डिजिटल प्रविधिको विकाससँगै नेपाली सञ्चारमाध्यमहरूको स्वरूपमा पनि आमूल परिवर्तन आएको छ । परम्परागत सञ्चारमाध्यमहरू (छापा, रेडियो र टेलिभिजन)बाट डिजिटल प्लेटफर्मतर्फको रुपान्तरणले सञ्चारको पहुँच, स्वरूप, सामग्री र प्रभावलाई व्यापक बनाएको छ । यति बेला युट्युब, फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जाल माध्यमहरू जनमानसमा प्रभावशाली बन्दै गएका छन् । यसले मिडिया मात्र होइन, रोजगारी, शिक्षा, अर्थतन्त्र, सूचना पहुँच र जनचेतनाको स्वरूपमा समेत ठूलो प्रभाव पारेको छ ।
वर्तमान अवस्था:
नेपालमा यति बेला विश्वबजारका प्रायः सबै डिजिटल मिडियाको प्रयोग भइरहेको छ । विशेष गरी सन् २०१५ पछि विकासमा गति वृद्धि भएको हो । दूरसञ्चार सेवाप्रदायकले फोरजी सेवा शुरु गरेपछि देशभर इन्टरनेटको पहुँच विस्तार भयो । त्यससँगै डिजिटल सामग्री उत्पादकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । सन् २०२५ को प्रारम्भसम्म आइपुग्दा नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या झन्डै २ दशमलव ७ करोड पुगेको तथ्यांक पाइन्छ ।
अहिले युट्युब, फेसबुक, टिकटकलगायतका प्लेटफर्ममा सक्रिय सामग्री उत्पादकहरूको संख्या लाखको संख्यामा पुगेको छ । युट्युबबाट आम्दानी गर्ने नेपाली सामग्री निर्माताको संख्या उल्लेख्य छ । सन् २०२४ को तथ्यांकअनुसार नेपालमा १ हजार ५ सयभन्दा बढी युट्युब च्यानलहरूले मासिक हजार डलरभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
एक अपुष्ट तथ्यांकअनुसार नेपालमा फेसबुकका १ करोड २० लाख भन्दा बढी नेपाली सक्रिय प्रयोगकर्ता, युट्युबका १ करोड सक्रिय दर्शक, टिकटकका ९० लाख, इन्स्ट्राग्रामका ४० लाख, लिङदेनका करिब ७ लाख प्रोफेसनल प्रयोगकर्ता रहेको अनुमान छ । यी तथ्यांकहरूले नेपालमा डिजिटल मिडियाका लागि ठूलो दर्शक वर्ग रहेको देखाउँछ ।
रोजगारी र उद्यमशीलतामा नयाँ आयाम:
डिजिटल मिडियाको विकाससँगै नयाँ प्रकारका रोजगारी सिर्जना भएका छन् । सामग्री सम्पादन, भिडियो निर्माण, अनलाइन पत्रकारिता, ग्राफिक्स डिजाइन, एनिमेसन, डिजिटल मार्केटिङ, एसईओ विशेषज्ञता, इमेल तथा बजार प्रवद्र्धन, सामाजिक सञ्जाल व्यवस्थापनजस्ता क्षेत्रमा धेरै युवाहरू सक्रिय भएका छन् । बेरोजगारी समस्याले थिचिएको नेपाली युवा पुस्ता अब डिजिटल प्लेटफर्मबाटै आफ्नो उद्यम शुरु गर्न थालेका छन् । युट्युब, फेसबुक भिडियो, टिकटक, पोडकास्ट र न्यूज पोर्टलजस्ता माध्यमहरूबाट आय आर्जन गर्न सकिने संरचना तयार हुँदै गएको छ ।
आम्दानीका स्रोतहरू:
डिजिटल मिडियाबाट आम्दानी गर्न ब्रान्ड स्पोन्सरसिप र इन्फ्लुएन्सर मार्केटिङ, ई–कमर्स इन्टेग्रेसन, ई–लर्निङ प्लेटफर्म निर्माण गर्ने सम्भावना छ । नेपालमा लोकप्रिय डिजिटल मिडिया विधाहरूमा भिडियो कन्टेन्ट, लोकसंस्कृति, हास्य, मोटिभेसन, अनलाइन समाचार पोर्टल र पोडकास्ट अगाडि छन् । डिजिटल मिडियाबाट हुने आम्दानीको प्रमुख स्रोतहरूमध्ये देशभित्रको विज्ञापनबाहेक युट्युबबाट गुगल एडसेन्स, प्रायोजन, उत्पादन बिक्री, मार्केटिङ प्रमुख छन् । युट्युबबाट ६–१२ महिनाको प्रयासपछि आम्दानी शुरु गर्न सकिन्छ भने फेसबुक र टिकटकमा ३–६ महिनामै विज्ञापन वा गिफ्टमार्फत आय शुरु हुन्छ । न्यूज पोर्टलबाट गुगल एड्सेन्स र सदस्यता शुल्कमार्फत १२–२४ महिनामा आम्दानी हुने गरेको देखिन्छ ।
नेपालमा विज्ञापन बजारको अवस्था:
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १ प्रतिशतभन्दा न्यून रकम बराबरको विज्ञापन बजार रहेको छ । विज्ञापन बोर्डका लागि कम्युनिकेसन एन्ड रिसर्च इनिसिएटिभ नेपालले २०७९÷८० मा गरेको अध्ययनअनुसार पत्रपत्रिका, रेडियो र टेलिभिजनमा छुटअघिको विज्ञापनको कुल कारोबार ३० अर्ब ६१ करोड ८० लाख र छुटपछिको कारोबार १३ अर्ब २३ करोड १९ लाख रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७८÷७९ मा नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब ३२ करोड हुँदा नेपालमा विज्ञापनको बजार छुटअघि ३० अर्ब ६१ करोड ८० लाख रहेको देखिएको छ । जसअनुसार विज्ञापन बजारको हिस्सा जीडीपीको ०.७५ प्रतिशतको हाराहारी देखिन्छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जीडीपी साढे ५७ खर्ब रुपियाँ रहेको आँकलन गरिरहेका बेला उल्लिखित तथ्यांकलाई आधार मान्ने हो भने यति बेला नेपालको विज्ञापन बजार ५० अर्ब रुपियाँ हाराहारीको हुनुपर्ने हो । तर, परम्परागत मिडिया (पत्रपत्रिका, रेडियो, टीभी)मा विज्ञापन प्रवाहको अवस्थालाई बजार विस्तार त्यति ठूलो आकारमा भएको देखिँदैन । विज्ञापन बजार संकुचन हुँदै जाँदा परम्परागत माध्यमभन्दा वैकल्पिक माध्यम डिजिटल मिडियामा विज्ञापन प्रवाह हुने क्रममा तीव्र वृद्धि भइरहेको छ । औसत वार्षिक १५ प्रतिशतका दरले विज्ञापन बजार वृद्धि हुँदै गएको विभिन्न तथ्यांकले देखाउँछ । जसअनुसार हाल नेपालमा १५ देखि १८ अर्ब रुपियाँको खुद विज्ञापन बजार (छुटपछिको) रहेको मानिन्छ । तर, पत्रपत्रिका, रेडियो, टीभीमा १० अर्बभन्दा कम विज्ञापन प्रवाह हुने गरेको छ ।
जसमध्ये करिब ६० प्रतिशत सरकारी कार्यालयको रहेको छ । उल्लिखित तथ्यांकका आधारमा विश्लेषण गर्ने हो भने ७ अर्ब रुपियाँभन्दा बढीको विज्ञापन वैकल्पिक माध्यम (डिजिटल प्लेटफर्म, होडिङ बोर्ड, डिस्प्ले बोर्ड, पर्चा, पम्पलेट आदि) मार्फत गइरहेको छ । एडस्टार नामक संस्थाले सन् २०२० मा गरेको अध्ययनअनुसार नेपालमा डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापन १ अर्ब रुपियाँको थियो । त्यसरी गरिने विज्ञापन हरेक वर्ष ३५ प्रतिशतसम्मले वृद्धि हुँदै गएको छ । तर, कोभिड महामारीपछि पत्रपत्रिकामा हरेक वर्ष ३० देखि ३५ प्रतिशत, रेडियोमा १० देखि १५ प्रतिशत, टेलिभिजनमा ८ देखि १० प्रतिशतका दरमा विज्ञापन घटेको अध्ययनले देखाएको छ । हाल विज्ञापनको प्रवृत्ति हेर्ने हो भने पत्रपत्रिका, रेडियो, टेलिभिजनलगायत परम्परागत माध्यहरूबाट अनलाइन वा डिजिटल माध्यमतर्फ विज्ञापन स्थानान्तरण हुने गरेको देखिन्छ ।
विज्ञापन स्थानान्तरण:
प्रविधिको द्रुत विकास र उपभोक्ताहरूमा देखिएको बदलिँदो व्यवहार एवं जीवनशैली मुख्य कारण हो । जसका आधारमा भविष्यको विज्ञापन क्षेत्र डिजिटल विज्ञापनले वर्चश्व कायम गर्ने सहज अनुमान गर्न सकिन्छ । अहिलेको विज्ञापन बजार हेर्दा डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमा ५० प्रतिशतभन्दा बढी विज्ञापन गइसकेको छ । आर्थिक वर्ष २०७८÷७९ मा १४ अर्ब ७० करोड रुपियाँ बराबरको बजार आर्थिक वर्ष २०७९÷८० सकिँदा १२ अर्ब ५५ करोड रुपियाँमा झरेको नेपाल विज्ञापन संघ (आन) को अध्ययनले देखाएको छ । बजार विज्ञहरु भन्छन्, नेपालको विज्ञापन बजारको अवस्था बिग्रिएको होइन, ट्रयाक मात्रै परिवर्तन भएको हो । अनलाइन तथा डिजिटल माध्यमको विकास र विस्तारसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकालगायत परम्परागत माध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापन क्रमिकरूपमा बढ्दै गएको देखिन्छ । भविष्यमा परम्परागत मिडिया प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन पनि स्थान्तरण हुने प्रबल सम्भावना छ । अहिले वार्षिक ३०÷३५ करोडको हाराहारीमा हुँदै आएको उक्त विज्ञापन खर्चको ७० प्रतिशत औचित्यहीन देखिएको अध्ययन देखाएको छ ।
बजार संकुचन हुँदै जानुको कारण:
विज्ञापन बजार देशको अर्थतन्त्रसँग जोडिएकाले आर्थिक गतिविधिसँग जोडिन्छ । सन् १९९० देखि देशले उदार अर्थतन्त्र अँगालेपछि सञ्चारमाध्यमको तीव्र विकास भएसँगै विज्ञापन क्षेत्रले गति लिन थाल्यो । तर माओवादी द्वन्द्व, तराई आन्दोलनदेखि भूकम्प र कोभिड माहामारीलगायतका कारण अर्थतन्त्र शिथिल बन्दै गयो । त्यसको प्रत्यक्ष असर विज्ञापन बजारमा पनि प¥यो । त्यसबाहेक विभिन्न नीतिगत तथा व्यावहारिक समस्याहरू पनि आउन थाले । मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा रोक, बिमा, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सीमा निर्धारण तथा विज्ञापनलाई ब्रान्ड स्थापित गराउने माध्यमभन्दा पनि फजुल खर्चका रुपमा लिने सोच, कर्पोरेट कल्चर विकास नहुनुलगायतका कारण पनि मुख्यरुपमा देखिएको छ ।
त्यस्तै नेपालमा विदेशी ब्रान्डका आयातीत वस्तुको खपत उल्लेख्य मात्रामा भए पनि तिनीहरूको विज्ञापन निकै कम मात्रामा भइरहेको पाइन्छ । विज्ञापनका लागि तिनीहरूलाई प्रोत्साहित गर्ने नीति तथा कानुन नहुँदा विज्ञापनको आकार आशातीत रूपमा बढ्न नसक्ने मात्रै होइन सरकारको राजस्वसमेत गुमिरहेको अवस्था छ । पछिल्लो समय सामाजिक सञ्जालमा विज्ञापन दिने प्रवृत्ति बढ्न थालेसँगै राजस्वमा थप क्षति भएको छ । आनको तथ्यांकअनुसार विज्ञापन एजेन्सीहरूबाट सरकारले ३ करोडभदा बढी राजस्व प्राप्त गर्दछ भने सञ्चारमाध्यमबाट पनि सोभन्दा बढी राजस्व प्राप्त गरेको छ । तर, डिजिटल प्लेटफर्म भएको खर्चले अपारदर्शिता बढाएको छ ।
आवश्यक सीप:
