१९ जोडीको सामूहिक विवाह


भद्रपुर ।

विश्व हिन्दु परिषद् नेपालले झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह गराएको छ ।

अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्लाका १९ जोडीको सामूहिक विवाह गराइएको हो ।
वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

सामूहिक विवाहमा वरवधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडावर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्थासमेत गरिदिएको उहाँको भनाइ छ ।

अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको जनाइएको छ ।