सुन्दर कान्तिपुर अब धूलो, धुवाँ र कङ्क्रिटको शहर

2.54k
Shares

बोधिसत्व महामञ्जुश्रीले पवित्र नागदहलाई तलाउ नै रहन दिनुभएको भए कस्तो हुन्थ्यो होला काठमाडाैं ? वरिपरि पहाड अनि पहाडैभरि बस्ती, बीचमा ठूलो तलाउ, कति सुन्दर हुन्थ्यो होला काठमाडौँ ? त्यति बेला बोधिसत्व मञ्जुश्रीले अहिले जसरी काठमाडाँै प्रदूषित र कुरूप हुन्छ भन्ने थाहा पाएको भए पक्कै पनि चोभारको डाँडा काट्नुहुने थिएन होला ।

आज उहाँ कतै देवलोकतिर हुनुहुन्छ भने पक्कै पनि नागदहको पानी बाहिर निकालेकोमा पश्चात्ताप गरिरहनुभएको हुनुपर्छ ।
तिब्बती भाषामा हिमाली क्षेत्रमा रहेका काठमाडौँजस्ता उपत्यकाहरूलाई ‘बेयुल’ अथवा लुकेको देवभूमि÷पवित्रभूमि भनेर भनिन्छ । यति सुन्दर, विशाल र उर्वर भूमि भएको काठमाडाँै उपत्यका वास्तवमा देवभूमि नै हो । स्वयम्भू–पुराणका अनुसार, प्राचीनकालमा काठमाडौँ उपत्यका एउटा ठूलो तलाउ थियो, जसलाई ‘नागदह’ भनिन्थ्यो ।

काठमाडौँलाई घेरेर रहेका पहाडहरू अनि यहाँको मलिलो, कालो, तलैया माटोले पनि यसलाई पुष्टि गर्छ । तिब्बतबाट आएका बोधिसत्व महामञ्जुश्रीले आफ्नो तरबारले चोभारको डाँडो काटेर पानी निकालेको र यहाँ मानवबस्ती बसालेको किंवदन्ती छ । डाँडा काटेको चोभारको खोँच आज काठमाडौँको एउटा ऐतिहासिक सम्पदा बनेको छ र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पनि बनेको छ ।

२०३० सालमा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलबाट ४५ मिनेटको हवाई–उडानबाट म पहिलोपटक कान्तिपुरी नगरी अर्थात् काठमाडौँ शहर आएको थिएँ । चैत्र–वैशाखको समयमा पनि हिउँदेबाली, तरकारीहरूले हराभरा, आहा कति रमणीय देखिन्थ्यो काठमाडौँ शहर र पूरा उपत्यका ! माथि हवाई जहाजको झ्यालबाट देखिने ती दृश्यहरू साँच्चिकै रोमाञ्चक लाग्थे । हाम्रो गाउँतिर त्यस बेलासम्म हिउँदेबाली लगाउने चलन थिएन ।

मैले त्यो उमेरसम्म त्यति धेरै समथर मिलेको जमिन देखेको थिइन । रसिलो, रमणीय, आहा ! यस्तो सुन्दर ठाउँ पनि हँुदो रहेछ जस्तो लागेको थियो मलाई त्यति बेलाको काठमाडौँ उपत्यका । मङ्गलबजारको तरकारी बजार, मन्दिरको पेटीमा बेचिराखेका सेतो काउलीका पूmल अनि काउली किनेर फर्कँदा काउलीको पात खान पछि–पछि आउने सेतो भीमसेनलाई चढाएका ठूल्ठूला बोकाहरू, अहिले सम्झँदा पनि कति रमाइलो लाग्छ ती क्षणहरू !

तर त्यो सुन्दर कान्तिपुरी नगरी अहिले विश्वमा सबैभन्दा प्रदूषित शहर बनेको छ । त्यति बेलाको सुन्दर मानवबस्ती कान्तिपुरी नगरी अहिले महाविशाल तर महाप्रदूषित र अस्तव्यस्त कङ्क्रिटको शहरमा परिणत भएको छ । वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको स्तरभन्दा ४.९ गुणा बढेर यो नगरी विश्वमै सबैभन्दा प्रदूषित शहरमध्ये अग्रपंक्तिमा आउने शहर बनेको छ । खस्कँदै गएको काठमाडौँको वायुको गुणस्तरले लाखौँ नेपालीहरूको स्वास्थ्यमा गम्भीर चुनौती थपेको छ । विश्व स्वास्थ्य संगठनले काठमाडौँको बढ्दो वायु प्रदूषणलाई मृत्यु र अपाङ्गताको प्रमुख कारक ठानेको छ ।


