धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर


धनुषा।

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ। सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट सुशिल साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
साहकी ३० वर्षीया श्रीमती बबिता साहको अवस्था गम्भीर रहेको छ।

विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको उप्रहरीले जनाएको छ।

बबिताले सोमबार साँझ करिब ६ः४० बजे तीन सन्तानलाई विष खुवाएको र त्यसपछि आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी छ।

प्रहरीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरिरहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ।