बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु


मुस्ताङ।

मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ ।

गए राति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका– ९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर सल्यानको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएकाे छ ।

गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक प्रहरी नियन्त्रणमा छन्।