‘सिमुलेसन ल्याब’को पूर्ण सदुपयोग होस्


शिशु मृत्युदर कमी गर्दै लैजाने सोचका साथ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मातृ तथा नवजात शिशु सिमुलेसन ल्याब भित्र्याइनु स्वागतयोग्य कुरा हो ।

सरकारी एउटै मात्र प्रसूति अस्पतालमा यस्तो खाले प्रविधि भित्रिदा समाजमा सकारात्मक स्वास्थ्य सन्देश पुग्नेछ । यति मात्र नभई आमा बन्दै गरेका महिलाहरुमा सुरक्षाको अनुभूति हुनुका साथै मानसिक तनावसमेत कम गर्न मद्दत मिल्नेछ ।

नेपालमा गर्भवती महिलाहरुले बच्चा जन्माउनु निकै समस्या र ज्यान नै दाउमा लगाउनुपर्ने अवस्था रहेका बेला यो प्रविधियुक्त सिमुलेसन ल्याब वन हर्ट वल्र्ड वाइडको सहयोगमा निर्माण भएको छ । यो ल्याब मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्नमा प्रयोग हुनेछ ।

उक्त ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भन्नुभयो, ‘यो ल्याबको प्रभावकारिता दीर्घकालीन हुनुपर्छ, साथै यस्ता ल्याब अब सबै प्रदेशमा विस्तार गर्नुपर्छ ।’ हुन त यस्ता भाषणभन्दा पनि सरकारले स्वास्थ्यका विषयमा के–कस्ता योजना तय गरेको छ र कति वर्षमा कुन स्थानमा ती योजना सम्पन्न हुन्छन् अनि आम नागरिक र राज्यको भूमिका के हुने हो ? भन्ने विषयमा सुन्न र बुझ्न चाहन्छन् नागरिकहरु ।

सातै प्रदेशमा यस्तो हुनुपर्छ भनिरहँदा त्यस्तो कसले गरिदिने ? भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । नेताहरुले बोल्दा पदको मर्यादा, जिम्मेवारी र विश्वसनीयतामा ध्यान दिनु जरुरी छ । जुन ठाउँमा जे देख्यो त्यो सबै ठाउँमा हुनुपर्छ भन्ने होइन । कहाँ केको आवश्यकता छ र राज्यको पहलमा कसरी पूर्ति गर्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर ध्यान दिइयोस् । जनस्वास्थ्यजस्तो गम्भीर विषयलाई हल्कारुपमा लिई कार्यकर्तालाई खुशी पार्न तालीका लागि भाषण नगरियोस् ।

मन्त्री पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तररुपमा अघि बढ्नुपर्नेछ भन्नुभयो । तर कहिलेसम्म कसरी शून्यमा झार्ने र त्यसका लागि राज्य, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयले के–के योजना बनाएको छ ? कहिलेसम्ममा शून्यमा झार्ने लक्ष्य लिएको छ ? भन्ने योजनासहित प्रस्तुत हुनुपर्छ । जनस्वास्थ्यका विषयमा नागरिक निकै चनाखो भइसकेका छन् । यस्ता विषयमा भाषण होइन, काम गरेर देखाउनुपर्छ । मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको छ ।

आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गर्छ भनिरहँदा हिजोको बजेटमा के व्यवस्था थियो र आज के–के कुरामा थप सुधार गरियो ? भन्ने चासोको विषय हो । ल्याब भर्खर भित्रिएको छ । त्यसले दिने नतिजा हेर्नै बाँकी छ । त्यसको परिणाम हेरेर मात्र विस्तार गर्ने या सुधार गर्ने भन्ने विषयमा सरकार निष्कर्षमा पुग्नुपर्छ । दातृ निकायको सहयोगमा एउटा ल्याब बन्यो ।

त्यसलाई पूर्णरुपमा सदुपयोग गर्न दक्ष जनशक्ति देशमा छन् वा छैनन् ? छैनन् भने कसरी कहिलेसम्म उत्पादन गर्ने र भएकालाई आवश्यक पर्ने तालिम, क्षमताको विकास गर्नेजस्ता मसिना विषयमा राज्यको ध्यान पुग्नुपर्छ । सरकारले हौसिएर होइन, ध्यान दिई दीर्घकालीन योजना बनाएर मात्र बोल्नुपर्छ । जहाँ पुग्यो त्यहीँ त्यस्तै संसारको परिकल्पना गर्ने र बोलिहाल्ने गरेर स्वास्थ्य सुधार सम्भव छैन । अस्पतालको कुपन्डोल शाखामा यो सिमुलेसन ल्याब सञ्चालनमा ल्याइएको छ । ल्याब शुरु गर्नु ठूलो कुरा हो तर त्योभन्दा ठूलो कुरा निरन्तररुपमा सञ्चालन गर्नु हो । यतातर्फ पनि सरकारको ध्यान पुगोस् ।