आगामी वैशाख २६ गते रिलिजमा आउने सामाजिक कथाको फिल्म जारमा समावेश ए ठूली बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ।
पवन गिरी र झुमा लिम्बुको स्वर रहेको लोकलयमा आधारित गीतमा शब्द रचना हर्क साउद र संगीत झुमा लिम्बु स्वयंको छ। गीतले प्रेमको कुरा गर्छ। प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतीक्षाको बयान गरेको छ। सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाइमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतले भनेको छ।
लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भनेर चिन्ता गर्ने कोमल हुदयकी प्रेमिकाको कथा गीतमा छ। लाहुरमा रहेको प्रेमीले पनि गाउ“मा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले आफू पूर्ण रहेको भाव गीतमा छ।
स्थानीय ग्रामीण जनजीवन चित्रण गरिएको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, गीताञ्जली थापालगायत फिचर्ड छन्। १८ सयको दशकमा नेपाली समाजमा भएको यथार्थ घटनामा आधारित जार साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा बनेको छ। फिल्मले २ सय २५ वर्ष पुरानो विषयको कथा भन्ने निर्देशक फूर्वा छिरिङ लामाले बताए।
फेरि टेल पिक्चर्सको ब्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतका कलाकारले अभिनय गरेका छन्। त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा कार्यकारी निर्माता रहेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, सरवानन इलावार्सुको छायांकन र अखिलेश राईको सम्पादन रहेको छ।











प्रतिक्रिया