गणतन्त्र विरुद्धका भ्रमहरू निस्तेज हुनेछन्: राष्ट्रपति पौडेल


काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र विरुद्ध सिर्जना गर्न खोजिएको प्रयत्न र भ्रमहरू एक एक गरी निस्तेज हुँदै जाने बताउनुभएको छ ।
नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रूपले स्वतन्त्रताको उज्यालो एवम् फराकिलो लोकमार्गमा मुलुक प्रवेश गरिरहेको र आफ्नो भाग्य तथा भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको बताउनुभएको छ ।

‘एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सिर्जना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जानेछन् ।’

राष्ट्रपति पौडेलले भन्नुभएको छ । समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउँदै राष्ट्रपति पौडेलले नयाँ वर्षसँगै हामी सबैले जनताको यही चाहना पूरा गर्ने संकल्प गर्नुपर्ने र आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न सबैलाई अपिल गर्नुभएको छ ।