मैले एक दशकभन्दा पहिले युवा–लेखक प्रसिद्ध कणेलको एउटा लेख पढ्ने मौका पाएको थिएँ । उक्त लेखमा उहाँले ‘काठमाडौँको वायु चुरोटको धुवाँभन्दा पनि हानिकारक भएको’ उल्लेख गर्नुभएको थियो । अहिले खोलानाला अतिक्रमण गरेर बनाइएका घर, अनियन्त्रित संरचनाहरूको कारण बाढीको प्रकोप पनि त्यत्तिकै बढेको छ । वर्षासँगै बस्तीहरूमा पानी पस्ने क्रम पनि अनपेक्षितरूपमा बढेको छ । वातावरणमा आएको ह्रास र अतिक्रमण गरेर बनाइएका घर–टहराहरूको कारण गत असोज महिनामा आएको तीन दिनसम्मको विनाशकारी बाढीको वितण्डाले दुई सयभन्दा बढी व्यक्तिको ज्यान गयो, हजारौँ घरहरू, ऐतिहासिक सम्पदा–स्थलहरू डुवानमा परे र नदी तथा खोलाकिनारका तमाम बाटाहरू बगाएको घटना हामी सबैका मनमा ताजा नै छन् ।

तीन दशकभन्दा बढीको प्रतीक्षापछि आएको मेलम्चीको पानीले पनि खानेपानीको समस्या समाधान गर्न सकेको छैन । ट्याङ्करको पानी किनेर खानुपर्ने अवस्था कायमै छ भने जमिनको पानीको सतह निक्कै तल झरेकोले पहिले बनाएका पानी तान्ने पम्पहरूबाट पानी आउन छाडेको छ । वायु प्रदूषण, ध्वनि प्रदूषण, पानी प्रदूषण, बढ्दो फोहरमैला र अव्यवस्थापनजस्ता समस्याले यहाँका बासिन्दाहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । विद्यालय जाने बालबालिकाको स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ । यति भएर पनि नेपालभरिका सबैलाई काठमाडौँमै घर चाहिएको छ, यतै बस्नुपरेको छ । काठमाडौँको जनसङ्ख्या सन् १९९० मा जम्मा ४ लाख थियो, त्यो संख्या सन् २०१५ मा १२ लाख पुगेको थियो र अहिले त्यही संख्या १७ लाखभन्दा बढी भएको बताइन्छ । यो क्रम अझ तीव्र गतिमा बढिरहेको छ । त्यति उर्बर काठमाडौँको जमिन अहिले कङ्क्रिटले छोपिएको छ, सुन्दर र हरित उपत्यका अहिले कुरूप र सुख्खा बनेको छ ।


देश सङ्घीयतामा गएको पनि झन्डै डेढ दशक पुगेको छ । सङ्घीय गणतन्त्रअन्तर्गत बनेका सातवटा प्रदेशहरूले पनि देशले धान्नै नसक्ने आर्थिक बोझ थप्नेबाहेक काठमाडौँको बढ्दो जनसङ्ख्याको चापलाई अलिकति पनि कम गर्न सकेको छैन । देशमा सबैभन्दा महँगा र राम्रा अस्पताल, डाक्टर, विद्यालयहरू काठमाडौँमै केन्द्रित छन् । अनि सबै नेपाली यहाँ बसोबास गर्न लालायित किन नहोऊन ? सङ्घीय संविधान लागू भएको यतिका वर्ष भइसकेर पनि सङ्घीय संविधानको भावनाअनुसार शक्ति विकेन्द्रीकरण हुन नसकेको आरोप प्रदेशका जनप्रतिनिधिहरूले लगाएको पाइन्छ ।

