नेपालले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने सुरक्षा विज्ञहरूको सुझाव

भारत र पाकिस्तानबीच तनाव चरम उत्कर्षमा


काठमाडौं ।

भारत अधीनस्थ कश्मीरमा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चरम उत्कर्षमा पुगेको छ ।

भारतले सिन्धु नदीको पानी रोकेको छ भने पाकिस्तानले भारतीय वायु सेवामाथि प्रतिबन्ध लगाएको छ । परिस्थितिको गम्भीर्यता हेर्दा, दुई मुलुकबीच युद्धको खतरा अत्यन्त बढेको देखिन्छ । यस्ता परिस्थितिमा नेपालको जिओ–राजनीतिक अवस्था, अर्थतन्त्र, सुरक्षा र कूटनीति क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्न सक्ने विज्ञहरू बताउँछन् ।

नेपालसँग भारतको खुला सीमा भएकोले, द्वन्द्वको स्थिति सिर्जना भएमा शरणार्थीको चाप पनि नेपालमा पर्न सक्छ । अघिल्लो समयको भारत–पाकिस्तान द्वन्द्वका बेलासमेत सीमावर्ती क्षेत्रमा सुरक्षात्मक उपाय कडाइ गरिएको थियो ।
पहलगाममा भएको आतंकवादी हमलामा २५ भारतीय र १ नेपाली पर्यटक मारिएपछि भारत र पाकिस्तानबीच बढ्दो तनावले छिमेकी नेपाललाई समेत सतर्क बनाएको छ ।

सुरक्षा विश्लेषकहरू भन्छन्– ‘यस्तो परिस्थितिमा नेपालको खुला सीमा, निर्वाध आपूर्ति मार्ग र पारस्परिक तटस्थ नीतिले देशमा विभिन्न सुरक्षा चुनौतीहरू निम्त्याउन सक्छन् ।’ नेपाल–भारत सीमामा परिचालित सशस्त्र प्रहरी बलले सीमा निगरानीको जिम्मेवारी लिएको छ । भारतसँग वार्षिक समन्वय बैठकबाट नेपाल–भारतले सीमा सुरक्षा थप प्रभावकारी बनाउन, अवैध गतिविधि नियन्त्रण गर्न र सूचना आदान–प्रदान जारी राख्ने सहमति गरेको छ ।

विकास, राजनीतिक अस्थिरता र सशस्त्र समूहको विगतसँग जोडिएका आन्तरिक चुनौतीहरू नेपालका लागि संवेदनशील सुरक्षा चुनौतीको रूपमा देखिएको छ । भारत–पाक युद्धले भारतीय पक्ष वा पराजित पक्षबाट ठूलो संख्यामा शरणार्थी नेपालतर्फ प्रवेश गर्ने सम्भावना भएकाले नेपालले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने सुरक्षा विज्ञहरूले बताएका छन । विगतमा भुटानी र तिब्बती शरणार्थीको अनुभव हेर्दा दशौं हजार मानव व्यवस्थापनका लागि नेपालले पूर्वतयारी गर्नुपर्ने विज्ञहरूले बताएका छन् । सुरक्षाविद् अभिनव शर्मा भन्नुहुन्छ– ‘नेपालले आवश्यक परे अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी अस्थायी शरणार्थी शिविरका लागि सोच बनाउने हो कि ।’

नेपाल भू–राजनीतिक रूपमा भारतमा निर्भर छ । अधिकांश पेट्रोलियम, औषधि र खाद्य आपूर्ति भारत भएर आउँछ । युद्धको अवस्थाले यी मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट निम्तिन सक्छ । त्यसैले नेपालले वैकल्पिक उपायका बारेमा अहिलेदेखि नै सोच बनाएर अघि बढ्नुपर्ने सुरक्षाविद् शर्मा बताउनुहुन्छ ।

कूटनीतिक रणनीति
नेपालले परम्परागत तटस्थ नीति कायम राख्दै दुई छिमेकीबीच सन्तुलन खोज्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं नेपाल बेइजिङ वा दिल्लीको पक्षधर होइन । नेपालले कुनै पनि सैन्य गठबन्धनमा नलाग्ने घोषणा गरेकाले नेपालले सोही रणनीति लिनुपर्ने सुरक्षा मामिलाका जानकार डा. दीपकप्रकाश भट्ट बताउनुहुन्छ ।

आर्थिक प्रभाव
अर्थशास्त्री डा. रविन्द्रमान प्रधानका अनुसार नेपालको ठूलो व्यापार भारतमा निर्भर रहेकाले भारत–पाकिस्तान युद्धले आपूर्ति सञ्जालमा अवरोध ल्याउन सक्छ । पेट्रोलियम पदार्थ, खाद्यान्न र अन्य उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि हुन सक्ने चेतावनी दिनुभएको छ ।
युद्धले भारतको आर्थिक स्थायित्वमा पनि चोट पु¥याउने भएकाले त्यसको असर भारतीय मुद्रा कमजोर देखिन सक्छ, जसको अप्रत्यक्ष प्रभाव नेपालमा भारतीय मुद्रासँग सम्बन्धित आर्थिक कारोबार र रेमिट्यान्समा पर्न सक्ने प्रधान बताउनुहुन्छ ।

शरणार्थी संकटको सम्भावना
मानवअधिकारवादी ऋतु पोखरेलले भन्नुभयो– ‘भारत–पाकिस्तान युद्धको स्थितिमा, विशेष गरी भारतका मुस्लिम समुदाय र कश्मीर क्षेत्रबाट विस्थापित हुने मानिसहरू नेपाल हुँदै अन्य देशतर्फ सर्न सक्ने सम्भावना छ । त्यसले नेपालमा शरणार्थी व्यवस्थापनको चुनौती थप्न सक्छ ।’ यसरी, युद्धको सम्भावनाले नेपाललाई प्रत्यक्ष, अप्रत्यक्ष दुवै रूपमा प्रभाव पार्न सक्छ । नेपालले अहिले नै आन्तरिक तयारी, कूटनीतिक संवाद र आपत्कालीन योजना बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।