शिक्षकले ढुंगा हाने, प्रहरीले लाठी र पानीको फोहोरा

उग्र बन्दै शिक्षक आन्दोलन

7.24k
Shares

–महासंघ भन्छ: घुसपैठ भयो
–एक पत्रकारसहित ६४ शिक्षक घाइते, केहीको अवस्था गम्भीर
–महासंघले थप शिक्षक बोलायो

काठमाडौं ।

शिक्षक महासंघको आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ । २६ दिनदेखि जारी आन्दोलनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले बानेश्वरस्थित संसद् भवनमा प्रवेश गर्न निषेधित क्षेत्र तोड्न खोजेपछि पानीको फोहोरा हानेको हो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । शुरूमा घम्साघम्सी भएको थियो । निषेध क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले कारबाही शुरू गरेको हो ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्मको जारी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षकले निषेधित क्षेत्र तोड्ने ढृष्टता गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । शिक्षक महासंघका एक घटक संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाका अनुसार शान्तिपूर्ण प्रदर्शनका क्रममा एक जनाले आक्रोशपूर्ण नारा लगाउँदै निषेधित क्षेत्र प्रवेश गर्न खोजेका थिए । तीनै व्यक्तिको लहलहैमा अन्य शिक्षकले पनि निषेधित क्षेत्र प्रवेश गर्न खोजेका थिए । त्यही क्रममा भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरासँगै लाठीचार्ज गरेको थियो ।

बदलामा शिक्षकले पनि प्रहरीमाथि ढुंगामुढा गरेका थिए । महासंघले हिजोको आन्दोलनमा सरकारी घुसपैठ भएको आरोप लगाएको छ । घुसपैठमा कसको संलग्नता थियो भन्ने विषयमा महासंघले अनुसन्धान गर्ने जनाएको छ । प्रहरीको लाठीबाट ६४ शिक्षक र कर्मचारी घाइते भएका छन् । घाइतेमध्ये २८ सिभिल, ४ एभरेस्ट र ३२ जनालाई ट्रमा सेन्टरमा भर्ना गरेको छ । तीमध्ये करिब आधा दर्जन शिक्षकको अवस्था गम्भीर छ । प्रहरीले गम्भीर घाइते शिक्षकलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
प्रहरीको लाठीबाट प्राइम टेलिभिजनकी सविना कार्की घाइते हुनुभएको छ । आँखामा गहिरो चोट लागेकी पत्रकार कार्कीको तीलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । पत्रकारमाथि भएको प्रहरी दमनको नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस युनियनलगायत पत्रकार आबद्ध संघसंस्थाले कडा विरोध जनाएका छन् । ती संस्थाले आइतबार विज्ञप्ति जारी गरी भत्र्सना गरेका हुन् ।

शिक्षक आक्रोशित भएपछि शुरूमा निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट फालेका थिए । शिक्षकहरूले केपी ओली तिम्रो पाराले, दुःख पायो साराले, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए । सयौँको संख्यामा रहेका शिक्षकहरूले एकाएक ब्यारिकेट फाल्न थालेपछि नसकेर प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको थियो ।

प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि आन्दोलनरत शिक्षकहरूले गृहमन्त्रीको राजीनामा मागेका थिए । २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू हिजोबाट आक्रोशित भएका हुन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले घाइते शिक्षकहरूको ट्रमा सेन्टर, एभरेस्ट र सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँले आन्दोलनलाई थप शक्तिशाली बनाउन देशभरका शिक्षकलाई फेरि राजधानी बोलाएको बताउनुभयो । घाइते शिक्षकहरूको उपचारको जिम्मा सरकारले लिनुपर्ने महासंघको माग छ । यसैबीच शिक्षक अध्यक्ष सुवेदीले ऐन नआएसम्म शिक्षक आन्दोलन जारी रहने बताउनुभएको छ ।
महासंघले सरकारलाई पठायो ९ बुँदे निर्णय

१.सबै शिक्षक र कर्मचारीको स्वास्थ्य उपचारका लागि सातओटै प्रादेशिक अस्पताल र काठमाडौंस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने ।
२.राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्तालगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ठ प्रदान गर्ने ।
३.प्रारम्भिक बाल विकास सहजकर्ता (बाल विकास शिक्षक) र विद्यालय कर्मचारी लेखापालका लागि खरिदारसरह दरबन्दी कायम गरी सो पद बमोजिम प्रति महिना ३२,९०२ तलब उपलब्ध गराउने । त्यसै गरी कार्यालय सहयोगीका हकमा श्रेणीविहीन कर्मचारीसरह प्रतिमहिना रकम २६,०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने ।
४.आव २०८२ र ०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरिदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निमावि तृतीयको नायब सुब्बा सरह (१० ग्रेड), माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड संख्या कायम गर्ने ।
५.स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामतीसरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने । साथै लामो बिदा (४५ दिने) मा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने ।
६.संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने ।
७. नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने ।
८.निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीयसरह हुने व्यवस्था गर्ने ।
९.महासंघद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक, शिक्षक र कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कार्यबाही बदर गरिनुपर्ने ।