शिक्षक आन्दोलनलाई टुंग्याउन सक्लान् ?

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त


काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा सो दलका समानुपातिक तर्फका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको हो । शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि र प्रधानमन्त्रीसँग कुरा नमिलेपछि शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिनुभएको थियो । भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको शिक्षा मन्त्रीमा पन्त नियुक्त हुनुभएको हो । उहाँले बिहीबार शपथ गरी कार्यभार सम्हाल्नुहुनेछ ।

पन्त पछिल्लो समय विपक्षी दलमाथि खरो रूपमा उत्रँदै आउनुभएको थियो । पूर्व पत्रकार, लेखक तथा साहित्यकारसमेत रहनुभएका उहाँ बौद्धिक र तार्किक नेताका रूपमा रहनुभएको छ । पन्तलाई शिक्षा मन्त्रीको पहिलो चुनौतीको रूपमा तीन सातादेखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँग वार्ता गरी सहमति खोज्नुपर्ने दायित्व आइपरेको छ । पन्त यसअघि पनि २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा श्रममन्त्री हुनुभएको थियो ।

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ऊर्जा जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गर्नुभएको छ । तामाङलाई गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आग्रह गर्नुभएको थियो तर उहाँ राजीनामा दिन तयार नभएपछि सत्तारुढ दल काग्रेससँगको सहमतिका आधारमा तामाङलाई बर्खास्त गरिएको हो ।

राज्यमन्त्री तामाङ र ऊर्जामन्त्री दिपक खड्काबीच विद्युत् प्राधिकरणमा कुलमानलाई हटाउने विषयलाई लिएर विवाद हुँदै आएको थियो । यो विवाद उत्कर्षमा पुगेपछि उहाँ हटाइनुभएको हो । काग्रेसको भागमा रहेको ऊर्जा राज्यमन्त्री पद भने रिक्त नै राखिएको छ ।