वीरगन्जगमा १२ घण्टा थपियो कर्फ्यु


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप गरेको छ ।

दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको थियो ।झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारीहरू र सर्वसाधारण गरी ४३ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।