वैदेशिक रोजगारमा जानेको आकर्षण बढेन

सामाजिक सुरक्षा कोष

2.16k
Shares

सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गर्न सहज च्यानल, प्रचार–प्रसारमा तीव्रताका साथै नयाँ अफर ल्याउने तयारीमा कोष

काठमाडौं ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गरे पनि कोषमा संलग्न हुनेको संख्या कम देखिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार १५ लाख ५१ हजार २ सय २५ जना वैदेशिक रोजगार कोषमा आवद्ध भए पनि सामाजिक सुरक्षा कोषमा भने १ लाख ५५ हजार १ सय २२ जना श्रमिकले मात्र नियमित रकम जम्मा गर्ने गरेको पाइएको छ ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये नियमित रकम जम्मा गर्ने १० प्रतिशतमात्र रहेको बताउनुभयो । निर्देशक अधिकारीले सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गर्न सहज च्यानल, प्रचार–प्रसारमा तीव्रताका साथै नयाँ अफर ल्याउने तयारीमा कोष लागेको जानकारी दिनुभयो । प्रत्यक्ष रूपमै विभिन्न आर्थिक सुविधा प्राप्त गर्न सकिने भए पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षातर्फ आकर्षित नहुनुको कारण जनचेतनाको कमी हुनसक्ने विज्ञहरूले जनाएका छन् ।

वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार भएकाहरूलाई कोषले २०७९ साल चैतदेखि आफ्नो कार्यक्रममा आबद्ध गराउन शुरू गरेको हो । दुई वर्ष बितिसक्दा पनि वैदेशिक रोजगारमा गएका श्रमिकलाई आवद्धता गर्न नसक्नु कोषको कमजोरी रहेको जानकारहरू बताउँछन् । श्रम स्वीकृति लिँदा नै कम्तीमा एक महिनाको योगदान गरेको हुनुपर्छ । त्यस्तो भएन भने श्रमिकले श्रम स्वीकृति नै नपाउने व्यवस्था गरिएको छ ।

यसरी एक महिनाको बुझाउने र पछि कुनै पनि रकम नबुझाउँदा दुर्घटनालगायत सुविधा नपाइने कोषले जनाएको छ । योगदान गर्नेमध्ये अधिकांशले श्रम स्वीकृति लिँदा अनिवार्य योगदान गर्नै पर्ने सरकारी नियमका कारणमात्र कोषमा आबद्ध भएको जस्तो देखिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले कस्ता सुविधा पाउँछन् ?
सामाजिक सुरक्षा कोषमा आबद्ध भएका र नियमित योगदान गर्ने वैदेशिक रोजगारीमा गएका नेपालीले दुर्घटना हुँदा वा अशक्त हुँदा र आश्रित परिवारले समेत सुविधा पाउने व्यवस्था छ । त्यस्तै वृद्धावस्थामा पाइने सुविधा र छोराछोरीलाई दिइने शैक्षिक वृत्तिसम्बन्धी सुविधाहरू पनि रहेको कोषले जनाएको छ ।

ती सुविधा पाउन वैदेशिक रोजगारीमा गएकाले मासिक रूपमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१ दशमलव ३३ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने कानुनमा उल्लेख गरिएको छ । कसैले अग्रिम रूपमा त्यस्तो रकम जम्मा गर्न चाहेमा त्यो सुविधा पनि दिइएको कोषको जानकारी पुस्तिकामा उल्लेख छ ।

दुर्घटना तथा अशक्त अवस्थामा पाउने सुविधाका लागि कामदारले पछिल्लो १२ महिनामा कम्तीमा नौ महिना योगदान गरेको हुनुपर्छ । त्यस्ता योगदानकर्तालाई दुर्घटना भएर अस्पतालमा भर्ना भएको अवस्थामा औषधि उपचारका लागि वार्षिक रूपमा एक लाख रुपियाँसम्मको शोधभर्ना गर्ने गरिन्छ । त्यस्तै, दुर्घटनाका कारण अक्षम बनेर काममा नर्फकेसम्म नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम पनि कामदारले पाउँछन् ।

दुर्घटनाका कारण स्थायी रूपमा अशक्त भएमा त्यसको अनुपातमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन अक्षमता पेन्सन दिने व्यवस्था गरेको छ । योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम प्रतिफलसहित फिर्ता दिने व्यवस्था छ ।

त्यस्तै, आश्रित परिवारका सदस्यलाई पनि सुविधा दिइने सामाजिक सुरक्षा कोषले जनाएको छ । त्यस्ता सदस्यमा विवाहित भएमा योगदानकर्ताको पति वा पत्नी र विवाह नभएको भए एकाघरको योगदानकर्ताको आमा वा बाबुलाई मानिएको छ । मृतकको परिवारको सदस्यलाई नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत प्रतिमहिना पेन्सन दिने कोषले जनाएको छ । एक्काइस वर्ष ननाघेका बालबालिकालाई नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत शैक्षिक वृत्ति पनि दिइन्छ ।

त्यस्तै, मृतकको अन्तिम संस्कारका लागि २५ हजार रुपियाँसम्म खर्च पनि दिने कोषले जनाएको छ । पेन्सन प्राप्त गर्न वैकल्पिक रोजगारी नभएको र दोस्रो विवाह नगरेको आश्रित सदस्यमात्र योग्य हुने छ । त्यस्तै, ३६ महिनासम्म योगदान गरेपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म सापटी लिन पाइन्छ । निवृत्तभरण योजनाअन्तर्गत भने ६० वर्षपछि आफ्नो योगदानका आधारमा आजीवन निवृत्तभरण पाइन्छ । उक्त योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी मासिक निवृत्तभरण निर्धारण हुने कोषले जनाएको छ ।

कोषका अनुसार समय–समयमा मुद्रास्फीति अनुसार समायोजन हुँदै पेन्सन पनि बढ्दै जान्छ । साठी वर्ष उमेर पुग्दै गर्दा १८० महिनाभन्दा कमको योगदान भएमा एकमुस्ट रकम निकाल्न मिल्ने व्यवस्था गरिएको छ । कोषबाट निवृत्तभरण पाइरहेको व्यक्तिको मृत्यु भएमा त्यस्तो व्यक्तिको पति वा पत्नीलाई निवृत्तभरणको ५० प्रतिशत आजीवन मासिक रूपमा दिने कोषले जनाएको छ ।