्रवृत्तिसम्बन्धी सिकाइमा जोड दिन्छ । विद्यार्थीमा आलोचनात्मक निर्माणका लागि प्रश्न, उत्तर, विषयवस्तुको ज्ञान, औचित्य र खाँचोका कुरासमेत जानकारी गराउनुपर्छ । शिक्षक र विद्यार्थीबीच आपसी प्रेम र सम्मानको वातावरण पनि चाहिन्छ । तिनका बीच आपसी विचार, विमर्श र छलफल हुनुपर्छ ।
शिक्षक सबै कुरामा निपूण हुन्छ भन्ने ठानिन्छ । तर विद्यार्थीलाई सिकाउने मनोविज्ञानमा फरक धारणा आइसकेको छ । यस किसिमको शिक्षक निपूण छ भन्ने विचारले सिकाइने शिक्षाले विद्यार्थीमा आलोचनात्मक चेत खुल्न सक्दैन । शिक्षा पद्धतिले सिकाउनुपर्ने महत्वपूर्ण पाटो भनेको नै सिर्जशीलता र सहकार्य हो । यसका लागि शिक्षक र विद्यार्थीबीच तहगत विभेद हुनुहँुदैन ।
विद्यार्थीले शिक्षकसँग सहजरुपमा संवाद, छलफल र कुराकानी गर्ने अनि फरक विचार र धारणासमेत पुस्तुत गर्न सक्ने वातावरण हुनुपर्दछ । अध्ययनकै क्रममा कक्षाकोठामा पढ्ने साथीहरुबीच फरक ज्ञान, संस्कृति र अभ्यासबारे खुलेर छलफल र संवाद गर्ने परिवेश हुनु जरुरी छ । अनि मात्र अध्ययनरत केटाकेटीमा विभेदरहित ज्ञानसत्ताको वर्चश्व कायम रहन सक्छ ।
आजका केटाकेटीको भविष्य अभिभावक र शिक्षकले अहिले गर्ने व्यवहारले निर्धारण गर्ने हुन्छ । तिनको कलिलो मस्तिष्कमा सकारात्मक र रचनात्मक सोच, विचार घुसाउनुपर्छ । हरेक केटाकेटीलाई कुशल व्यवहार र असल आचरणले नै सही बाटोमा लगाउँछ । अनि तिनीहरु मर्यादित र अनुशासित पनि वन्ने हुन्छन् । स्मरणशक्ति वृद्धि हुनुका साथै सिर्जनशीलताको पनि अभिवृद्धि हुन्छ । पठन संस्कृतिले पनि केटाकेटीको स्मरण बढाउन मद्दत गर्दछ । यसका साथै सहनशील, संवेदनशील, मानसिक आनन्द पुस्तक पढ्दाखेरि मिल्छ ।
आजभोलि भनिन थालिएको छ कि पुस्तक नपढ्नेहरुमा स्मरण शक्तिसमेत कमजोर हुँदै जान्छ । बिर्सने रोगबाट बच्न पनि बालकदेखि बूढासम्मले पठन संस्कृतिको अनुशरण गर्नु जरुरी छ । आधुनिक समाजमा विद्यालय, समाज वा बस्तीमा पुस्तकालय, वाचनालय वा घुम्ती पुस्तकालय आदिको व्यवस्था गरेको देखिन्छ । आज तीव्र विकास भएको छ भने त्यो सूचना र प्रविधि नै हो । पहिले–पहिलेका मानिस पाटी, खरी, स्लेट, ब्ल्याकबोर्ड आदिको माध्यमले सिक्ने गर्थे । प्रविधिको द्रुुतत्तर विकासले सिकाइ सामग्रीमा ठूलो परिवर्तन ल्याएको छ ।
विद्यालय पढ्ने केटाकेटीदेखि विश्वविद्यालयसम्म पढ्नेले मोबाइल, ल्यापटप आदिबाट धेरै कुरा सिक्छन् । यसरी आजको डिजिटल व्यवस्थाले केटाकेटीलाई एकोहोरो र असामाजिकतर्फ उन्मुख गराउन खोजेको छ । केटाकेटीको मोबाइलप्रतिको मोह तीव्र गतिमा बढ्दै आएको छ । यसको सही उपयोग गर्न सकेमा अनेक फाइदा पनि छन् ।
सूचना प्रविधिसँगै केटाकेटीमा स्थापित संस्कार, संस्कृतिप्रतिको मोह घट्दो अवस्थामा छ । पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तरालले पनि समाजमा ठूलो खाडल बनाएको छ । अहिलेको नयाँ पुस्ता सूचना सञ्जालमा खेल्न रुचाउने साइबर पुस्ता हो । अथवा यो पुस्तालाई उत्तर आधुनिक पुस्ता भनिन्छ । यसैले अहिलेको शिक्षामा सूचना प्रविधिको ठूलो प्रभाव छ । यथास्थितिवादी समाजमा उमेरले पुस्ता छुटिन्छ । परिवर्तनवादी समाजमा ज्ञान र विचारले पुस्ताको पहिचान हुन्छ । यसर्थ आजको पुस्ताको पहिचान सूचना र प्रविधिको जालोबाट हुन्छ ।
(लेखक गौतम शिक्षाविद् हुनुहुन्छ ।)











प्रतिक्रिया