जितो अन्तर्राष्ट्रिय व्यापार संगठनले गर्यो वैश्विक कार्यक्रम


काठमाडौं
जितो अन्तर्राष्ट्रिय व्यापार संगठन (जितो) नेपाल च्याप्टरले अध्यक्ष कमल बेगानीको नेतृत्वमा महावीर जयन्तीको पूर्वसन्ध्या पारेर विश्व नवकार महामन्त्र दिवसको महत्त्वपूर्ण वैश्विक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम भगवान् महावीर जैन निकेतन काठमाडौंमा सम्पन्न भएको थियो भने जितो एपेक्सद्वारा विभिन्न च्याप्टरमार्फत गरिएको विश्वव्यापी उत्सवको एक भाग थियो ।
कार्यक्रममा १ करोडभन्दा बढी भक्तजन र १ सय ८ भन्दा बढी देशका सहभागीले शान्ति, आध्यात्मिक जागरण र विश्वव्यापी सद्भावका लागि सहभागिता जनाएका थिए ।
नवकार महामन्त्र जैन धर्ममा अत्यन्त महत्त्वपूर्ण मानिन्छ, यो मन्त्रले जैन दर्शनको सारको प्रतिनिधित्व गर्दछ । नवकार मन्त्रको जपले मन, शरीर र आत्माको शुद्धीकरण गर्दछ, जसले शान्ति र आध्यात्मिक उन्नति ल्याउँछ । यसमा पाँच प्रमुख प्रणाम छन्, अरिहन्त, सिद्ध, आचार्य, उपध्याय र साधु जसले अनुयायीलाई मोक्षको मार्गमा मार्गदर्शन गर्छ ।
नवकार महामन्त्र केवल जैन समुदायका लागिमात्र होइन, सम्पूर्ण मानवता र सबै प्राणीको भलाइका लागि छ । यस मन्त्रले अहिंसा, सत्य र करुणाजस्ता सार्वभौमिक मूल्यको सम्झना गराउँछ र सबैलाई आध्यात्मिक शान्ति र उन्नतिको मार्गमा अघि बढ्न प्रेरित गर्दछ ।

जैन धर्म, जो संसारको एक प्राचीन धर्म हो, सबै प्राणीको सम्मान गर्न र आत्मअनुशासन, ध्यान र आध्यात्मिक बोधको महत्त्वमा जोड दिन्छ । नवकार महामन्त्र दिवसको उत्सवले जैन शिक्षामा साझा श्रद्धामार्फत विश्वव्यापी एकता र शान्ति ल्याउने एक शक्तिशाली अवसर भएको थियो ।

कार्यक्रममा लाखौं भक्तजनहरूले नवकार मन्त्रको जप गरेका थिए र यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए । उनको सहभागिता र धेरै प्रसिद्ध व्यक्तित्व र चर्चित हस्तीहरूको समर्थनले जैन धर्म र यसको सार्वभौमिक मूल्यहरूको महत्त्वलाई अझ बढी ऊजागर गरेको छ ।

यस ऐतिहासिक कार्यक्रममा भएको अत्यधिक सहभागिता र यसको विशाल आकारको सम्मानमा जितो नेपाल च्याप्टर गिनिज वल्र्ड रेकर्डका लागि आवेदन प्रक्रियामा रहेको छ जसले सबैभन्दा धेरै मानिसहरूले एकै समयमा मन्त्र जप गरेको रेकर्ड कायम गर्न प्रयास गरिरहेको छ ।

कार्यक्रमको ट्यागलाइन, ‘विश्व शान्तिका लागि एकत्रित होऔं’ कार्यक्रमको भावना प्रस्तुत गर्दछ, जसले सबैलाई शान्ति र सदभावका लागि साझा श्रद्धामा एकत्रित गर्ने लक्ष्य राखेको च्याप्टरले जनाएको छ ।

जितो नेपाल च्याप्टरले सबै सदस्य र व्यापक जैन समुदायलाई यो वैश्विक आध्यात्मिक यात्रामा सहभागी हुन र भगवान् महावीर जैन निकेतन काठमाडौंमा महावीर जयन्तीको पावन अवसरलाई श्रद्धा र सम्मानसाथ मनाउन आमन्त्रण गरेको थियो ।