देश, गाउँ, शहर व्यवस्थित गर्न अनुशासन चाहिन्छ, सामाजिक चेतना, सामुदायिक भावना आवश्यक हुन्छ । हाम्रो देशका नेता, दलहरू कसैकोे पनि देश र जनतासँग प्रत्यक्ष सरोकार राख्ने यी र यस्ता विषयहरूमा ध्यान गएजस्तो लाग्दैन । बालबालिकाहरूलाई यी सबै कुरा सिकाउने जिम्मेवारी लिएका महँगा विद्यालयहरूकै गाडी धुवाँ छोडेर हँुइकिइरहेको देख्दा विरक्त लाग्छ । कमसेकम शिक्षाको जिम्मा लिएका शिक्षित वर्ग÷समूहहरूबाट त वातावरणका यस्ता कुराहरू उल्लङ्घन नगरिदिए कति उदाहरणीय हुने थियो ! यसको अतिरिक्त प्लास्टिकलगायतका फोहोरहरू जताततै फाल्ने र जलाउनेहरू पनि हाम्रो समाजमा कम छैनन् । यसरी जथाभावी फोहोर जलाउनेहरूलाई जरिवाना गर्न शुरु नगरेसम्म यस्तो विकृत अभ्यास हट्नेवाला छैन । बिजुली गाडीहरू (ईभी) मा कर घटाएर वातावरणमैत्री गाडीको खपत बढाउनु पनि अति जरुरी छ ।


अध्ययनको सिलसिलामा अस्ट्रेलियाको क्यानबेरामा रहँदा मैले कहिल्यै पनि स्कुल बसहरू कुदेको देखिन । त्यहाँ सरकारले शहरका ठाउँ–ठाउँमा राम्रा सरकारी विद्यालयहरू सञ्चालन गरेको हुनाले विद्यार्थीहरूले हाम्रो देशमा जस्तो बस चढेर टाढा–टाढा विद्यालय धाउनुपर्दैन । प्रायजसो सबै साइकलमा या त पैदल नै विद्यालय जान्छन् । हाम्रो छोरालाई पनि सेकेन्ड ह्यान्ड साइकल किनिदिएका थियौं र ऊ साइकलमै जाने–आउने गथ्र्याे । हाम्रोमा जस्तो गाडीले हानिदेला कि भन्ने डर त्यहाँ कहिल्यै भएन ।

काठमाडौँमा त अविभावकहरूलाई घरको ढोकामै आएर लैजाने र छाड्ने गाडी चाहिएको छ । वालबालिकाहरूलाई लैजान एउटा सानो बस्तीमा पनि दर्जनौँ स्कुल बसहरू दगुर्ने गर्छन् । उनीहरूलाई विद्यालय पुग्न र घर फर्कन घण्टौँ बसको यात्रा गर्नुपर्छ । यी बस्ती–बस्तीका साँघुरा बाटाहरूमा हुइँकिने स्कुल बसहरूले वातावरण प्रदूषण बढाउने मात्र हैन, बिहान हिँडडुल (मर्निङ–वाक) गर्न निस्कने ज्येष्ठ नागरिकहरूको सुरक्षामा पनि गम्भीर चुनौती थपेका छन् ।

हाम्रो देशमा पनि सरकारले शहरको निश्चित क्षेत्रभित्रका बालबालिकाहरूलाई त्यसै क्षेत्रभित्र अध्ययन गर्न स्तरीय र सर्वसुलभ विद्यालयको व्यवस्था गर्ने हो भने यसले वातावरण राम्रो मात्र बनाउँदैन, डिजेल–पेट्रोलमा खर्च हुने राष्ट्रको करोडौँ सम्पत्ति जोगाउन पनि टेवा पुग्नेछ । साथै, केही हदसम्म ट्राफिक समस्या कम गर्न पनि यस परिपाटीले राम्रो योगदान गर्ने थियो । यस्तो हुन सके सबैभन्दा महत्वपूर्ण कुरा त हाम्रा प्यारा बालबालिकाले रिङ्गटै लाग्ने गरी घण्टौँ बस चढ्नुपर्ने थिएन । यसमा सम्बन्धित स्थानीय तह, प्रदेश सरकार, सङ्घीय मन्त्रालयहरू, राष्ट्रिय योजना आयोग सबैको ध्यान जान जरुरी छ । हाम्रो बेवास्ता र लापर्वाहीले काठमाडौँ उपत्यकालाई थप प्रदूषित बनाउनुहुँदैन । यहाँको प्रदूषित र विषाक्त वायुले जनताको स्वास्थ्यमा अझ असर पार्नेछ । यसबाट ठूला नेताहरू पनि अछूतो रहलान् जस्तो लाग्दैन । बोतलको पानी विदेशबाट ल्याएजसरी श्वास फेर्न हावा विदेशबाट ल्याउन सम्भव भएजस्तो लाग्दैन ।
(लेखक शाक्य लुम्बिनी बौद्ध विश्वविद्यालयका पीएचडी स्कलर हुनुहुन्छ ।)