थप अनुसन्धानका लागि तीन दिन म्याद थप

सांसद राई पक्राउ प्रकरण


काठमाडौं ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ । शनिबार बेलुकी पक्राउ परेकी राई पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि फरार रहँदै आएकी थिइन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले ६ सय ९० जना वचतकर्ताबाट १ अर्ब १९ करोड रुपियाँभन्दा बढी रकम संकलन गरेको थियो । तर, सो रकम विभिन्न १६ वटा कम्पनीहरूमा अवैध रूपमा लगानी गरी अपचलन गरिएको पाइएको छ ।
माया राई आर्थिक वर्ष २०७३-७४ मा सहकारीको सञ्चालक समिति सदस्य र २०७४-७५ तथा २०७५-७६ मा सहसचिवका रूपमा कार्यरत थिइन् ।

प्रहरी अनुसन्धानमा सहकारीका निर्णयहरूमा उनको हस्ताक्षर भेटिएको छ, जसले उनको प्रत्यक्ष संलग्नता भएको पुष्टि गरेको थियो । प्रहरीले माया राईसहित २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । सकारले सांसद राईलाई उन्मुक्ति दिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

राईसमेत ५ जनालाई उन्मुक्ति दिँदै प्रहरीले ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । राई जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सांसद राईको संलग्नता पुष्टि भए पनि कानुनी प्रक्रिया अझै स्पष्ट छैन । प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ, जसमा थप तथ्यहरू उजागर हुने अपेक्षा गरिएको छ ।

यता, सांसद राई पक्राउबारेको सूचना प्रतिनिधिसभाका सदस्यहरूलाई जानकारी गराइएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाउनुभएको थियो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवम् सञ्चालक गीतेन्द्रबाबु राईसमेत भएको ठगी र संगठित अपराधसम्बन्धी कसुर मुद्दामा भागी फरार रहेकी प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ ।