काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत प्रशासित काश्मीरको पहलगाममा मंगलवार भएको आतंककारी आक्रमणको भत्र्सना गर्नुभएको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले उक्त आतंकवादी आक्रमणको भत्र्सना गर्दै नेपाल भारतको साथमा रहेको बताउनुभएको हो । बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री ओलीले आतंकवादविरुद्ध दुवै देश मिलेर अघि बढ्ने जिकिर गर्दै नेपालले आतंकवादको सधैं निन्दा गरेको र पहलगामको घटनामा नेपाल आतंकवादविरुद्ध भारतसँगै उभिने बताउनुभयो । टेलिफोन संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले कश्मीरमा भएको क्रूर आतंककारी आक्रमणमा संलग्नलाई न्यायको कठघरामा उभ्याउने बताउनुभएको थियो ।
आफ्नी आमासहित काश्मीर घुम्न गएका बुटवलका सुदिप न्यौपाने पनि आक्रमणकारीको शिकार बन्न पुगेका थिए । उक्त ज्यान गुमाएका न्यौपानेको शव बुधबार मध्यरातमा नै नेपाल ल्याइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार न्यौपाने आमा, बहिनी र ज्वाँइसहित काश्मीर घुम्न जानुभएको थियो । आतंवादीहरूले न्यौपानको नाम सोधेपछि हत्या गरेका थिए भने छोरामाथि आक्रमण हुन थालेपछि आमा बचाउन जाँदा आतंकवादीहरूले आमामाथि पनि आक्रमण गरेको भए पनि उहाँ भने घाइते अवस्थामा भागेर ज्यान जोगाउन सफल हुनुभएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार सो क्षेत्रमा ठुलो संख्यामा नेपालीहरू कामका लागि जाने गरेका छन् । न्यौपानेका मामा बुटवल उपहमनगरपालिका–४ का वडाध्यक्ष दधिराम न्यौपालेले काश्मीर घुम्न न्यौपाने आफन्तसहित शनिवार नेपालबाट हिँडेको बताउनुभयो । बन्धुकधारीहरूले एक नेपाली, यूएईका एक र २४ जना भारतीयको हत्या गरेका थिए । उक्त आतंककारी हमलापछि अमेरिका, बेलायत, रुस, युरोपेली संघलगायतले घटनाको निन्दा गर्दै आतंकवाद विरुद्धको लडाईंमा भारतको साथमा रहेको प्रतिक्रिया दिएका छन् ।
घटनापछि साउदी अरबको भ्रमण छोट्याएर भारत फर्कनु भएका भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ’एक्स’मा हमलाको कडा शब्दमा निन्दा गर्नुभएको छ । खासै नाम नसुनिएको एउटा इस्लामिक समूहले उक्त घटनाको जिम्मेवारी लिएको छ । यो समूह पाकिस्तानी लस्कर ए तोइवासँग नजिक रहेको अनुमान गरिएको छ ।
पाकिस्तान भन्छ: हाम्रो संलग्नता छैन
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले कश्मीरको पहलगाममा भएको घटनामा पाकिस्तान संलग्न नभएको बताउनुभएको छ ।
उहाँले कश्मीरमा भएका घटनालाई भारत सरकारविरुद्ध फैलिएको घरेलु विद्रोहको संज्ञा दिँदै आक्रमणका लागि पाकिस्तानमाथि दोषारोपण गर्ने काम ‘सजिलो’ भएको टिप्पणी गर्नुभएको छ । भारत विभाजन भई पाकिस्तान बनेदेखि नै दुवै देशले काश्मीरको भूमि आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन् ।











प्रतिक्रिया