डिजिटल मिडियामा सफल हुन विविध सीप आवश्यक पर्छ । जसमा सामग्री सिर्जना, भिडियो सम्पादन, कथावाचनको कला, मोसन ग्राफिक, ग्राफिक डिजाइन, इन्फोग्राफिक, एनिमेसन, सामाजिक सञ्जाल व्यवस्थापन, वेबसाइट डिजाइन र विकास, एसईओ म्यानेजमेन्ट, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल विज्ञापन (फेसबुक÷गुगल विज्ञापन), वेब डेभलपर, सामग्री व्यवस्थापन प्रयोग, मोबाइल एप विकास, कन्टेट क्रिएटर, एडिटरजस्ता क्षेत्रहरू पर्दछन् ।
अवसर र चुनौतीहरू:
नेपालमा डिजिटल मिडियाले अवसरहरू प्रदान गरिरहेको छ । विशेष गरी नवप्रवर्तनशील सोच भएका युवाहरूका लागि सजिलो उद्यमशीलता, न्यून पूँजीमा व्यवसाय शुरु गर्न सकिने, गाउँदेखि शहरसम्म डिजिटल पहुँच विस्तार, वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता कम गर्ने विकल्प दिने । तर, सामग्रीको गुणस्तरमा एकरूपता अभाव छ, अनलाइन दुरुपयोग र भ्रामक सूचनाको समस्या बढ्दो छ, कानुनी तथा नीति निर्माणमा ढिलासुस्ती, उच्च प्रतिस्पर्धा र नक्कली फलोअर्सको बिगबिगी पनि व्याप्त छ ।
डिजिटल साक्षरता र नीतिगत सुधारको आवश्यकता:
सरकारले डिजिटल मिडियालाई अबको आर्थिक र सामाजिक विकासको प्रमुख आधारको रूपमा स्वीकार गरी नीतिगत सुधार आवश्यक छ । डिजिटल विज्ञापन नीति, अनलाइन पत्रकारिता मापदण्ड, सामाजिक सञ्जाल नियमन, डेटा सुरक्षा कानुन, बजार प्रवद्र्धन तथा ई–कमर्स कर व्यवस्था, सामग्री अधिकार र कपीराइट कानुन सुधारको आवश्यकता देखिन्छ ।
परम्परागत मिडियामाथि कालो बादल:
समयसापेक्षरूपमा परम्परागत मिडिया परिवर्तन हुन नसकेकाले पनि विज्ञापनदाताहरू डिजिटल सञ्चारमाध्यमतर्फ आकर्षित हुन थालेको देखिन्छ । डिजिटल प्लेटफर्ममार्फत सूचना प्रवाहमा सहजता, विज्ञापनको तत्काल प्रभाव पर्ने, डिजिटल माध्यमको अनुगमन गर्न सहज, विज्ञापनमा आकर्षक शैली अपनाउनु तथा प्रयोगकर्ताको बढ्दो संख्याले पनि परम्परागत माध्यमको आकर्षण घटेको हो । यद्यपि पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारमाध्यमहरूमा पनि विज्ञापन गर्ने क्रम रोकिएको छैन । तर, डिजिटल मिडिया आएपछि तुलनात्मकरूपमा कम प्राथमिकतामा परेको छ । तर कतिपयले भने परम्परागत माध्यममा विज्ञापनमा आएको गिरावट क्षणिक भएको र यिनीहरूको प्रभाव बिस्तारै पुनस्र्थापित हुने अनुमान गर्छन् ।
अन्त्यमा, डिजिटल मिडिया अब सूचना प्रवाहको मात्रै माध्यम होइन, रोजगारी, उद्यमशीलता, शिक्षा, सामाजिक सचेतना र आर्थिक विकासको आधार बनिसकेको छ । नेपालमा यसको दिगो विकासका लागि युवा, सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक छ । सही नीति, सीप विकास, संरचना विस्तार र डिजिटल साक्षरताको सुनिश्चितता हुँदै जाने हो भने नेपालले डिजिटल मिडियाको माध्यमबाट समावेशी र दिगो विकासको दिशा लिन सक्छ । स्मार्टफोन र इन्टरनेटको पहुँच बढ्दै जाँदा दर्शकहरूको रुचि डिजिटल सामग्रीतर्फ सर्दै गएको छ । विज्ञापनदाताले परिणाम मापन गर्न सकिने प्लेटफर्मलाई प्राथमिकता दिने भएको हुँदा हाल सञ्चालनमा रहेका परम्परागत सञ्चारमाध्यमले आफूलाई रुपान्तरण गर्दै डिजिटल प्लेटफर्ममा पनि लैजान जरुरी छ ।











प्रतिक्रिया