बजेट अधिवेशन बोलाउने सरकारको निर्णय


काठमाडौँ।

सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले आगामी वैशाख १२ गते संसदका दुवै सदनको बैठक बोलाउने गरी सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न आवश्यक कानुन ल्याउने निर्णय पनि गरेको छ।
विद्यालय शिक्षा ऐन अहिले संसदीय समितिमा विचाराधीन छ।संसदबाट चाँडै विधेयक पारित गर्ने गरी छलफल भएको बताइएको छ।

शिक्षा ऐन ल्याउन दबाब दिनका लागि १४ दिनदेखि सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँमा सडक प्रदर्शन गरिरहेका छन्।